नेदरल्याण्डमा सरकार परिवर्तन भएपछि मुस्लिमहरू किन डराइरहेका छन् ?

डिसी नेपाल
२१ मंसिर २०८० १६:०३

काठमाडौं । अति दक्षिणपन्थी नेता गीर्ट वाइल्डर्स र उनको इस्लाम विरोधी पार्टी पार्टी फर फ्रीडम (पीभीभी) ले नेदरल्याण्ड्सको चुनाव जितेका छन्, जसले देशका मुस्लिमहरूमा डर पैदा गरेको छ।

यी त्यही नेता हुन् जसले भारतीय जनता पार्टीकी पूर्व नेता नुपुर शर्माले पैगम्बर मोहम्मदलाई लिएर गरेको विवादास्पद बयानलाई समर्थन गरेका थिए ।

गीर्ट वाइल्डर्स देशको अर्को प्रधानमन्त्री हुनसक्ने खबर आउने बित्तिकै नेदरल्याण्डको पूर्वी सहर अर्नहेमका मेयर अहमद मार्काउचका ८ वर्षीय छोरा डराए । उनका छोरालाई डर छ – उनी मुस्लिम भएकाले उनको परिवारले देश छोड्नु पर्छ।

चुनावी नतिजा आउन एक दिन अगाडि अहमदका छोराको स्कुलमा चुनावी नतिजाको बारेमा छलफल भएको थियो जसमा शिक्षकले कुन पार्टीले जित्यो भने समाजमा कस्तो परिवर्तन आउँछ भन्ने कुरा बताएका थिए । अब नतिजा आइसकेको छ र अहमदका छोरालाई पीभीभी सत्तामा आयो भने उनले देश छोड्नु पर्ने डर छ।

अहमदले आफ्नो दुःखी छोरालाई सान्त्वना दिएको बताए । द गार्डियनसँग कुरा गर्दै उनले भने, ‘हामीले देश छोड्नुपर्छ भन्ने मेरो छोराको भनाइ हृदयविदारक थियो । उनी मेयरका छोरा हुन् तर उनलाई डर छ कि नयाँ सरकारले हाम्रो परिवारलाई समाजबाट निकाल्छ किनभने हामी मुस्लिम हौं।’

लेबर पार्टीका नेता अहमद मार्काउच सन् २०१७ देखि करिब १ लाख ७० हजार बासिन्दाको घर अर्नहेमका मेयर भएका छन्। तर उनीहरु चुनावी नतिजासँग डराएका छन् । अहमद १० वर्षको उमेरमा नेदरल्याण्डमा पुगेका थिए ।

गीर्ट वाइल्डर्सले आफ्नो राजनीतिक करियरमा अहमदलाई सधैं निशाना बनाएका छन्। अब वाइल्डर्सले जितेका छन्, अहमद उनीसँग कसरी व्यवहार गर्ने भनेर तनावमा छन्।

अर्नहेम राजधानी रहेको गेल्डरल्याण्डमा इस्लाम विरोधी पार्टी पीभीभी सबैभन्दा धेरै मत प्राप्त गर्ने पार्टीको रूपमा उभिएको छ। नयाँ शरणार्थीहरूलाई देशमा स्वीकार गरिने छैन, सार्वजनिक भवनहरूमा इस्लामिक पोशाक हिजाबलाई प्रतिबन्ध लगाइनेछ र दोहोरो नागरिकता भएका अपराधीहरूलाई देश निकाला गरिने छ भन्ने पार्टीले चुनावका बेला जनतालाई वाचा गरेको थियो। प्रतिज्ञाहरूमा इयुमा कामदारहरूको स्वतन्त्र आवतजावत अन्त्य गर्ने पनि समावेश छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *