चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

डिसी नेपाल
१ मंसिर २०८० ८:४५

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन्।  निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण-पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन्। दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन्। उनले भने,  “छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ। अर्को ठूलो गैँडाको खाग छैन।”

छ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिए। सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडा १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ।

बिहीबार साँझमात्र घटनाको विवरण आएलगत्तै अनुसन्धान थालिएको उनले बताए। यस वर्ष निकुञ्जमा चोरी-सिकारीबाट पहिलोपटक गैँडा मरेका हुन्। प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका छन्। गत वर्ष तस्करले अमलटारी क्षेत्रमा दुईवटा गैँडा मारेका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *