गाजा अस्पतालमा इन्क्युबेटरबाट निकालिएका ६ शिशुले ज्यान गुमाए

डिसी नेपाल
२७ कार्तिक २०८० १४:५८

काठमाडौं । गाजामा इजरायली सेना र हमास लडाकुहरू बीचको लडाईको केन्द्र बनेको अल शिफा अस्पतालमा थप बिरामीको मृत्यु भएको छ।

सहरको मुख्य अस्पतालमा बिजुली नहुँदा धेरै बिरामीले ज्यान गुमाएको चिकित्सकहरुले बताएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले मृतकहरूमा छ जना समयपूर्व जन्मेका शिशुहरू पनि समावेश गरेको बताएको छ जसको इन्क्युबेटरहरू बिजुलीको अभावका कारण बन्द गर्नुपरेको थियो।

अस्पतालका एक डाक्टरले तीस भन्दा बढी बालबालिकालाई इजिप्टको एउटा अस्पतालमा स्थानान्तरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन् ।

हाल यस अस्पतालमा दुई हजारभन्दा बढी मानिस फसेका छन् । इजरायलले अस्पताल मुनि रहेको सुरुङमा हमासको मुख्य कमाण्ड सेन्टर रहेको दाबी गरेको छ । अस्पतालका डाक्टर र हमासले यी दाबीहरूलाई अस्वीकार गरेका छन्।

इजरायली सेनाले गाजामा आफ्नो भूमिगत कारबाही सुरु गरेको दुई साताभन्दा बढी भइसकेको छ।

गाजाको मध्य क्षेत्रहरूमा भीषण लडाई जारी छ। गाजामा बसोबास गर्ने २२ लाख मानिसमध्ये १७ लाखभन्दा बढीले आफ्नो घर छाड्नुपरेको छ । इजरायलले उत्तरी गाजामा बसोबास गर्ने मानिसहरूलाई दक्षिणी गाजातर्फ भाग्न आग्रह गरेको छ।

अक्टोबर ७ मा इजरायलमा हमासको हमलापछि सुरु भएको यो युद्धमा गाजामा हालसम्म ११ हजारभन्दा बढी मानिस मारिएका छन् जसमध्ये ठूलो संख्या बालबालिका रहेको छ ।

विश्वभरका नेताहरूले इजरायललाई युद्धविरामको लागि अपील गरेका छन् तर इजरायलले यसलाई अस्वीकार गरेको छ।

इजरायलले हमासलाई ध्वस्त पार्ने लक्ष्य हासिल नभएसम्म सैन्य अभियान जारी रहने प्रधानमन्त्री नेतन्याहुले बताएका छन् ।

नेतान्याहुले युद्धपछि पनि गाजाको सुरक्षा इजरायली सेनाको हातमा रहने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *