मठाधीशहरुको एकता बैठक
सरकारी महलहरुमा गणतन्त्रका मठाधीशहरुको बैठक सुरु भएको छ।
गणतन्त्र माथि धावा बोल्न लागे भनेर मठाधीशहरुको वैठक भएको बताइएको छ। गणतन्त्र ल्याउन भारतमा गरिएको १२ बुँदे सहमतिमा हस्ताक्षर गर्ने पार्टीहरु एक भएर गणतन्त्रको रक्षा गर्न जरुरी छ भन्दै एक हुन खोजेको देखिएको छ। तर के औंलामा गनिने नेताहरु एक हुँदैमा जनताले जीहजुर गर्लान्? परिवर्तन चाहिरहेका जनताको क्रान्ति अगाडि मठाधीशहरुको कन्तविजोग हुने अवस्था सृजना भइरहेको छ।
उनीहरु गणतन्त्रको बिरुद्धमा उत्रिनेहरु बिरुद्ध अरिङ्गाल भएर जाइलाग्न सबै पार्टीहरु एक ठाउँमा उभिएका हुन्। प्रधानमन्त्रीले गणतन्त्र र शान्ति जोगाई राख्न भनेर बोलाएको बैठकमा १२ बुँदेका हस्ताक्षरकर्ता पार्टीहरु जुटेका छन्।
कांग्रेसका सभापतिले त बागलुङको एउटा कार्यक्रमबाट उदघोष गरिसक्नु भएको छ। गणतन्त्रका बिरुद्ध लाग्नेहरुलाई सबै पार्टी मिलेर बाँकी नराख्ने। एमालेले जनताको बिरुद्ध युवा संघलाई उतारिसकेको देखिन्छ। उक्त बैठकमा साना पार्टीहरुलाई आमन्त्रण नगरिएको गुनासो अर्कोतिर छ।
ब्यबस्था परिवर्तनमा हामीले जति जोड दियौं तर त्यसलाई ब्यबस्थित गर्न र जनताको अबस्था बदल्न कहिले ध्यान दिएको देखिएन। देश असुरक्षित हुँदै गयो। जनता असुरक्षित, रोग, भोक र शोकसँग जुध्दै गए।
गरिबि र ऋणमा डुब्दै गए। गरिबिका कारण आमा, बाबु बालबच्चा छोडेर खाडीको तातो भूमिमा श्रम बेच्न बाध्य भए। आफ्नो देशले जनतालाई रोजगारीसम्म दिन सकेन। गणतन्त्रका नेताहरुले जनताको जीवन प्रति खेलवाड गरिनै रहे।
जनता, बुद्धिजिवी, संचार जगत, लेखकहरुले आवाज उठाइरहे। तर अहिलेसम्म बनेका कुनैपनि सरकार, राजनीतिक दलका नेताहरूले देश, जनता प्रति न्याय गरेनन्। जब जनता जुर्मुराउन थाले यी शोषकहरुलाई टाउको दुख्न थाल्यो।
निर्वाचन पछि बनेको सरकार एक वर्ष पुग्दैछ। यस अबधिमा चार महिना पनि राम्रोसँग संसद चलेको छैन। संसदमा राष्ट्रिय समस्या र राष्ट्रका प्रमुख समस्याहरुमा गहन छलफल हुनुपर्ने तर हसीमजाक, घोचपेच, उखान टुक्कामै बित्यो।संसद चालु हुँदा पनि कहिले कोरम पुगेको देखिँदैन थियो।
कोरम नपुगेकै अबस्थामा बैठक बसेको थियो। हिउँदे अधिवेशन अबरोधमै समाप्त भयो। त्यहाँ राष्ट्रिय मुद्दामा कहिले सहमति जुटेन। कैयन बिधेयक पास हुन नपाउँदा नियम, कानून बन्न पाएनन्।
तर भ्रष्टाचारबाट कमाएको सम्पत्ति जोगाउन, माफिया, कालाबजारी, तस्करहरु जोगाउनका लागि भने एकले अर्कोको अनुहार नहेर्नेहरु एक ठाउँमा उभिन तयार भएका छन्।
आफ्नो कूकर्म र कर्तुत लुकाउन राज्य शक्तिको आडमा जेपनि नगर्लान भन्न सकिन्न। निहत्था जनताले त्यसको सामना गर्न जनता एकजुट हुनुको बिकल्प छैन। गणतन्त्रले मौलाएका नब धनाढ्यहरुलाई देश, जनता, धर्म, संस्कृति सभ्यता भन्ने कुराले छुँदैन।
यदि त्यस्तो नभएको भए हिजो टुक्रा, टुक्रामा भएको मुलूकलाई एकताको सुत्रमा बाँधेर सिंगो बृहद नेपाल निर्माण गर्ने राष्ट्रपिता पृथ्वीनारायण शाहका बंशजलाई हटाएर देशै सिध्याउन लाग्ने थिएनन्।
मुलुकको बिकास चाहेको भए राज संस्था र जनता मिलेर अगाडि बढ्न नसकिने थिएन। हजारौं भुरेटाकुरे राजाहरुको जन्मले देश कङ्गाल बनिसक्यो। विश्वको तथ्याङ्कमा १७ नं. को गरिबी र दक्षिण एसियामा १ नंम्बरमा पर्दैन थियो।
भ्रष्टाचरमा किर्तिमान कायम गर्दा पनि अझै सरम मान्दैनन्। नेताहरु ब्यसरमको हद पार गरिसकेपछि केको सरम भन्ने अबस्थामा पुगेकाहरुबाट अरु आशा गर्नु बेकार छ।
गणतन्त्रले राष्ट्रलाई पु¥याएको क्षतिको एक एक हिसाबकिताब गर्ने दिन आएको छ। यसको लागि राष्ट्रिय शक्ति, अभियान कर्ताहरु एक आपसमा सहमति, सहकार्य र हातेमालो गरेर अगाडि बढ्नु जरुरी हुन्छ।
अभियानकर्ताहरु टुक्रा, टुक्राको अबस्थामा हैन, जुटेर मात्र सम्भब छ भन्ने कुरलाई भुल्नु हुँदैन। फुटाउर राजगर भन्ने सिद्धान्त सिकेकाहरुले अनेकन प्रलोभनमा पार्न सक्दैनन् भन्ने छैन। यस्ता कुराहरुमा स्वदेशी भ्रष्ट तत्वहरु मात्र होइन बिदेशी खुफियाहरुको विशेष भूमिका नरहला भन्न सकिन्न।
जसले आजसम्म यी पार्टीहरुलाई आफ्नो मुठ्ठीमा पार्न सफल भएर यो सुन्दर शान्त देशमाथि गिद्धे नजर लगाएका छन्। यो अभीष्टकर्मीहरुको अन्त हुन जरुरी छ। तबमात्र देश र जनताले सुख, शान्ति र समृद्धिको मार्ग पहिल्याउन सफल हुनेछ।
अभियान कर्ताहरुमा पनि म एक्लै लड्छु, मैमात्र हुँ भन्ने घमण्ड त्यागेर अगाडि बढेमा जनताको साथ र सहयोग अबश्य मिल्नेछ। झुक्किनु हुँदैन। त्यसको लागि धेरै बोलेर हैन थोरै बोलेर धेरै काम गर्न जरुरी छ।
गणतन्त्रको अन्त्य गर्दै राजसंस्था सहितको प्रजातन्त्र मात्र एक बिकल्प हो भन्ने जनताको शसक्त आन्दोलन उर्लिँदै छ। १२ बुँदेको हरिबिजोग भएरै उनीहरु अत्तालिएर बैठक डाकेका हुन सक्छन्। उनीहरु आत्तिनुले सत्ता ढल्ने बहसलाई अनुमोदन गरेको छ।
Facebook Comment