सयपत्री फूलमा लमजुङ आत्मनिर्भर

डिसी नेपाल
३० कार्तिक २०८० ७:२२

लमजुङ २९ कार्तिक । लमजुङमा पछिल्लो समय व्यावसायिक रूपमा फूलखेती गरिँदै आएको छ। फूलमाथिको परनिर्भरता हटाउन र आय आर्जनसमेत हुने भएकाले लमजुङका किसानहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका हुन्।

विगत १⁄२ वर्ष अघिसम्म बाहिरी जिल्लाका फूलहरु फाट्टफुट्ट आउने गरेपनि यो वर्ष भने बजारी क्षेत्र सदरमुकाम बेसीशहर, भोटेओडार, सुन्दरबजार, खुदीलगायतका बजारहरुमा पर्याप्त मात्रामा फूल बिक्रीका लागि राखिएको थियाे।

यो वर्ष बेच्न राखिएका प्लास्टिकका फूलका माला बेच्न बन्देज गरी प्रशासन कार्यालयले जफत गरेपछि बजारी क्षेत्रमा सयपत्री फूलको माला पर्याप्त मात्रामा देखियो। घर सजाउनको लागि फूल नै बिक्री हुनाले पनि सयपत्री फुलको कारोबार ह्वात्तै बढेको जनाइएकाे छ।

कतिपय पालिकामा तयारी खादा समेत प्रतिबन्ध गरिएको छ। त्यसैले पनि चाडपर्व र सभा सम्मेलनमा सहजै बिक्री हुने र मनग्य आम्दानी लिन सकिने भएकाले लमजुङमा पनि केही किसान व्यावसायिक नगदे फूलखेतीतर्फ आकर्षित भएका हुन्।

फूलखेतीका लागि उन्नत बीउबिजन र आधुनिक खेती प्रविधिले यसवर्ष फूल उत्पादन बढेको छ। तिहारको समयमा सयपत्री, गोदावरी र मखमली फूलको माग बढी हुने पुष्प व्यवसायीले बताएका छन्। लमजुङमा करीब १० हेक्टर क्षेत्रफलमा सयपत्रीको फूलखेती गरिएको छ।

अधिकांश किसानले तिहार लक्षित फूलखेती गरेका छन्। धेरैले आफ्नो घरमा मात्र पुग्ने गरी खेती गरेका छन् भने केहीले मात्रै विक्री गर्ने उद्देश्यले खेती गरेका छन्।

सभा समारोहहरुमा सजाउन मात्र होइन, पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्न थालिएको छ। तिहारका लागि घरमा फूल लगाउनेहरु घरकै फूल टिपेर घर आँगन सजाउँदै छन्। घरमा फूल नहुनेहरु किनेरै पनि फूलले घर आँगन सजाउन ब्यस्त भएका थिए।

सयपत्री फूलको मूल्य प्रतिकेजी ३ सय ५० रुपैया तोकिएको थियाे भने उनेको सयपत्रीको माला प्रतिगोटा १ सयमा विक्री स्थानीय ब्यापारी श्याम श्रेष्ठले जानकारी दिए।

लमजुङको मस्र्याङ्दी गाउँपालिकाको मस्र्याङ्दी कृषि फार्ममा झण्डै १० रोपनी जग्गामा कर्मा ५५५ जातको हाइब्रीड सयपत्री फूलको खेती गरिएको छ भने राइनास, मध्यनेपाल लगायतका ठाउँहरुमा व्यवसायिक रुपमा फूल खेती गरिएको छ।

कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले लमजुङमा अझै पनि फूलखेती व्यावसायिक बन्न नसकेको र जिल्लालाई फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यालयले फूलखेतीमा अनुदानको समेत ब्यवस्था गर्दै आएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *