ठाकुर बेलवासेका दुईवटा प्रेम कविता

डिसी नेपाल
३० कार्तिक २०८० ११:११

दुख्नुको आनन्द

तिमीले आज घृणा गरेकोमा कुनै दु:ख छैन
विशाल आकाशमा घाम पनि एक्लै छ
र जून पनि एक्लै !

मेरो धरतीमा आज म पनि एक्लै छु
दिनमा घाम भएर
अनि रातमा जून बनेर
मैले छरेको उज्यालोको घृणा गर्दै तिमी अध्यारोलाई प्रेम गरी बस्दा पनि कुनै गुनासो छैन !

म दु:खी त त्यति बेला हुनेछु
जति बेला
तिमी अध्यारोले निल्न बाँकी जीवनका केही अर्थहरू बोकेर
उज्ज्यालो खोज्दै मसँग आउने छौँ!
त्यस बेला पनि म मैनवत्ती जस्तै
आफु सल्किएर तिमीलाई उज्ज्यालो पार्ने छु !

हिजोको तिम्रो माया
अनि आजको तिम्रो घृणाप्रति कुनै गुनासो छैन
पृथ्वीले पनि त
घाम छाँयामा सहेरै सृष्टि जोगाएको छ !

एउटा हठात घटना !
मन बाँस झाङको बाँस झै
हल्लिरहेको छ

बाँस झाङका बाँस झै
जेलिएका अनि अग्लिएका सपना र कल्पनाका टुप्पाहरुमा
तिमी आएर बसे पछि
म लज्जावती झार झै
लाजले तिम्रा पैतालाका औलाहरु हेरिरहेको छु
तिम्रै पैतालाले टेकेर
जीवनभर मैले यात्रागर्नु पर्ने त होइन !

हठात म रोमाञ्चितभएको छु
अनायास मेरो मन पीङजस्तो हल्लिएको छ

सबै कुरा जीवनमा
हठात नै त हुने हो
जस्तो कि
तिमी र म जन्मनुको एउटा हठात घटना !




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *