अमेरिकामा सिख नेताको हत्या प्रयासको अनुसन्धानमा बाइडेनका वरिष्ठ अधिकारीहरू दिल्लीमा

डिसी नेपाल
१९ मंसिर २०८० १३:४०

काठमाडौं । ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति जो बाइडेनका शीर्ष राष्ट्रिय सुरक्षा सल्लाहकार विभिन्न द्विपक्षीय विषयमा कुराकानी गर्न नयाँ दिल्ली पुगेको बताएको छ ।

उनले एक सिख पृथकतावादी नेताको हत्या प्रयासको आरोपबारे पनि भारतसँग कुरा गरे।

समाचार एजेन्सी पीटीआईका अनुसार, प्रमुख उप राष्ट्रिय सुरक्षा सल्लाहकार जोन फिनरले डिसेम्बर ४ मा भारतका उप राष्ट्रिय सुरक्षा सल्लाहकार विक्रम मिश्रीसँग भेटेर महत्वाकांक्षी यूएस-भारत पहल ‘क्रिटिकल एण्ड इमर्जिङ टेक्नोलोजी (आईसीईटी)’ लगायतका महत्त्वपूर्ण मुद्दाहरूको बारेमा कुरा गर्न एक प्रतिनिधिमण्डलको नेतृत्व गरे।

आइसीइटी भारत र संयुक्त राज्य अमेरिका बीचको एक महत्वपूर्ण पहल हो जुन रणनीतिक सुरक्षा र प्रविधि सहयोगमा केन्द्रित छ।

ह्वाइट हाउसले पनि आफ्नो विज्ञप्तिमा भारतले अमेरिकामा पृथकतावादी नेताको हत्याको षड्यन्त्रमा छानबिन समिति गठन गरेको र दुई देशले जिम्मेवार पाइएमा जवाफदेही बनाउनेबारे छलफल गरेको बताएको छ ।

यसका साथै दुवै देशले मध्यपूर्वमा जारी युद्ध र दुई राज्य समाधानका उपायहरू के हुन सक्छन् भन्ने विषयमा पनि कुराकानी गरेका थिए ।

हालै अमेरिकाको न्याय विभागको दस्तावेजबाट अमेरिकामा बसोबास गर्ने एक अलगाववादी सिख नेताको हत्या गर्ने प्रयास भएको खुलासा भएको थियो जसलाई अमेरिकाले असफल बनाएको थियो ।

दस्तावेजका अनुसार भारतीय नागरिक निखिल गुप्तामाथि ‘नियोजित हत्या’को आरोप लगाइएको छ । भारत सरकारका एक अधिकारीको निर्देशनमा यो षड्यन्त्र रचिएको अभियोजन पक्षको आरोप छ।

भारत सरकारले त्यसो गर्नु भारतको नीतिविपरीत भएको भन्दै यस विषयमा उच्चस्तरीय समिति गठन गरेको छ जसले आरोपको छानबिन गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *