रामेछापको दशैं र अनुभूति
यसपटक दशैंको मैंजारो रामेछापमा सम्पन्न भयो। ममा एउटा भिन्न प्रकारको प्रेरणा र उत्प्रेरणा जगाउने जिल्ला हो रामेछाप। बागमती प्रदेश अवस्थित पहाडी जिल्ला रामेछापलाई नेपाली राजनीतिक इतिहासको मानचित्रमा तीन लालको किल्ला भनेर चिनियो र पढियो पनि।
नेपाली साहित्य आकाशका प्रथम स्रष्टा सुब्बा कृष्णलाल अधिकारी, सहिद गंगालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मस्थल रामेछाप।
नेपाल सरकारको जनगणनाको पछिल्लो तथ्यांकले रामेछापबासीको संख्या निकै घट्दो क्रममा देखाएसँगै यस्तो किन भएको होला! मेरो मनमा चासो, चिन्ता र कौतुहलताको हलचल पैदा भएको थियो।
यो जिज्ञासा मेटाउनु थियो-यसपटक समय लिएरै दशैं मनाएँ रामेछापमा। उमाकुण्ड गाउँपालिका वडा नं. ३ स्थित दाहाल घरपरिवारसँग पारिवारिक नाता-सम्बन्ध जोडिएपछि यसबारे थप अध्ययन गर्नु मेरो जिम्मेवारी पनि हो भन्ठाने।
अवस्थिति
प्रतिनिधिसभा निर्वाचन सदस्य संख्याको लागि १ र प्रदेशसभा निर्वाचनको सदस्य संख्याको लागि २ क्षेत्र संख्या रहेको रामेछापलाई विभिन्न ८ वटा नगरपालिका र गाउँपालिकाको उर्वर भूमिको रूपमा लिइन्छ।
मध्यमहाभारत पर्वत श्रृंखलादेखि उच्च हिमाली श्रृंखलासम्म विस्तारित रामेछाप जिल्लाको भू-बनोट समुन्द्री सतहदेखि ४ सय २६ मिटरको उचाइदेखि ६,९५८ मिटरको नुम्बुर हिमचुलीसम्म फैलिएको दृश्य आफैंमा कति धेरै मनमोहक छ।
पूर्वमा कोशी प्रदेशका दुई जिल्लाहरू ओखलढुंगा र सोलुखुम्बु, पश्चिममा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक, उत्तरमा दोलखा र दक्षिणमा सिन्धुली जिल्लाले विकास र निर्माणको क्षेत्र गरेको रामेछापमा मानिसको संख्या किन घट्दो क्रममा छ ? मेरो अध्ययन र अनुमानको विषय रहँदै आएको छ ।
वस्तुस्थिति- १
हामी जाँदै गर्दा रस्नालुमा एकजना सुनार थर बताउने बुढी आमाले हामी चढेको गाडी रोकेर सहचालकलाई चाउरी परेको अनुहार भिजाउँदै र गहभरि अश्रुधारा टप्काउँदै मेरा छोरा-बुहारी, छोरी–ज्वाई र नातिनातिनाहरू कोही पनि आएनन् भनेर सोधेको दृश्य निकै कारुणिक विरहको थियो।
साँच्चिकै साता दिन बस्दा र बिताउँदा गाउँबस्तीहरूमा बडादशैंको रमझम, टीकाग्रहण, भेटघाट, चहलपहल, खुशीयाली साटासाट, शुभेच्छा आदानप्रदान आदि अन्यत्र झैँ आकर्षक छैन, आफैंमा एकदमै निरस छ, उदास छ र भूमिका खोजिरहेको छ।
देवालयले भरिएको गाउँबस्तीका भित्री कोठाहरूमा बृद्धबृद्धास्थल जस्तो बुबा-आमा जोडीको मात्र बसोबास बढ्दो छ। युवापुस्ता शहर केन्द्रीत छ, काठमाण्डौँ आश्रित छ र विदेश पलायन छ।
वस्तुस्थिति – २
यातायातका दृष्टिकोणले निकै विकट लाग्ने रामेछापलाई चिन्न र कतिपय समस्यालाई स्थानीय स्तरबाटै चिर्न सक्दा र गर्दा के नहुँदो रहेछ ! उमाकुण्ड गाउँपालिकाले तयार गरेको झण्डै ५ किमि कालेपत्रे हिडेपछि सकून मिल्छ।
यसरी प्रत्येक पालिकाले छिमेकी पालिकालाई जोड्ने मार्ग बिस्तारको अभियान सँगसँगै कामलाई तिब्रता दिने हो भने विकट लाग्ने यातायात मार्ग निकट दिनमै सहज र सुगम बन्छ।
आधारभूत स्वास्थ्य उपचार र उपचार केन्द्रको उपलब्धता देखियो। सूचना सञ्चारको पहुँच बिस्तार भएकै छ । यसलाई आमरूपमा सबैको पहुँचमा आधारित बनाउन लगानीकर्ताले ध्यान दिएकै होला ! यो उसको व्यवसाय वृद्धिसँग सरोकार राख्ने विषय हो । बरु उपभोक्ताको अभाव छ यहाँ।
वस्तुस्थिति- ३
रामेछापले जन्माएको, हुर्काएको, बढाएको र कमाएको नेतृत्वले यस विषयलाई रामेछापको स्थलगत आवश्यकताको मनोविज्ञानका आधारमा योजनाबद्ध अग्रसरता लिने हो भने छिमेकी देशको भारतको उत्तराखण्डस्थित पर्यटकीय गन्तव्य नैनीताल र हिमवत् खण्डको नमुना कुमाउ र गढवालको झल्को दिने क्षेत्रको रूपमा विकास हुन कत्तिबेर पनि लाग्ने छैन भन्ने लाग्छ मलाई।
अपवादबाहेक अधिकांश नेतृत्व गृहजिल्लामा प्राप्त सामाजिक-राजनीतिक मानसम्मान र उचाइसँगै राजधानी काठमाण्डौं सिफ्न हुन चाहने, बसोबासको स्थायित्व लिने, एउटा खास बेलामा मात्र जिल्ला र निर्वाचन क्षेत्र जाने, अन्यथा उपत्यका आधारित हुने र यसबाट जिल्लामा खर्चिएको सम्पूर्ण ध्यानलाई बाँड्ने जस्ता कारणले पनि अपेक्षाकृत गति नसकेको हो कि भन्ने फिल हुन्छ।
तथ्यांकले भन्छ- २०१२-०१५ सालदेखि अन्तरकुन्तरमा पनि शिक्षाको ज्योति फैलाउन थालेको जिल्ला हो-रामेछाप। फेरि पनि किन अपेक्षित गति लिन सकेन ? पर्याप्त स्रोत र साधन भएर पनि रामेछाप उपेक्षित अवस्थामै किन रह्यो?
आखिर अहिलेसम्म किन यस्तो ? रामेछापले नेपाली राजनीतिक मानचित्रमा राजनीतिक नेतासहित कला, साहित्य, संस्कृति, उद्योग, व्यापार र व्यवसायका क्षेत्रमा प्रतिभासम्पन्न उल्लेख्य हस्तीहरू समेत जन्माएको छ । खोज्नुपर्छ यो सबै व्यक्ति, शक्ति र सामथ्र्यले ।
वस्तुस्थिति -४
मन्थली नगरपालिका, रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, खाँडदेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्बा गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका र सुनपाती गाउँपालिकाले संरक्षण र व्यवस्थापन गरेको समूच्य रामेछापमा यतिबेला सुनकोशी नदी, तामाकोशी नदी, भटौली, रणजोर र लिखु खोला सहितको जनस्रोतको आधार भएको क्षेत्रमा विभिन्न नाउँमा हाइड्रोपावरहरू निर्माण भइरहेका छन्।
कृषि क्षेत्रअन्तर्गत तोरी, आलु किवी, अलैची, चिया, स्कुसलगायतका नगदे बालिको प्रशस्त सम्भावना रहेको देखिन्छ । बहुमूल्य वनौषधि जडिबुटीको भण्डारको रुपमा समेत रामेछापलाई लिन सकिने अवस्था रहेछ ।
भौगोलिक अवस्थिति, यसको ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा सांस्कृतिक उत्कृष्टता, विकासका सम्भावनाहरूलाई हेर्दा वनपैदावर वस्तु, वनौषधिय जडिबुटी, गिटी, ढुंगा, रोडा, बालुवा, स्लेटलगायतको प्राकृतिक स्रोत साधनले सम्पन्न भूगोलमा कृषि क्षेत्रमा उत्पादन र बजारका दृष्टिकोणले आलु, मकै, कोदो, धान, गहुँ, फापर, टिमुर, कागती, ओखर, कफी, सुन्तला, जुनार, तोरीलगायतका अन्नबाली तथा नगदे बालीको पकेट क्षेत्रका रूपमा लिन सकिने अवस्था रहेछ ।
सम्भावना- १
रामेछापलाई रामेछापको तहमा बुझ्ने हो नि ! यसलाई समथल भू-भाग जस्तो कि झापा, मोरङ, सिरहा, सप्तरी, बारा, पर्साजस्तो बुझेर हुन्छ र ? यसभित्रका सम्भावनालाई केलाउने, बिन्ने, उधिन्ने र संगठित गर्ने हो नि! यसलाई युरोपको सपनासँग साटेर हुन्छ र?
नेपाली बजारमा नेपाली रूपैयाँमा कारोबार गर्ने अनि खल्तीमा डलर आम्दानी हुने कुराको परिकल्पनाले नेपाली युवा मनस्थितिलाई बिगारेको छ। रामेछापमा केही छैन, नेपालमा केही छैन भन्ने भाष्यले नेपाली युवालाई घुमन्तेफिरन्ते शिकारी बनाएको छ, वैदेशिक श्रमबजारको बन्दक बनाएको छ।
यसले पूरै भित्री गाउँबस्तीहरूलाई प्रभावित पारेको छ । नेपालमा केही छैन, सम्भावना पनि बाहिरबाहिरै छ भन्ने भाष्यले आमा-बुबा पनि बाहिरबाहिरै छन्, बाहिरी शहरबजारका बुबा-आमा चिटिक्क हुन्छन्, सफासुथ्रा रहन्छन्, राम्रा हुन्छन्, दाम र मान भएका छन् भन्ने स्थिति सिर्जना गर्ने हो कि भन्ने मनोवैज्ञानिक डरत्रास बढाएको छ।
अहिले मालबाहक साना गाडीहरू प्रायशः घरघरै पुग्न थालेका दृश्यहरू आँखैअघि देखिए । दुध उत्पादन र बजार वितरण बढेको देखियो । लेकमा सम्भव हुने चौरी गाइपालन समेत आरम्भ भएको सुनियो।
यसको बजार प्रवर्धन अत्यन्तै राम्रो छ । यसरी सम्भावना पहिल्याउने र आयआर्जनमूलक काममा स्थानीय स्रोतलाई परिचालन गर्नु यो राम्रो पक्ष हो । खुशी लाग्यो।
सम्भावना- २
धार्मिक र सांस्कृतिक आस्थागत सम्बन्धका अतिरिक्त यान्त्रिक युगबाट आजित भएको र यन्त्रमैत्री जनजीवनबाट वाक्कदिक्क भएको मानिस अहिले विश्वबजारमा एकान्त, शान्त र शुन्य प्रभावको ठाउँ खोजिरहेको छ।
यस्ता मानिसलाई लोभ्याउन भारतले कैयौं प्रयास र प्रयोग गरेको देखिन्छ, भेटिन्छ। हाम्रो देशको यो खण्ड प्राकृतिक रूपमै हिमवत् खण्ड भएकोले यहाँ योग र ध्यान शिविर केन्द्रहरू सञ्चालन गर्न सकिन्छ। रिसोर्टहरू सञ्चालनमा ल्याउन सकिन्छ । हिमपर्यटकीय यात्रुहरूलाई लोभ्याउने अरु कतिपय आधारहरू सिर्जना र सञ्चालन गर्न सकिन्छ । यसतर्फ किन ध्यान नदिने?
सम्भावना- ३
एउटा सामान्य उदाहरण- बिना श्रम जताततै स्कुल लहरिएको देखिन्छ । लटरम्म फल लागेको छ । यसले ट्रकका ट्रक उत्पादन दिन्छ । यहाँ यो स्कुस मानव उपयोगभन्दा बढी उत्पादन छ।
गाइवस्तुले उपभोग गर्छन् वा बारीमा कुहिन्छ । लहरमा फल छ, जरामा तरुण छ। संगठित योजनाका साथ स्कुसको बजारीकरण मात्र गर्ने हो भने लाखौँ रूपैयाँ कमाउन सकिन्छ। किन नगर्ने? हामीले नगरे कसले गरिदिने? हाम्रो घर, गाउँ र समाजलाई कसले बनाइदिन्छ?
तराईमा जस्तो श्रममेहनत पर्दैन । बिना कुनै उल्लेख्य मेहनत, बिना कुनै रसायनिक मल, खाध र औषधि-यहाँको उत्पादन आफैंमा मानवमैत्री, हितकारी र औषधिय गुणले युक्त छ । प्रकृति र प्राकृतिक वातावरण सर्वगुणसम्पन्न र सन्तुलित छ । यसभित्र मानिस किन अवसरहरू खोज्दैन?
किन गरिखाने उपाय खोज्दैन? मनभरि प्रश्न तैरिन्छ। हिमालको काखमा पनि उन्नति प्रजातिको गाई फस्टाएको देख्दा पशुपालनमा पनि उत्तिकै प्रचुर सम्भावना रहेको छ भन्न सकिन्छ यहाँ। विकास, निर्माण र समृद्धिको मृगतृष्णा बोकेको यहाँको जमातमा आफ्नै नाभीको सुगन्ध ठम्याउ नसकेर भौतारिएको कस्तुरी झैँ भएको रामेछाप।
कैयौं सम्भावना लिएर बसेको रामेछापले आफ्नै सम्भावित अन्तरकुन्तरलाई चिन्दै र परिचालन गर्दै क्रमशः सुन्दर, समुन्नत र समृद्ध रामेछापको आधार तयार गर्न सकोस् ! मोरङबाट धेरै–धेरै शुभकामना!!
Facebook Comment