सिंगो एमाले दुर्गा प्रसाईंसँग भिड्दै, माओवादी रमिते

शरद रिजाल
५ मंसिर २०८० १२:५०

काठमाडौं। माओवादी, एमाले हुँदै राजावादी बनेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अहिले एमालेको तारो बनेका छन्।

गत वर्ष फागुन १ गते झापामा पूर्व राजाको उपस्थितिमा राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ आन्दोलनको सुरुवात गरेपछि एमालेको केन्द्रीय सदस्यबाट हटाइएका उनी अहिले आक्रामक ढंगले एमालेको विरुद्धमा उत्रिएका छन्।

वर्तमान गणतान्त्रिक व्यवस्थाविरुद्ध मंसिर ७ गते आन्दोलनको उद्घोष गरेका प्रसाईंलाई चुनौती दिँदै सोही दिन एमालेको युवा संघले प्रदर्शन गर्ने संस्थागत निर्णय गरेपछि अब दुबै पक्ष एक अर्काका विरुद्ध आमने सामने भएर सडकमा मुडभेडको स्थिति बनेको छ।

एक अर्काका विरुद्ध आक्रामक ढंगले प्रस्तुत भएर एकै स्थानमा कार्यक्रम गर्ने सम्भावित परिस्थितिको आँकलन गर्दै काठमाडौं जिल्ला प्रशासनले आइतबार राजधानीका महत्वपूर्ण स्थान र आसपासमा निषेधित क्षेत्र घोषणा गरेको छ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको बैठकले राजधानीका माइतीघर मण्डला लगायत राज्यका महत्वपूर्ण सरकारी निकाय र आवास क्षेत्र वरपर निषेधित क्षेत्र घोषणा गरेको हो।

प्रसाईंको लडाइँ एमालेसँग भन्दा पनि मूलत महेश बस्नेत लक्षित थियो। बस्नेतले प्रसाईंविरुद्ध मंसिर ७ गते राष्ट्रिय युवा संघले प्रदर्शन गर्ने बताइरहेका थिए।

केही समय अघि प्रसाईंलाई राजधानीकै एक होटेलमा आयोजित कार्यक्रम सकेर फर्किने क्रममा केही युवाहरुले कालोमोसो छ्यापेर अभद्र व्यवहार गरेका थिए।

उक्त घटनापछि बस्नेतले युवा संघलाई कम नआक्न चुनौती दिँदै अराजकहरुलाई तह लगाउने उग्र अभिव्यक्ति सामाजिक सञ्जालमार्फत दिएका थिए। यद्यपि केही समय पछि उनले स्टाटस सामाजिक सञ्जालबाट हटाएका थिए।

यी दुईबीचको टसल बढ्दै जाँदा एक अर्का विरुद्ध तिक्त रुपमा प्रस्तुत हुँदै उद्दण्ड अभिव्यक्ति दिन तछाडमछाड चलिरहेको थियो। एक अर्काविरुद्ध खनिएका उनीहरुले आपत्तीजनक अभिव्यक्ति दिनसमेत पछि परेनन्।

दुई जनाको प्रतिशोधपूर्ण लडाइँमा एमालेले संस्थागत रुपमा बस्नेतको प्रसाईं विरोधी अभियानलाई साथ दिने निर्णय गरेपछि अब एमाले भर्सेस दुर्गा प्रसाईंको रुपमा यो लडाइँ सतहमा आएको छ।

शनिबार एमालेको जनसंगठन समन्वय संयन्त्रले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मंसिर ७ मा औपचारिक रुपमा एमालेले प्रदर्शन गर्ने बताएपछि प्रसाईंविरुद्ध एमाले संस्थागत रुपमा उत्रिएको हो।

चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा एमाले अध्यक्ष ओलीको पक्षमा उभिएका प्रसाईं त्यस अघि माओवादी केन्द्रको निकट रहेका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निकटस्थ रहेका उनी एकाएक एमालेमा प्रवेश गरेका थिए।

व्यवसायी पृष्ठभूमिका प्रसाईं अराजक र उद्दण्ड अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन्। उनको कतिपय हर्कत अशोभनीय समेत रहेको पाइन्छ। यद्यपि उनले उठाएको लघुवित्त तथा बैकिङ क्षेत्रको अचाक्ली ब्याजबाट प्रताडित आम सर्वसाधारणको मुद्दा उठानले उनको पक्षमा जनताहरु आकर्षित भएको देखिएको छ।

आफू माओवादी जनयुद्ध लडेको बताउँदै आएका उनले राजस्ांस्था पुनस्र्थापनाको मुद्दा समेत उठाउँदै आएका छन्। गणतन्त्रले देशलाई निकास दिन नसक्ने बताउँदै राजस्ंस्था पुनस्र्थापना उनले एजेण्डा बनाएका छन्।

यही मंसिर ७ गते देशभरबाट काठमाडौमा मान्छे ओरालेर व्यवस्थाविरुद्ध बृहत जनप्रदर्शन गर्ने बताएका उनले एमालेलक्षित टिप्पणीमा खरो उत्रिदै आएका छन्। सोही दिन प्रसाईंलाई चुनौती दिँदै एमालेको पनि जनप्रदर्शन कार्यक्रम तय गरिएको छ।

एमाले र प्रसाईं एक अर्काका विरुद्ध भिड्दै गर्दा सत्तारुढ माओवादी भने रमिते देखिएको छ। एमालेप्रति उग्र प्रहार गरेका प्रसाईं माओवादीप्रति भने नरम देखिएका छन्।

उनले एमाले अध्यक्ष ओली, बस्नेत लगायत अन्य नेताहरु भन्दा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष रहेका वर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमा राजनीतिक संस्कार रहेको सार्वजनिक रुपमा बताइरहेका छन्।

एमाले र प्रसाईं एक अर्कालाई आरोप प्रत्यारोप लगाउँदै गर्दा माओवादी मौन भएर रमिता हेरिरहेको छ। सरकारको नेतृत्व गरेकाले दुबै पक्षको एकै दिन कार्यक्रम तय भएकाले सम्भावित जोखिम रोक्न सुरक्षा सर्तकर्ता सरकारी स्तरबाट बढाएपनि राजनीतिक रुपमा प्रसाईंविरुद्ध माओवादी खुलेर लागेको छैन।

उसो त प्रसाईंको निशाना पनि माओवादी परिलक्षित देखिएको छैन। उनले एमाले र मुख्यत महेश बस्नेतमाथि तीव्र रुपमा लाञ्छना लगाइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *