महिलाहरूको अगाडि किन रोए किम जोङ उन ?

डिसी नेपाल
२१ मंसिर २०८० १६:२२

काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उनलाई निकै कडा शासक मानिन्छ तर उनको यस्तो भिडियो सार्वजनिक भएको छ जुन पत्याउनै गाह्रो छ । भिडियोमा किम जोङ उन रोएको र आँखाबाट आँसु बगिरहेको देख्न सकिन्छ जसलाई उनले पुछिरहेका छन् । किमले उत्तर कोरियाका महिलाहरुलाई धेरै बच्चा जन्माउन अपील गरिरहेका थिए र यसै क्रममा उनले आँसु झारेको बताइएको छ ।

उत्तर कोरियामा घट्दो जन्मदरलाई ध्यानमा राख्दै किमले आफ्नो देशका महिलालाई बढी सन्तान जन्माउन अपिल गरिरहेका थिए । किमले उत्तर कोरियाली महिलालाई ‘राष्ट्रिय शक्ति’ सुदृढ गर्न थप सन्तान जन्माउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा राजधानी प्योङयाङमा आयोजित महिला कार्यक्रममा किम जोङ उन रोएको र सेतो रुमालले आँखा पुछिरहेको देखिन्छ ।

मिडिया रिपोर्टका अनुसार किमले कार्यक्रममा भने, ‘जन्मदरमा आएको गिरावटलाई रोक्न र बच्चाहरूको राम्रो हेरचाह र राम्रो शिक्षा दिनु भनेको पारिवारिक मामिला हो जसलाई हामीले आमाहरूसँग मिलेर समाधान गर्नुपर्छ।’ हालैका दशकहरूमा उत्तर कोरियाको जन्मदरमा उल्लेखनीय गिरावट आएको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले देखाउँछ। २०२३ सम्म उत्तर कोरियामा प्रतिआमा बच्चाहरूको औसत संख्या १.८ थियो।

उत्तर कोरिया जस्तै छिमेकी दक्षिण कोरियामा पनि जन्मदरमा भारी गिरावट आएको छ । दक्षिण कोरियाको प्रजनन दर विश्वमा सबैभन्दा कम छ। जन्मदर घट्नुको मुख्य कारण उच्च विद्यालयको शुल्क, बालबालिकाको हेरचाह गर्न नसक्नु र पुरुष केन्द्रित कर्पोरेट समाज हो ।

१९७०-१९८० को दशकमा उत्तर कोरियाले युद् पछि जनसंख्या वृद्धि सुस्त बनाउन जन्म नियन्त्रण कार्यक्रम लागू गर्यो। तर सन् १९९० को मध्यमा भोकमरी परेको थियो जसमा लाखौंको ज्यान गयो । जसका कारण उत्तर कोरियाको जनसङ्ख्या घट्न थाल्यो, जुन अहिलेसम्म जारी छ ।

उत्तर कोरियाले तीन वा सोभन्दा बढी बच्चा भएका आमाबाबुलाई विभिन्न सुविधा उपलब्ध गराउनेलगायत जन्मदर बढाउन धेरै उपायहरू अपनाएको छ। यस सुविधाअन्तर्गत बालबालिकाका लागि आवास, राज्यबाट अनुदान, निःशुल्क खाना, औषधि, घरायसी सामान र शैक्षिक सुविधा समावेश छन् ।

हुन्डाई इन्स्टिच्युटको प्रतिवेदनले सन् २०३४ सम्ममा उत्तर कोरियाको जनसङ्ख्या अझै घट्ने अनुमान गरेको छ । एक अनुमानअनुसार २०७० सम्म उत्तर कोरियाको जनसंख्या घटेर २३.७ मिलियन हुनेछ। २०२१ को तथ्याङ्क अनुसार उत्तर कोरियाको जनसंख्या २६ मिलियन छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *