अमेरिकामा कसरी विफल भयो एक सिख नेताको हत्याको योजना, निज्जर हत्याकाण्डसँग कस्तो सम्बन्ध?
बीबीसी। अमेरिकी अभियोजनकर्ताहरूले एक भारतीय पुरुषलाई उत्तर अमेरिकामा कम्तीमा चार सिख नेताहरूको हत्या गर्ने षड्यन्त्र गरेको आरोप लगाएका छन्। ती भारतीयविरुद्ध दर्ता गरिएको मुद्दामा यसै वर्षको सुरुमा क्यानडाका एक नागरिकको हत्यासँग पनि उनको संलग्नता रहेको देखाइएको छ। यसबाट क्यानडामा घटना हुनुअघि अमेरिकी गुप्तचरहरूलाई त्यसबारे के थाहा थियो भन्ने प्रश्न उठेको छ।
गत जुन १८ मा निखिल गुप्ताले क्यानडाका एक सिख नेताको हत्यासँग सम्बन्धित एउटा भिडिओ हेरेका थिए। ती सिख नेतालाई आफ्नै कारमा गोली हानिएको र रगतपच्छे भएको उनको शरीर कारभित्र स्टिअरिङ वीलमै ढलेको थियो।
त्यसपछि गुप्ताले उक्त भिडिओ कुनै अर्को देशमा अर्का एक व्यक्तिलाई मार्ने योजनाअनुसार गोली हान्न एक “व्यावसायिक हत्यारा” लाई पठाए। गुप्ताले भोलिपल्ट ती हत्यारालाई क्यानडाका सिख नेता सूचीमा रहेको जानकारी दिँदै उनी “निसानामा” “#4” र “#3” भएको बताए।
“हाम्रो निसानामा धेरै जना छन्,” गुप्ताले भने, “राम्रो कुरा के हो भने अब पर्खिनुपर्दैन।”
अमेरिकी अभियोजनकर्ताहरूले बुधवार दर्ता गरेको अभियोगपत्रमा यी कुराकानीहरू उल्लेख गरिएका छन्।
अमेरिकी न्याय मन्त्रालयले निखिल गुप्तालाई न्यूयोर्कमा बसोबास गर्ने तथा अमेरिका र क्यानडा दुवै देशको नागरिकता भएका एक व्यक्तिको हत्याको षड्यन्त्र गरेको आरोप लगाएको छ। उक्त षड्यन्त्र एक भारतीय सरकारी कर्मचारीको निर्देशनमा भएको पनि उसको दाबी छ।
यद्यपि त्यो योजना विफल भयो।
न्यूयोर्कका पैसा लिएर गोली हान्न तयार भएका व्यक्ति वास्तवमा अमेरिकी गुप्तचर थिए। गुप्ताले आफूले भनेको मानिस मारेबापत उनलाई एक लाख अमेरिकी डलर दिने बताएका थिए।
पन्ध्र पृष्ठको अभियोगपत्रले क्यानडाको ब्रिटिश कोलम्बियामा मारिएका सिख नेता हरदीप सिंह निज्जरमाथि भएको आक्रमणबारे पनि धेरै नयाँ विवरण खुलाएको छ।
उक्त अभियोगपत्र हेर्दा निज्जरको हत्याअघि नै कसलाई के थाहा थियो भन्ने जानकारी पाइन्छ।
भारतमा स्वतन्त्र सिख राज्य स्थापना गर्न समर्पित ४५ वर्षीय निज्जरको निर्मम हत्याले क्यानडा स्तब्ध भएको थियो। उक्त हत्याको केही महिनापछि गत सेप्टेम्बरमा क्यानडा र भारतबीच कूटनीतिक सङ्कट देखा पर्यो।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले उक्त हत्यामा भारतको संलग्नताबारे “विश्वसनीय” आरोप रहेको बताएपछि दुई देशबीच कूटनीतिक तनाव बढेको थियो। ट्रूडोको आरोपलाई भारतले “निरर्थक” को सङ्ज्ञा दिएको थियो।
बुधवार ट्रूडोले अमेरिकी आरोपले भारतले क्यानडाको आरोपलाई गम्भीरताका साथ लिनुपर्ने आवश्यकतामा बल पुर्याएको बताए।
विज्ञहरू पनि अमेरिकी अभियोगले उनको दाबीलाई थप आधार दिएको बताउँछन्।
ओटवाको कार्ल्टन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मामिलाकी प्राध्यापन गर्ने स्टेफनी कार्भिनले बीबीसीसँग भनिन्, “आजको प्रमाण ट्रूडोले [सेप्टेम्बरमा] भनेकोभन्दा बृहत् छ, यस ले चार जनालाई मार्ने षड्यन्त्र गरिएको प्रष्ट पार्छ, तीन क्यानडामा…। निज्जरको हत्या पृथक् घटना थिएन।”
ट्रूडोले आरोप लगाउँदा क्यानडाका सहयोगी देशहरूले निज्जरको हत्याको निन्दा सार्वजनिक रूपमा गरेका थिएनन्। त्यस बेला अमेरिकी अधिकारीहरूले घटनाप्रति चिन्ता व्यक्त गरेको भए पनि उनीहरूले न त ट्रूडोको दाबीसँग मिल्ने कुरा गरेका थिए न त सोझै भारतको आलोचना गरेका थिए।
दिल्लीमा जी-२० शिखर सम्मेलनपछि ट्रूडोले भारतलाई सार्वजनिक रूपमा आरोप लगाउनुअघि नै “व्यावसायिक हत्यारा” प्रयोग गरेर भएको षड्यन्त्रबारे अमेरिकाले पनि अनुसन्धान गरिरहेको थाहा भएको थियो।
अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले राष्ट्रपति जो बाइडनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जी-२० शिखर सम्मेलनमा भारतका त्यस्ता गतिविधिबारे चिन्ता व्यक्त गरेका थिए।
एक भारतीय अधिकारीले गत मे महिनामा निखिल गुप्तालाई हत्याको योजनामा सहभागी गराएको आरोप अमेरिकी अधिकारीहरूले लगाएका छन्। त्यसअघि उनी अन्तर्राष्ट्रिय लागुऔषध र हतियार तस्करीमा संलग्न भएको आरोप पनि उनीहरूको छ।
गुप्ताले हत्या गर्ने योजना बनाएका व्यक्ति को हुन् भन्ने खुलाइएको छैन। तर ती व्यक्ति निज्जर निकटस्थ मानिने गुर्पतवन्त सिंह पन्नुन रहेको ठानिएको छ।
पन्नुन ‘सिख फर जस्टिस’का सल्लाहकार हुन्। संयुक्त राज्य अमेरिकामा रहेको उक्त सङ्गठनले खालिस्तान आन्दोलनलाई समर्थन गर्छ। उक्त आन्दोलनले भारतमा सिखहरूका लागि स्वतन्त्र मातृभूमिको माग गर्ने गर्छ। भारतमा कुल जनसङ्ख्याको झन्डै दुई प्रतिशत सिख छन्।
सन् १९८० को दशकमा पन्जाब राज्यमा पृथक्तावादी खालिस्तान आन्दोलन चर्किएको थियो। त्यस बेला धेरै हिंसात्मक गतिविधि भएको थियो र कैयौँ व्यक्तिको ज्यान पनि गएको थियो।
भारतीय सशस्त्र बलहरूले उक्त आन्दोलनविरुद्ध विशेष अभियान चलाएपछि भारतमा उक्त आन्दोलन मत्थर भयो। सिखका लागि छुट्टै राज्य माग गर्दै गरिने आन्दोलनलाई भारतमा प्रतिबन्ध लगाइएको छ।
तर विदेशमा रहेका समर्थकहरूले सिखका लागि छुट्टै राज्यको माग जारी राखेका छन्।
पन्नुनलाई निज्जरलाई जस्तै भारतले “आतङ्ककारी” भन्ने गर्छ। तर उनले त्यस्तो आरोपलाई अस्वीकार गरेका छन्।
अभियोगपत्रमा गुप्ताले भारतीय सरकारी कर्मचारीको आदेशअनुसार पन्नुन कहाँ छन् भन्ने पत्ता लगाउँदै उनीमाथि निगरानी राखेको आरोप लगाइएको छ।
ती भारतीय अधिकारीले गुप्तासँगको कुराकानीमा आफू “युद्धकौशल”बारे प्रशिक्षित एक “वरिष्ठ फील्ड अफिसर” भएको दाबी गरेका छन्।
हत्याको योजना कसरी विफल भयो?
उक्त अभियोगपत्र हेर्दा कसरी अमेरिकी कानुन कार्यान्वयन गर्ने निकाय कसरी सम्भावित हत्याको योजनामै सहभागी हुन पुग्यो भन्ने प्रष्ट हुन्छ।
त्यस्तो योजनामा छिरेका अमेरिकी गुप्तचरले आफू पैसा लिएर हत्या गर्ने वचन दिँदै गुप्तालाई पक्राउ गर्न सघाएका थिए।
उक्त षड्यन्त्रलाई पछ्याउँदा गुप्ताले पन्नुनको हत्याको योजना बनाएको र उनले त्योभन्दा धेरै “काम” भएको बताएको पाइयो। ती कामहरू सीमापारि क्यानडामा भएको उनीहरूबीचको संवादले बुझाउँछ।
गुप्ताले गत जुन १२ मा अमेरिकी कानुन कार्यान्वयन गर्ने निकायका गुप्तचरलाई क्यानडामा “ठूलो निसाना” रहेको बताएका थिए। त्यसको छ दिनपछि जुन १८ मा निज्जरको हत्या भएको थियो।
क्यानडाको प्रहरीले अहिले पनि निज्जरको हत्याबारे अनुसन्धान जारी राखेको छ र अमेरिकी अनुसन्धानबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ।
गुप्तालाई अमेरिकी अभियोजनकर्ताले निज्जरको हत्यामा संलग्न भएको अभियोग लगाएका छैनन्। तर उक्त हत्याअघि र पछि गुप्ता तथा उनलाई काममा खटाउने भारतीयबीच भएका संवाद एवं गतिविधबारे अभियोगपत्रमा उल्लेख गरेका छन्।
गुप्ताले ती भारतीय सरकारी कर्मचारीसँग आफू स्वयं हत्यामा सहभागी हुने इच्छा व्यक्त गरेका कुरा पनि अभियोगपत्रमा छ। त्यसलगत्तै उनले आफूले हत्याका लागि परिचालन गर्न लागेका माथि उल्लिखित अमेरिकी सुराकीलाई फोन गरेर केही दिनअघि आफूले क्यानडामा “काम” छ भनेको व्यक्ति निज्जर भएको बताएका थिए।
“यो त्यही व्यक्ति हो, म तपाईँलाई भिडिओ पठाउँछु,” गुप्ताले भने, “अरू कसैले यो काम गरेछ।”
भारत के भन्छ
अदालतमा पेस गरिएका दस्तावेजले निज्जरको हत्याबाट गुप्ता उत्साहित भएको सङ्केत गर्छ। उनले अमेरिकी स्रोतलाई पन्नुनको हत्या ‘छिटो’ गरिनुपर्ने बताए।
अनि त्यसपछि जुन महिना सकिनुअघि नै क्यानडामा सक्नुपर्ने थप तीनवटा काम भएको पनि बताए।
ती दस्तावेजमा क्यानडाको सुरक्षा संयन्त्र र गुप्तचर निकायहरूको प्रभावकारितामाथि प्रश्न उठ्ने खालका विवरण पनि छन्।
बुधवार ह्वाइट हाउसले गुप्ता संलग्न भएको उक्त षड्यन्त्रबारे सबैभन्दा वरिष्ठ तहका भारतीय सरकारका अधिकारीसँग प्रश्न गरिसकिएको जनाएको छ।
भारतीय अधिकारीहरूले “आश्चर्य र चिन्तायुक्त” भनेर प्रतिक्रिया दिएको ह्वाइट हाउसले जनाएको छ।
भारत सरकारले उक्त षड्यन्त्रका सम्बन्धमा अमेरिकाले उठाएको सुरक्षा चिन्ताबारे अनुसन्धान सुरु गरेको बताएको छ।
तर अहिलेको अवस्थामा अमेरिका वा भारत दुवैले आफ्नो कूटनीतिक सम्बन्धलाई कमजोर बनाउन नचाहने विज्ञहरू बताउँछन्।
Facebook Comment