हमासले चार कमाण्डरको मृत्यु भएको पुष्टि गर्यो, गाजा ब्रिगेडका कमाण्डर पनि मारिए
काठमाडौं । आइतवार आफ्ना चार शीर्ष कमाण्डरको मृत्यु भएको पुष्टि गर्दै हमासले उत्तरी गाजा हमास ब्रिगेडका कमाण्डर अहमद अल घन्डौर पनि मारिएको बताएको छ।
यद्यपी हमासले आफ्नो बयानमा यी कमाण्डरहरू कहिले र कसरी मारिए भन्नेबारे केही बताएको छैन। यसैबीच इजरायल र हमासबीचको युद्धविरामको आज तेस्रो दिन हो ।
प्यालेस्टिनी रेड क्रिसेन्टले आइतबार माघाजी शरणार्थी केन्द्रमा इजरायली सेनाले गरेको आक्रमणमा एक किसानको मृत्यु भएको जनाएको छ।
प्यालेस्टिनी रेड क्रिसेन्टको यो रिपोर्टमा इजरायलले तुरुन्तै प्रतिक्रिया दिएको छैन। यस घटनाले बन्धकहरूको रिहाइका लागि भएको सहमतिमा असर पार्छ कि पार्दैन भन्ने अझै स्पष्ट भइसकेको छैन।
इजरायल र हमासले चार दिने युद्धविराममा सहमति जनाएका थिए । हालसम्म हमासले इजरायली बन्धकहरूलाई दुई पटक रिहा गरिसकेको छ भने बदलामा इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई पनि रिहा गरेको छ।
आइतबार नै १३ इजरायली र चार थाई बन्धक इजरायल पुगेका थिए । तर, यी बन्धकहरूलाई रिहा गर्न ढिलाइ भएको थियो।
इजिप्ट र कतारको मध्यस्थतामा बन्धकहरुको रिहाईलाई लिएर उठेको मतभेद सुल्झिएको हो ।
हाल हमास र इजरायलबीच कमजोर युद्धविराम जारी छ। अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि जारी युद्धमा यो पहिलो पज हो।
दक्षिणी इजरायलमा हमासको आक्रमणमा १२०० भन्दा बढी इजरायली मारिएका थिए। इजरायलको जवाफी हमलामा हालसम्म १४,८०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जसमध्ये ४० प्रतिशत बालबालिका छन्।
इजरायलले हमासले थप बन्धकहरूलाई रिहा गरे युद्धविरामलाई अझै जारी राख्न सकिने बताएको छ। हाल २०० भन्दा बढी बन्धक हमासको हिरासतमा छन्।
Facebook Comment