बंगलादेशमा जेलमा थुनिएका विपक्षी दलका पाँच कार्यकर्ताको मृत्यु, हजारौं पक्राउ

डिसी नेपाल
२५ मंसिर २०८० ११:००

काठमाडौं । समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार बंगलादेशमा विगत दुई हप्तामा जेलमा रहेका पाँच विपक्षी सदस्यको मृत्यु भएको छ। यो जानकारी अधिकारी र मृतकका आफन्तले दिएको हो ।

आइतबार बंगलादेशमा विपक्षीले प्रदर्शन गरे र लाखौं मानिस सडकमा निस्किए। बंगलादेशमा अर्को महिना आम निर्वाचन हुँदैछ ।

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले जनवरी ७ मा हुने आम निर्वाचन बहिष्कार गरेको छ ।

यस्तो अवस्थामा वर्तमान प्रधानमन्त्री शेख हसिनाको सत्तामा पुनरागमन लगभग निश्चित मानिएको छ ।

पछिल्लो पाँच हप्तामा आफ्ना सबै नेतासहित करिब २० हजार कार्यकर्ता पक्राउ परेको बीएनपीले जनाएको छ ।

अक्टोबर २८ मा बिएनपीले राजधानी ढाकामा विशाल जुलुस निकालेको थियो । त्यसयता बंगलादेशमा विपक्षी नेताहरु पक्राउ परेका छन् ।

तर प्रहरीले पक्राउ परेकाको संख्याबारे बीएनपीले गरेको दाबीलाई अस्वीकार गरेको छ । तर, जम्मा कति जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छैन ।

आइतबार ढाकाको मध्यवर्ती क्षेत्रमा बिएनपीका हजारौं कार्यकर्तासहित पक्राउ परेकाका आफन्तले रिहाइको माग गरेका थिए ।

गत महिना न्यूयोर्कस्थित मानवअधिकार संगठन ह्युमन राइट्स वाचले अक्टोबर २८ को र्‍यालीदेखि बंगलादेशमा कम्तिमा १० हजार मानिसलाई हिरासतमा राखिएको बताएको थियो।

र्‍यालीपछि भएको हिंसामा एक प्रहरी र पाँच सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ । करिब तीन सय बसमा आगजनी गरिएको छ ।

तर, बीएनपी र बंगलादेशको सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात–ए–इस्लामीले हिंसाका क्रममा कम्तीमा २० जनाको ज्यान गएको बताएको छ ।

बीएनपीका कानुनी मामिला प्रमुख केसर कमलले एएफपीलाई भनेअनुसार पार्टीले विगत दुई हप्तामा हिरासतमा रहेका आफ्ना कम्तीमा पाँच कार्यकर्ताको मृत्यु भएको पुष्टि गरेको छ।

“हामी यी मृत्युहरूको स्वतन्त्र न्यायिक अनुसन्धान चाहन्छौं,” उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *