रसियन सेनामा भर्ती भएका नेपाली युवा युक्रेनी सेनाको कब्जामा (भिडियाे)

डिसी नेपाल
२१ मंसिर २०८० ६:४४

काठमाडाैं।  रसियन फोर्समा भर्ती भएका अर्का एक जना नेपाली युक्रेनी सेनाको कब्जामा परेको भिडियो सार्वजनिक भएको छ। कब्जामा रहेका उनी काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ ढकालथोक घर भएका सिद्धार्थ ढकाल हुन्।

करिब २ महिना अघि रोजगारीको क्रममा रसिया पुगेका उनी रसियन फोर्समा भर्ती भएका थिए। सार्वजनिक भएको भिडियोमा उनले आफू एक्लो छोरो भएको,परिवारलाई धेरै सम्झिएको र उद्धारका लागि पहल गरिदिन पनि सरकारसँग गुहार गरेका छन्।

नेपाली नागरिक रसियन सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा ६ जनाको निधन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रसियन सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा ६ जना नेपालीकाे निधन भएकाे बताएका हुन्।

यसअघि रुसस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयललाई एक पत्रमार्फत जानकारी गराउँदै तीन जना नेपालीको रुस युक्रेन जारी युद्धमा निधन भएको पुष्टि गरेको थियाे।

मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार-५ का प्रितम कार्की, दोलखाको मेलुङ-६ का राजकुमार रोक्का र इलाम-५ का गंगाराज मोक्तानकाे निधन भएकाे पुष्टि भएकाे छ।

रुसी नियम अनुसार उनीहरुको शव नेपाल ल्याउन पनि कठिन रहेको बताइन्छ। गोरखाका सन्दीप थपलियाको भने यसअघि नै मृत्यु भएर उनको अन्त्येष्टि रुसमा नै गरिएको बताइएको छ।

अहिले तीन जना नेपालीको निधन भएको आधिकारिक रुपमा पुष्टि गरिएपनि यस अघि थुप्रै नेपालीको हाताहाती भएको डिसी नेपालको सम्पर्कमा आएका रसियन भाडाका नेपाली सैनिकहरुले बताउँछन्।

नेपालीहरु यहाँबाट भिजिट भिसामार्फत दुबई गएर त्यहाँबाट मस्को पुगेर रसियन सेनामा भर्ना हुने गरेको तथ्यहरु सार्वजनिक भइरहँदा सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि कुनै कदम चालेको छैन।

यसैबीच ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो। काठमाडौं घर भएका सन्तोष रोका, काठमाडौं-१६ घर भएका रोजल महर्जन, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, ३१ वर्षीय क्षितिज गिरी र सिराहाका १९ वर्षीय दिपेन परियार, काभ्रेका सुवास लामा, चितवनका गोकर्ण अर्याल, बाराका सन्तोष नेपाल, ओखलढुंगाका सुजता दाहाल, लमजुङका ईश्वर अधिकारी र दाङको घोराही उपमहानगर पालिकाका ३८ वर्षीय द्रोणा डाँगी रहेका जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।

उनका अनुसार उनीहरूले भिजिट भिसामा दुबई तथा नेपालबाट सडक मार्गबाट भारत लगेर त्यहाँबाट रसिया पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खेलेको छ ।

उक्त गिरोहले प्रतिव्यक्ति  सात लाखदेखि  ११ लाखसम्म असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको र नेपालमा सक्रिय गिरोहलाई रुसमा बस्ने नेपाली नागरिक शोभराज र अनुपले सहयोग गरेको भेटिएको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुंगलले बताए।

उपरीक्षक ढुंगेलले भने, “रसियाबाट निमन्त्रणा पत्र र भिजिट भिसा उपलब्ध गराएबापत गिरोहका सदस्य हरिबहादुर विश्वकर्माले १८ सय ५० अमेरिकी डलर पठाउने गरेको प्रहरीले गरेको अनुसन्धानबाट थाहा भएको छ।”

आरोपीले पठाएकोमध्ये ११ जना नेपाल फर्किएका छन्। पाँच-दश जनाको समूहबाट रसिया पठाउन सुरु गरेका आरोपीमध्ये केही कन्सल्टेनी सञ्चालक पनि छन्। केही कन्स्ल्टेन्सीले विज्ञापन नै गरेर रुसी सेनामा भर्ना गर्न भन्दै अन्तर्वार्तासमेत सञ्चालन गरेको खुलेको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *