गाजामा इजरायली बमबारी तीव्र, बाहिरी विश्वसँगको सम्पर्क फेरि विच्छेद

काठमाडौं । विगत एक महिनादेखि जारी इजरायल र हमासबीचको भीषण द्वन्द्वमा इजरायलले अहिले गाजामा हवाई हमलाका साथै जमिन आक्रमण पनि गरिरहेको छ ।
गाजामा आइतबार इजरायली बमबारी बढेको छ र त्यहाँ फोन र इन्टरनेट सेवाहरू अवरुद्ध भएको रिपोर्टहरू छन्।
प्यालेस्टिनी रेड क्रिसेन्ट च्यारिटी नामक संस्थाले युद्ध सुरु भएदेखि यो तेस्रो पटक गाजासँगको सञ्चार सम्पर्कविहीन भएको र उनीहरू आफ्नो भूमिमा उपस्थित टोलीहरूसँग सम्पर्क गर्न असमर्थ भएको बताएको छ।
यी समाचारलाई लिएर अन्तर्राष्ट्रिय संघसंस्थाबाट पनि प्रतिक्रिया आएको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले गाजामा अर्को सञ्चार ब्ल्याकआउट र तीव्र बमबारीको खबर सुनेर आफू अत्यन्त चिन्तित भएको बताएका छन्।
उनले ट्वीटरमा लेखेका छन्, “फोन वा इन्टरनेट बिना मानिसहरूले अस्पताल वा एम्बुलेन्सलाई सम्पर्क गर्न सक्ने छैनन्। यस्तो अवस्थामा सञ्चारका सबै च्यानलहरू तुरुन्तै खोलिनुपर्छ।”
यसैबीच इन्टरनेट अनुगमन समूह नेट ब्लकले पछिल्लो एक महिनामा यो तेस्रो सञ्चार ब्ल्याकआउट भएको लेखेको छ ।
Facebook Comment