‘हामी मृत्युको पर्खाइमा छौं, मृत्यु जीवन भन्दा राम्रो छ’
काठमाडौं । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले खान युनिस र रफाह क्षेत्रमा भएको छुट्टाछुट्टै हवाई आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको बताएका छन्।
गाजा पट्टीका यी दुवै सहर दक्षिणी क्षेत्रमा अवस्थित छन्। आइडीएफले अहिलेसम्म यी हवाई हमलाहरूको पुष्टि गरेको छैन।
हमासले अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणपछि गाजामा इजरायलको सैन्य कारबाही जारी छ। हमासको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणका कारण गाजामा हालसम्म १० हजारभन्दा बढी मानिसको मृत्यु भएको जनाएको छ ।
एक महिनाभित्र इजरायलको आक्रमणमा मारिनेको संख्या २१ महिना लामो रुस–युक्रेन युद्धमा मारिएका सर्वसाधारणभन्दा बढी भएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा गरेको आक्रमणपछिको २१ महिनामा ९७०० सर्वसाधारण मारिएका छन् ।
गएराति हवाई हमला हुँदा खान युनिसका बासिन्दा अबु जिहाद सुतिरहेका थिए । अबु जिहादले आक्रमणपछि आफ्नो वरपरको सम्पूर्ण क्षेत्र भग्नावशेषमा परिणत भएको बताएका छन् ।
भग्नावशेषमा फसेका मानिसहरुको उद्धार भइरहेको छ । खान युनिस गाजा पट्टीको दक्षिणमा अवस्थित छ। अबु जिहाद भन्छन्, “यहाँ मानिसहरू मर्न पर्खिरहेका छन्।”
“यहाँ जीवन भन्दा मृत्यु राम्रो छ। हामी सबै मर्न पर्खिरहेका छौं, हरेक पल मृत्यु हो। यहाँ बाँच्नु मृत्युदण्ड हो।”
Facebook Comment