इजरायल–हमास युद्ध: जर्मनी भ्रमणमा रहेका टर्कीका राष्ट्रपति एर्दोगानले यस्तो अपील गरे
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायललाई हमासविरुद्धको सैन्य कारबाही रोक्न अपिल गरेका छन् ।
उनले गाजामा तत्काल युद्धविराम लागू गर्नुपर्ने बताएका छन् । टर्कीका राष्ट्रपति एर्दोगान अहिले जर्मनीको भ्रमणमा छन् ।
जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको पत्रकार सम्मेलनमा एर्दोगानले इजरायल–हमास युद्धको उल्लेख गरेका थिए ।
उनले भने, “इजरायल र हमासबीच युद्धविराम गर्न जर्मनीले टर्कीसँग मिलेर काम गर्नुपर्छ।”
हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । यस आक्रमणमा करिब १२ सय जनाको मृत्यु भएको थियो । हमासका लडाकुले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएर लगेका थिए ।
त्यसयता इजरायली सेना गाजामा हमासविरुद्ध लडिरहेको छ। हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको कारबाहीका कारण ११ हजारभन्दा बढीको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन् ।
जर्मन चान्सलर स्कोल्जले आफ्नो देशले इजरायलको ‘अस्तित्वको अधिकार र आफ्नो रक्षा गर्ने अधिकार’ मा कहिल्यै सम्झौता नगर्ने बताए।
दुई नेताबीच हिंसा रोक्ने उपाय खोज्न छलफल गर्ने सहमति भएको थियो ।
Facebook Comment