इन्जिनियरको किबी खेती

डिसी नेपाल
५ मंसिर २०८० १६:४७

गलकोट । पेसाले जलविद्युतका इन्जिनियर हुन् बागलुङको बिहुँका खिमानन्द कँडेल । उनले कोरोनाकालमा गाउँ फर्केर लगाएको किबीले यो वर्षदेखि उत्पादन दिन थाल्यो । चितवन र काठमाडौंको बजारमा पनि किबी पुगेको छ । प्रतिकेजी रु ३०० देखि रु ५००मा किबी बिक्री गरेका कँडेलले पहिलो वर्ष नै किबीबाट रु एक लाख भित्र्याए ।

गाउँमा बस्दा फुर्सदिलो भएपछि २०७७ सालमा १२ रोपनी जग्गामा दुई सय २५ किबीका बिरुवा लगाएका उनले पहिलोपटक किबीलाई बजारमा पठाएको बताए ।

बागलुङको काठेखोला गाउँपालिका–५ थामडाँडा निवासी कँडेलले आफ्नो पुर्ख्यौली जग्गामा किबी खेती गरेका हुन् । सुरुमा लगानी र मेहनत दुवै लागे पनि निरन्तर आम्दानी गर्न सकिने किबी खेती लकडाउनमा समय कटाउनका लागि लगाइए पनि अहिले व्यावसायिक बनेको उनको भनाइ थियो ।

लकडाउनमा काठमाडौंस्थित इन्जिनियरिङ कन्सल्टेन्सीमा काम नभएपछि लामो समय बागलुङको बिहुँ बसेका कँडेलले लकडाउनको समयलाई भरपुर सदुपयोग गरेको जानकारी दिए ।

“सानैदेखि राजनीतिमा समेत सक्रिय थिएँ, पेसाका कारण काठमाडौंमा केन्द्रित थिए तर २०७७ सालमा लामो समय नेपालमा लकडाउन भएकाले कोरोना छल्न गाउँ आएको थिए”, इन्जिनियर कँडेलले भने, “बजारमा किबीको भाउ रु छ सय केजी थियो, खेत र कोदोको भन्दा तेब्बर आम्दानी दिन सक्दो रहेछ भनेर एक महिना लगाएर खाडल खने, थाक्राको व्यवस्थापन गरे र किबी लगाएँ ।”

कोरोना महामारी सामान्य भएपछि काठमाडौं गएँ तर किबीका बिरुवा हुर्कंदै गए । बीच–बीचमा किबीको स्याहारसुसार गर्न गाउँ आए पनि भाइ र बुबाले सहयोगसमेत सहयोग गरेको उनले बताए ।

दुई सय २५ किबीका बिरुवामध्ये एक सय बिरुवामा किबी फल्न थालेको र आगामी वर्षदेखि वार्षिक रु तीन लाखसम्मको किबी बिक्री गर्ने लक्ष्य रहेको उनको भनाइ थियो ।

उनले तेब्बर आम्दानी दिने र कम मेहनत गर्ने भएपछि कोदो र धान खेती छोडेर किबी खेती लगाइएको बताए । “कोदो र धान खेतीमा कति दुःख छ, मेहनत अनुसारको आम्दानी हुँदैन, खान पुग्दैन,” कँडेलले भने, “दुई सयप्रति केजीमै बिक्री भए पनि कोदो र धान खेतीभन्दा तेब्बर आम्दानी हुन्छ, कोदो र धानलाई जस्तो धेरै मेहनतसमेत गर्न पर्दैन ।”

किबीमा एकपटक लगानी गरेपछि वर्षौंसम्म मलजल मात्रै गरे पुग्ने भएकाले यहाँका अन्य किसानसमेत किबी खेतीतर्फ आकर्षित भएका हुन् ।

किबी खेतीका लागि किसानलाई सहज बजारीकरण गर्न भने कठिन रहेको उहाँको भनाइ थियो । विसं २०४६ सालदेखि नेकपा एमालेको विभिन्न पदमा रही काम गर्दै आएका कँडेल २०७९ साल मङ्सिरमा सम्पन्न सङ्घीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बागलुङ क्षेत्र नं १ बाट निर्वाचित चित्रबहादुर केसीसँग प्रतिस्पर्धा गरेका थिए । उनले दस हजार मतसमेत प्राप्त गरेक थिए । कँडेलले राजनीतिमा लाग्न पनि आफ्नो आर्थिक स्रोत चाहिने भएकाले किबी खेती गरेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *