कथा : लालमती

खेमराज पोखरेल
२३ मंसिर २०८० ६:४७

मनोरमाले हिजो मात्रै पूर्ण कद देखिने एउटा ऐना किनेर ल्याएकी छिन्। ससाना ऐनाले उनको धित मरेन। उनले त्यो ऐना आफ्नै शयन कक्षको भित्तामा झुन्ड्याएकी छिन्। त्यसो त उनको ‘एट्याच्ड रेस्ट रूम’ मा पनि ठूलै ऐना छ।

तर जब नुहाउन थाल्यो अनि तातो पानीको बाफले ढपक्क ढाकिन्छ। केही देखिन्न। त्यो ऐनालाई पानी छ्याप्यो। अलिकति खुल्छ। फेरि बाफले ढाकिहाल्छ। त्यो ऐना र तातो पानीको बाफकै रिसले भए पनि बजारबाट पूर्ण कद देखिने ऐना किनेकी हुन्। त्यसो त उनको घर चिटिक्कको छ।

कोठामा सबै सुविधा छन्। स्निग्ध र सफा छ। उनले घरमा एउटी सहयोगी राखेकी छिन्। दिलमाया। सहयोगी पनि स्कुल जान्छे। कक्षा ८ मा पढ्छे। अरु काम गर्न पटके आउँछन्। यो उनले आफूले बनाएको घर हो। यो घरको उनी सोलोडोलो मालिक हुन्। उनी पूर्ण स्वतन्त्र छिन्। आफ्नो निर्णय आफैं गर्छिन्।

०००००००

नेपाल सरकारको सहसचिवको जागिर खान्छिन् उनी। उनी कार्यालय प्रमुख नै हुन्। उनी कर्तव्यनिष्ठ, साहसी र कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छिन्। उनको चर्चा विभाग हुँदै मन्त्रालयसम्म हुन्छ। मन्त्रालयमा भन्छन्,ः ‘यस्तो काम गर्ने जेहेनदार मान्छेले त विदेश पो जानुपर्छ’

पढ्दा उनी जेहेनदार थिइन्। स्वभाव पनि अनुशासित र ‘स्ट्रोङ्ग’। उनका सहपाठी पनि उनी नजिक गएर जे पायो त्यही भन्न सक्तैनथे। उनका गुरूहरु भन्थेः ‘मनोरमा, तिमीमा विलक्षण प्रतिभा छ, तिमीले यो कलेजको मात्र होइन, देशकै नाम र इज्जत खाख्न सक्छ्यौ। जीवनले तिमीलाई भोग्न सक्तैन, तिमीले जीवनलाई भोग्नेछौ’

भयो पनि त्यस्तै। उनले शाखा अधिकृत एकैपल्टमा पास गरिन्। उनले कोटामा होइन सबैसँग भिडेर अब्बल भएर पास गरिन्। उनको मान्यता पनि थियो कि कोटा पद्घतिले कमजोर बनाउँछ। उनी आफ्ना सबै दौँतरीभन्दा अघि बढिन्।

सबै आफन्तभन्दा अघि बढिन्। उनी होचो बाँसको झ्याङ्का बीचमा टिङरिङे बाँस बन्न पुगिन्। होचा झ्याङहरुले उनलाई आँक्न छोड्यो। उनी एकलकाँटे त होइनन्। तर सबै आफन्तले अनौपचारिकता छाडेपछि उनी औपचारिक एकलकाँटे भएकी छिन्।

बिहान साढे नौ बजेदेखि बेलुकाको छ बजेसम्म अफिसमा काम गर्दा गर्दा थाकेकी हुन्थिन् उनी। घर पुग्यो उही सहयोगी दिलमाया। उसले बनाएको चिया चमेना, बिहान बेलुकाको खाना।

०००००००

‘नयाँ सुब्बा साहेब आउनु भएको छ’ कार्यालय सहयोगीले उनको आदेश माग्यो। सुब्बा साहेब अफिसको हाकिम साहेबसँग भेट्न चाहन्थे ।
‘हुन्छ, पठाइ देऊ’

कार्यालय सहयोगी अफिस कोठाबाट बाहिरियो। सुब्बा साहेब भित्र पसे।

‘नमस्कार हाकिम साहेब’ सुब्बा साहेबले अदब देखाए।

‘नमस्कार, नमस्कार, बस्नुस्’ उनले मुन्टो हल्लाएर स्वागत गरिन्।

सुब्बा साहेब सोफामा बसे।

‘के नाम अरे तपाईँको ?’

‘बलभद्र, बलभद्र रानाभाट’

‘ए अँ, प्युठानबाट सरूवा हुनु भएको होइन?’

‘हजुर, हो। केटाकेटी यहीँ भएर सरूवा मागेर आएको’

‘ल ठिक छ, अलि बिजी अफिस छ, राम्रो काम गर्नुहोला’

सुब्बा साहेब चियापछि निस्के। मनोरमालाई यो मान्छे कहीँ देखेको जस्तो लाग्यो। कहीँ बोलेको जस्तो लाग्यो। तर ठम्याउन सकिनन्। त्यसपछि दुई दिन बिदा थियो। तेस्रो दिन उनले सुब्बा साहेबलाई आफ्नै कार्य कक्षमा बोलाइन्। नमस्कार गर्दै सुब्बा साहेब बलभद्र राना भाट कक्षभित्र प्रवेश गरे।

‘सुब्बा साहेब, तपाईँलाई म परिचित जस्तो लागेन ?’ मनोरमाले हठात् प्रश्न गरिन्।

‘खोइ, मलाई त सम्झना नै भएन’ सुब्बा साहेबले सहज उत्तर दिए।

‘किन हो किन मलाई तपाईँ पूर्व परिचित जस्तै लागिरहेको छ। कहाँ कसरी केही सम्झना छैन’

हाकिम साहेबको थप जिज्ञाशामा सुब्बा साहेबले ‘हजुर, खोइ’ भनेर नसम्झेको कुरा दर्शाए।

‘तपाईँको पहिलाको घर कहाँ अरे?’

‘बाग्लुङ’

‘स्कुल कहाँ पढ्नु भएको?’

‘काठमाडौँको दरबार हाईस्कुलमा’

‘त्यस पछि?’

‘आइ..ए. पोखरा, बी. ए. त्रिचन्द्र, मास्टर गरिनँ, जागिर खाइ हालेँ, खर्दारमा’

‘एस.एल.सी. कुन ब्याच अरे?’

‘२०३२ साल’

‘ए ल पक्का पनि तपाईँ र म दरबार हाईस्कुलमा चिनिएका हौँ। मेरो एस.एल.सी. २०३३ साल’

‘मैले सम्झेँ, मभन्दा एक ब्याचपछि तपाईँ पढ्नु हुन्थ्यो, तपाईँको घर पूर्व होइन?’ सुब्बा साहेबको दिमागमा एकाएक सम्झना आयो।
‘हो, भोजपुर’ मनोरमाले सहज पारामा भनिन्।

‘स्कुलमा तपाईँलाई ‘लालमती’ भनेर बोलाइन्थ्यो होइन र?’ प्रश्न राखे सुब्बा साहेबले।

‘हो, आठ कक्षामा रजिस्ट्रेसन गर्दा मैले मेरो नाम ‘लालमती’ बाट ‘मनोरमा’ बनाएकी थिएँ। तर मलाई सबैले लालमती नै भन्थे’ पुराना कुरा सम्झँदै मनोरमाले उत्तर दिइन्।

उनको कोठा अगाडि ढोकामा ‘मनोरमा राई, कार्यालय प्रमुख, भित्र बाहिर’ लेखिएको बोर्डले उनको परिचय दिइसकेको थियो।

