साउदी अरबले पायो ठूलो सफलता
काठमाडौं । युवराज मोहम्मद बिन सलमानको ‘भिजन २०३०’ मा काम गरिरहेको साउदी अरेबियाले ठूलो सफलता हासिल गरेको छ । साउदी अरेबियाले इटाली र दक्षिण कोरियालाई हराउँदै सन् २०३० को वर्ल्ड फेयर आयोजना गर्ने अधिकार जितेको छ । ५७ मुस्लिम देशको संगठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी) ले पनि साउदी अरेबियाको यो सफलताप्रति प्रतिक्रिया जनाएको छ ।
साउदी अरेबियाले वर्ल्ड एक्सपो २०३० आयोजना गर्न निकै प्रयास गरिरहेको थियो । वर्ल्ड एक्सपो अक्टोबर २०३० देखि मार्च २०३१ सम्म आयोजना हुनेछ। साउदी सरकारको सरकारी एजेन्सी ‘साउदी ग्याजेट’का अनुसार अन्तर्राष्ट्रिय प्रदर्शनी ब्यूरोले मंगलबार साउदी अरेबियाले अक्टोबर २०३० देखि मार्च २०३१ सम्म वर्ल्ड एक्सपो आयोजना गर्ने घोषणा गरेको छ।
प्रतिवेदनका अनुसार अन्तर्राष्ट्रिय प्रदर्शनी ब्यूरोका सदस्य राष्ट्रहरूले पेरिसमा भएको १७३औँ महासभामा वर्ल्ड एक्सपो २०३० कसलाई आयोजना गर्न दिने भन्ने छनोटमा मतदान गरेका थिए। संगठनका १८२ सदस्य राष्ट्रमध्ये ११९ देशले साउदी अरेबियाको पक्षमा मतदान गरेका छन् । त्यसैगरी दक्षिण कोरियालाई २९ देशको समर्थन र इटालीले १७ देशको मात्र समर्थन पाएको छ ।
साउदी अरेबियाको यो जित यसकारण पनि महत्वपूर्ण बनेको छ किनभने गत वर्ष कतारमा भएको विश्वकप फुटबलपछि खाडी राष्ट्रले यस्तो प्रतियोगिता आयोजना गर्ने यो दोस्रो पटक हो । यसलाई खाडी मुलुक र विशेषगरी साउदी अरेबियाका लागि कूटनीतिक विजयका रूपमा हेरिएको छ ।
५७ मुस्लिम देशको संगठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसनले एक विज्ञप्ति जारी गर्दै साउदी अरेबियालाई वर्ल्ड एक्सपो आयोजनाको अधिकार पाएकोमा बधाई दिएको छ । ओआईसीका महासचिव हिसेन ब्राहिम ताहाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ओआईसीका महासचिवले सन् २०३० एक्स्पोको अधिकार हासिल गरेकोमा साउदी अरेबिया र त्यहाँका जनतालाई बधाई दिएका छन्।”
Facebook Comment