नवजात शिशुहरूको चिन्ताको बीचमा, इजरायली सेनाले भन्यो – ‘गाजामा इन्क्युबेटरहरू पठाइँदैछ’
काठमाडौं । इजरायलको सेनाले गाजामा देशको एउटा अस्पतालबाट इन्क्युबेटरहरू पठाएको बताएको छ। सामाजिक सञ्जालमा जारी विज्ञप्तिसँगै तस्वीर पनि राखिएको छ ।
यसमा एक सिपाही भ्यानबाट इन्क्यूबेटर उतार्दै गरेको देखिन्छ। यो तस्बिर कहाँको हो भन्ने बारे कुनै जानकारी दिइएको छैन ।
इजरायली सेनाको तर्फबाट यो जानकारी यस्तो बेला आएको हो जब प्यालेस्टाइनी स्वास्थ्यकर्मीहरूले लगातार बिग्रँदै गएको अवस्थाबारे चेतावनी दिइरहेका छन्।
विशेषगरी अस्पतालमा भर्ना भएका नवजात बालबालिकालाई लिएर चिन्ता व्यक्त गरिएको छ । समय अगावै जन्मिएका बच्चाहरूलाई इन्क्यूबेटरमा राखिन्छ।
उनीहरूले गाजाका अस्पतालहरू आपूर्तिको अभावमा पीडित रहेको बताए। अस्पतालहरूमा सबैभन्दा ठूलो आवश्यकता बिजुली हो, जस बिना इन्क्यूबेटर जस्ता मेसिनले काम गर्न सक्दैन।
विश्व स्वास्थ्य संगठनले दुई दिनअघि गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफाको काम ठप्प भएको जानकारी दिएको थियो।
इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले अल शिफामा फसेका बालबालिकालाई सुरक्षित स्थानमा पुर्याउन आफ्नो सेनाले सहयोग गर्ने बताएका थिए ।
यद्यपी सेनाले यी इन्क्युबेटरहरू अल-सिफा अस्पतालका लागि हुन् भन्ने जानकारी दिएको छैन।
अल-शिफाका कर्मचारीहरूले बच्चाहरूलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न विशेष उपकरणहरू आवश्यक पर्ने बताए।
Facebook Comment