हमासलाई समाप्त पार्ने आफ्नो लक्ष्यको नजिकै पुगेको इजरायलको दाबी
काठमाडौं । इजरायली सेनाले गाजामा आफ्नो सैन्य कारबाही हमासलाई ध्वस्त पार्ने लक्ष्यको नजिक पुगेको दाबी गरेको छ।
गाजामा इजरायली सेना र हमास चरमपन्थीबीच दुई महिनादेखि द्वन्द्व चलिरहेको छ । यस द्वन्द्वमा हालसम्म १८ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् भने ४५ हजारभन्दा बढी घाइते भएका छन् ।
इजरायलका सेना प्रमुख जनरल हर्जी हेलेवीले सैनिकहरूलाई सम्बोधन गर्दै हमास विघटन हुँदै गएको संकेत देखिएको बताए।
उनले सैन्य कारवाहीलाई थप तीव्रताका साथ अघि बढाउनुपर्ने बताए ।
दक्षिणी गाजाको खान युनिस सहरमा इजरायल र हमासबीच भीषण युद्ध चलिरहेको छ ।
बीबीसी संवाददाताका अनुसार इजरायलले खान युनिसको मुख्य इलाकामा बस्ने मानिसहरूलाई सहर खाली गर्न भनेको छ।
खान युनिसमा गए राति भीषण बमबारी भएको थियो । यसैबीच, इजरायली सेना प्रमुखले सैन्य कारबाहीलाई थप तीव्र बनाइने बताएका छन् ।
संयुक्त राष्ट्र संघका एक उच्च अधिकारीले गाजाको आधा जनसंख्या भोकमरीको सिकार भएको बताएका छन् ।
जेरुसेलममा उपस्थित बीबीसी संवाददाता योलान्डे नेलका अनुसार प्रत्यक्षदर्शीहरूले खान युनिसमा गएको रात ‘आतंक र डर’को रात भएको बताएका छन्।
रातभरि बम विष्फोट र भीषण लडाईको आवाज जारी रह्यो।
हमासले रफाह जाने बाटोमा भीषण लडाई सुरु भएको बताएको छ । यो गाजाको सबैभन्दा दक्षिणी क्षेत्र हो र लाखौं प्यालेस्टिनी अन्य क्षेत्रबाट भागेर यहाँ पुगेका छन्।
यसैबीच, इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलतर्फ जाने कुनै पनि जहाजलाई निशाना बनाउने चेतावनी दिएका छन् र यस क्षेत्रमा द्वन्द्व फैलिने सम्भावना बढेको छ।
Facebook Comment