०००००००

अफिस सकेर घर पुग्दा मनोरमालाई अलि सन्चो नभएको जस्तो भयो। अलिकति केही खाएर दूध खाइन् र सुत्न ओछ्यानमा पुगिन्। तर उनलाई निद्रा लागेन। उनको दिमागमा उही बलभद्र राना भाट देखा परिरह्यो। त्यही दरबार हाईस्कुलकै परिधिभित्र उनको दिमाग कुद्न थाल्यो।

ऊ त्यही बलभद्र थियो जो लालमतीलाई पछ्याइ रहन्थ्यो। जिस्क्याइ रहन्थ्यो। बाटो कुरेर जे मन लाग्यो त्यही भन्थ्यो। लालमतीले उसलाई सम्झाएकी पनि हुन्। तर एक दिन त उसले लालमतीलाई पाखुरामा च्याप्प समाएको थियो र भनेको थियोः

‘लालमती तिमी र म भागेर बिहे गरौंन, तिमी कति राम्री छौ, मान न लालमती मान, मलाई यसरी हेला नगर न लालमती, म तिमीलाई माया गर्छु के, म तिम्रा लागि सारा संसार छोडिदिन्छु’

मान्छे त बलभद्र हेर्दा राम्रै थियो, आकर्षक शरीर, गहिरा आँखा, चन्चले स्वभाव, पढाइमा सरदर। तर लालमतीलाई रिसको पारा चढ्यो। उनले हेड सरलाई उजुर गरिन्। बलभद्रलाई हेड सरको अफिसमा बोलाइयो। लालमती पनि त्यहीँ थिइन्। हेड सरले सबैभन्दा पहिले बाँसको सिर्कनुले दुईपल्ट बलभद्रलाई हिर्काएका थिए र मात्र सोधेका थिएः

‘के भनेर लालमतीको पाखुरा समातिस् ए बलभद्रे ?’
‘………………………………’ ऊ लगलग कामिरहेको थियो।

‘भोलि तेरो बाउलाई बोलाएर ले’

‘यस्को बाउ काठमाडौँमा छैन सर। यो फुपूकोमा बस्छ सर’ बलभद्रका साथीले बताएका थिए।

फुपूलाई बोलाइयो। बलभद्रले माफी माग्यो। लालमतीको खुट्टा समाएरै माफी माग्नु पर्‍यो। अनि बल्ल ऊ स्कुल निस्कासित हुनबाट जोगियो। त्यसपछि ऊ कहिल्यै पनि लालमतीको सामुन्नेमा परेन।

स्कुलबाट एस.एल.सी. पास गरेर जाने फेयरवेल पार्टीमा पनि ऊ चुपचाप एकाछेउमा बसिरह्यो। ऊ त त्यो घटनापछि चन्चलेबाट लाटो भएको थियो। ऊ स्कुलबाट सर्टिफिकेट लिएर बाहिरिँदा लालमती गेटमै थिइन्।

लालमतीले उसलाई माफ गरि सकेकी मात्र होइन आफैँ माफ माग्न गेटमै उभिएकी थिइन्। तर उसले हेर्दै हेरेन। बोल्दै बोलेन।

राति अबेरसम्म निद्रा लागेन। कतिबेला लालमती सुतिन् थाहा भएन।

०००००००

लालमतीको जीवनले एकपछि एक उपलब्धि प्राप्त गरिरह्यो। उनले आइ.ए. पद्मकन्या विद्यापीठबाट, बि.ए. र एम.ए. बनारस हिन्दुविश्वविद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याई पास गरिन्। र उनी नेपाल फर्केर एकैपल्टमा सरकारी जागिर शाखा अधिकृतको लोकसेवा पास गरिन् र अहिले सहसचिव छिन्।

अहिले उनी पैंतालिस वर्षकी भइन्। अविवाहित नै छिन्। जीवनको दौडमा उपलब्धि हासिल गर्न दौडँदादौडँदै उनको बिहे गर्ने उमेर कहिले गयो पत्तै भएन। जब उनी शिखरमा पुगिन् र हेरिन् कि संसार त फेरिइ सकेछ। उनलाई गाउँ बस्ती होचा लागे। आफन्त साथी भाइ पुड्का लागे।

उनका छोरी पर्नेहरुले छोराछोरी हुर्काइसके छन्। आफ्नै अफिसमा काम गर्नेहरु पनि आफ्ना परिवारका कुरा गर्थे। लालावालाका कुरा गर्थे। माता तीर्थेमा छोरीले खानेकुरा ल्याएको कुरा गर्थे। मनोरमाको मन एक तमासको हुन्थ्यो।

००००००

एक दिन दिलमायाले उनीसँग अर्जी गरी याने उजुर गरीः

‘हेर्नुस् न दिदी, हजुर अफिस गएपछि यही चोकमा आएर मलाई जिस्क्याउँछन् केटाहरुले’

‘को केटा हुन् ती?’

‘ती स्कुलका हुन्, कोही त पल्लो टोलका पनि हुन्। अस्ति त एउटा मलाई भन्दै थियोः ‘आइ लभ यु’

एक दिन लालमतीले ती केटा देखिन्। भर्खर जुँघाका रेखी बसेका, उल्लासमय जीवन बाँचेका र हाहु गर्दै हिँडेका। दिलमायाले मनोरमालाई

स्मरण गराईः ‘दिदी, तिनै हुन् ती केटा’

मनोरमाले ती केटालाई एकोहोरो हेरिरहिन्। ती त ठ्याक्कै पहिलेको बलभद्र जस्ता चन्चले थिए। उच्छ्वासपूर्ण जीवन थियो उनीहरुको। न पढाइको चिन्ता न ‘करियर’को चिन्ता। उनले केटाहरुलाई बोलाएर सोधिन्ः

‘किन हाम्री दिलमायालाई जिस्क्याउँछौ हँ?’

‘जिस्क्याउन पनि कारण चाहिन्छ र हजुरआमा ?’ उनीहरु हाँस्दै भागे।

मनोरमाले ती अल्लारे केटाहरुलाई हेरिरहिन्। उनी सोचिरहेकी थिइन् कि ‘मैले पनि बिहे गरेको भए यत्रो त मेरो कान्छो छोरो हुन्थ्यो’ ती त उनका नजरमा एकाएक ठुला भए। मनोरमा जत्रा। त्यस्तै उमेरका। र मनोरमालाई नै भन्न थालेः ‘मसँग बिहे गर्ने हो मनोरमाजी’। उनी झसङ्ग भइन्ः ‘के दिउँसै सपना देखेको होला?’

फुच्चेहरुले ‘हजुरआमा’ भनेकाले भने उनलाई नरमाइलो लागि रह्यो।

०००००००

बिहानै ७ बजेतिर मनोरमा मर्निङ वाकमा थिइन्। उनले परबाट बलभद्र आउँदै गरेको देखिन्। बलभद्रसँग उनकी श्रीमती र कान्छो छोरो थियो। बलभद्रले श्रमतीको हात समाएका थिए। श्रीमतीले छोराको हात समाएकी थिइन्।

मानौँ यो हात समाई उनीहरुको सम्पूर्ण जीवन हो। उनीहरुले पुरै पेटी छेकेका थिए। मानौँ यो पेटी उनीहरुकै हो। मनोरमा र बलभद्र आमने सामने भए। बलभद्रले श्रीमतीको हात छोडेर उनलाई नमस्कार गरे। परिचय पनि गराए। उनले गौर गरेर हेरिन्। उनकी दिलमायालाई जिस्क्याउने एउटा बलभद्रको कान्छो छोरो नै थियो।

उनले भनिन्ः ‘यो बाबु त काट्टिकुट्टी तपाईँ जस्तै रहेछ’। बलभद्रको हात नजानिँदो पाराले जुँघामा पुग्यो। श्रीमती कति राम्री नि। चारैतिर खुलेको। रातो सिँदुर, चुरा, टीका, पोते र उन्मुक्त हाँसो। भाग्यमानी हुन्। बलभद्रकी श्रीमती देख्दा उनलाई आफ्नै सौता देखे जस्तो लाग्यो।

०००००००

अफिस सकेर मनोरमा घर आइन्। दिलमायाले चिया टक्य्राई। खाना खाएपछि कोठामा पसिन्। डबल पर्दा लगाइन्। चुकुल लगाइन्। सबै बत्ती बालिन्। कोठा झिलिमिली भयो।  बिजुलीको प्रकाशमा टलक्क टल्कियो। अनि आफ्ना सम्पूर्ण कपडा खोलिन्। उनी सर्वाङ्ग नाङ्गी भइन्। र आफूलाई कोठाको पूर्ण कद देखिने ऐनाका अगाडि उभ्याइन्।

अहो, कपाल तिलचामले भइसके छ। अनुहारमा कतै कतै मुजा परिसकेछ। सिउँदोमा सिँदुर नभएकाले फुङ्ङ देखिएको थियो। अनुहारमा कुनै आकर्षण थिएन। आँखा उदास थिए। गलामा पोते थिएन। मङ्लसूत्र थिएन।

उनलाई लाग्यो उनका भर्जिन वक्षस्थलहरु पनि अलि झोलिएका छन्। पेट खान नपाए जस्तो चाउरी परेको छ। नाइटो त्यसै त्यसै चाउरिएको छ। तल्लो पेटमा मातृत्व झल्काउने धर्साहरु छैनन्। उनको जनाना अङ्ग भर्जिनमै बुढिएको छ र उदास छ।

मङ्गोल मूल भएकाले तिघ्रा तथा पिँडुलाहरु सिनित्त छन्। उनको शरीरमा शृङ्गारपेटार नखुलेको जस्तो लाग्यो उनलाई। समग्रमा उनलाई आफू कुरुप लाग्यो। लामो सुस्केरा हालिन्।

र बत्ती निभाएर डङ्रङ्ग ओछ्यानमा पल्टिइन्। निद्रा लागेन। फेरि उठिन्। बत्ती बालिन्। कोठा फेरि झलमल्ल भयो। उनले ऐनामा फेरि उही कुरुप शरीर देखिन्। तौलियाले ऐनालाई छोपिन्।

उनले दराज खोलिन्। सिँगापुरबाट ल्याएको ब्लु लेभेल झिकिन्। र एक स्वाँठमा एक ग्लास रित्याइन्। फेरि अर्को ग्लास। फेरि अर्को ग्लास। अब उनलाई आफू भर्खरको लागेको छ। ऐनाबाट तौलिया हटाइन्। ऐना फेरि चम्क्यो। र आफूलाई हेर्न थालिन्। अनुहार चिल्लो छ।

आँखा मायालु छन्। केशराशी मिलेको छ। वक्षस्थलहरु एकाएक तन्दुरूस्त भएका छन्। गलाको सुनको सिक्री चमक्क चम्केको छ। नाइटो ‘सेक्सी’ भएको छ। तल्लो पेट मातृत्व देखाउन तम्तयार छ।

जनाना अङ्गले पनि हद बोलेको छैन। तिघ्रा र पिँडुलाहरु सर्लक्क यौन आमन्त्रण गरिरहेका छन्। उनी मङ्गोल सुन्दरी भएकी छिन्। उनलाई तरूनी भएको आभाष भएको छ।

र उनी एकलै भन्न थालिन्ः ‘ए नामर्द लोग्नेमान्छेहरु हो, किन भाग्छौ मसँग? ममा के कमी छ? ए बलभद्र, अचेल किन मेरो बाटो कुर्दैनौ? किन मलाई पाखुरामा च्याप्प समाउँदैनौ? किन मलाई जे पायो त्यही भन्दैनौ? किन मलाई आइ लभ यु भन्दैनौ? किन मलाई भगाउँदैनौ?’

०००००००

रातको सन्नाटामा उनका आलापहरु दिलमायाले पनि सुन्न सकिन। कुकुर भने भुकिरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *