विश्वमा पहिलोपटक पूरै आँखा प्रत्यारोपण गरियो, यसअघि नानी मात्र प्रत्यारोपण हुन्थ्यो
काठमाडौं । विश्वमा पहिलो पटक पूरै आँखा प्रत्यारोपण गरिएको छ । बीबीसीका अनुसार अमेरिकाको न्यूयोर्कमा पहिलो पटक चिकित्सकको टोलीले अनुहारको शल्यक्रिया गर्दा एक व्यक्तिको सम्पूर्ण आँखा प्रतिस्थापन गरेको छ ।
शल्यक्रिया करिब २१ घण्टासम्म चलेको थियो । करिब १४० डाक्टरले मिलेर यो शल्यक्रिया गरेका थिए । हालसम्म डाक्टरहरूले आँखाको अगाडिको भाग अर्थान नानी मात्रै प्रत्यारोपण गर्दै आएका छन् ।
आँखा प्रत्यारोपणलाई ठूलो उपलब्धि मानिएको छ, तर बिरामीको आँखाको ज्योति फर्किन्छ कि फर्कँदैन भन्ने अहिले नै भन्न सकिन्न ।
एनवाइयु लेङ्गोन हेल्थको सर्जिकल टोलीको नेतृत्व गर्ने डा. एडुआर्डो रोड्रिग्वेजले भने – ‘प्रत्यारोपण गरिएको आँखा स्वस्थ छ। रगत रेटिनामा बगिरहेको छ । रेटिना आँखाको त्यो भाग हो जसले मस्तिष्कमा छविहरू पठाउँछ। यो सकारात्मक संकेत हो। प्रत्यारोपण गरिएको आँखाले शल्यक्रिया गरेको ६ महिनाभित्र राम्रोसँग काम गर्ने अपेक्षा गरिएको छ । त्यसपछि मात्र बिरामीले देख्न सक्छन् कि सक्दैनन् भन्ने कुरा भन्न सकिन्छ ।’
आँखा प्रत्यारोपण गरेका बिरामीको नाम आरोन जेम्स हो । उनलाई २०२१ मा हाई भोल्टेज लाइनबाट करेन्ट लागेको थियो । जसका कारण उनको अनुहारको देब्रे भाग, नाक, मुख र देब्रे आँखा नराम्ररी प्रभावित भएको थियो ।
डाक्टरहरूले भने- ‘जेम्सलाई ७२०० भोल्टको झट्का लागेको थियो । धेरै मिहिनेतपछि अनुहारको शल्यक्रिया गरी उनको आधा अनुहार प्रतिस्थापन गरिएको थियो । यसै क्रममा देब्रे आँखा पनि परिवर्तन भएको थियो ।’ बीबीसीका अनुसार एक ३० वर्षीय पुरुषले जेम्सलाई आफ्नो अनुहार र आँखा दान गरेका थिए ।
Facebook Comment