कोल्बुङ बस दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

डिसी नेपाल
४ मंसिर २०८० १३:०९

झापा। मेची राजमार्गको रोङ गाउँपालिका-३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएका मध्ये थप दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाको अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका-९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र सोही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारकै क्रममा मृत्यु भएको हो।

विर्तामोडस्थित विएण्डसी अस्पतालमा लामाको आइतबार र तामाङको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए।

दुर्घटनामा आइतबार साँझ वडा नं-९ कै १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो। बस दुर्घटनामा मृत्यु हुनेका सङ्ख्या तीन पुगेको उनले बताए।

धनुषाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो। बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए। जसमध्ये तीनको मत्यु भइसकेको छ भने ३३ जनाको हाल विएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये अन्य दुई जनाको अवस्था पनि चिन्ताजनक रहेको छ। उनीहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ। बसका चालक धनुषा जनकपुर उपमहानगरपालिका-२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *