पुर्णेन्दुले घोषणा गरे रोमान्टिक ड्रामा
काठमाडौं। फिल्म ‘संरक्षण’ मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक पुर्णेन्दु झाले ‘चौका दाउ’ पछि तेस्रो फिल्मको तयारीमा जुटेका छन्।
पाँच वर्षको विश्राम पश्चात उनले नयाँ फिल्म रोमान्टिक ड्रामाको तयारीमा जुटेका हुन्। वर्किङ टाइटल ‘पिजे ३’ राखिएको फिल्म घोषणा गर्दै उनले प्रेम कथालाई राधा र रुक्मिणीको माध्यमले व्यक्त गर्ने बताए।
‘यो युवापुस्ताको प्रेम कथा हो । यसमा राधा र रुक्मिणी दुवैको व्यक्तित्वसँग पात्र प्रभावित हुनेछन्। यसलाई एक वाक्यमा प्रेम, समर्पण र इर्ष्या भन्न सकिन्छ’, निर्देशक झाले भने। उनले आउँदो वर्ष सन् २०२४ मै फिल्मको छायांकन गरेर सोही वर्ष हलमा प्रदर्शन गर्ने तयारी गरिएको जानकारी दिए।
कजेल अफ फिल्म स्टडीजको पहिलो ब्याचको रुपमा परिचित निर्देशक झाले सर्ट फिल्म ‘अपवाद’ मार्फत निर्देशकीय यात्राको सुरुआत गर्दा नै सम्भावना बोकेको निर्देशकको रुपमा चित्रण गरिएको थियो। त्यसैले उनले तेस्रो फिल्ममार्फत परिपक्कता देखाउनु पर्ने बुझेका छन्।
‘फिल्ममार्फत उठान गर्न लागेको विषयसँग धेरैले रिलेट गर्नु हुन्छ भन्ने लागेको छ । यसलाई हतार नगरी आफ्नो तरिकाले निर्माण गर्ने तयारीमा छु । यसको स्क्रिप्टमै दुई वर्ष भन्दा बढी समय खर्चिएको छु’, निर्देशक झाले भने ।
हाल उनले टाइटल समेत घोषणा नगरेर थिम पोस्टर मात्र सार्वजनिक गरेका छन् । उक्त पोस्टरमा प्रयोग गरिएका शब्द र कलरले आफ्नो कथाको आभाष दिने उनको भनाई छ।
नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण हुने फिल्म नेपालको कम्पनि पुर्णेन्दु प्रोडक्सन्स र भारतीय एक कम्पनिसँगको सहकार्यमा निर्माण हुने जानकारी निर्देशक झाले दिए ।
उनले भने, ‘अघिल्ला दुई फिल्म निर्देशनको सिकाईमार्फत प्राप्त गरेको अनुभवलाई नयाँ चलचित्रमा प्रयोग गर्दैछु । किनकि यसपटक आम दर्शकलाई मन पर्ने फिल्मी कथा तयार भएको छ ।’
Facebook Comment