कविता : व्यथा

शंकरप्रसाद रिजाल
२५ मंसिर २०८० १३:५५

म भित्रको ‘म’ भन लौ कहाँ छ
व्यथा विषे ढकमक्क ढाकिए छ

खोजी खोजी म अदम्य थाकें
जीवनको गहिराइमा झलमल्ल देखें

म भित्रको ‘म’ त बिशाल रहेछ
जसमा जे लेख्यो त्यही रहेछ

निश्पट्ट देख्छु अनि एक झल्को
औंल्याई हेर्दा ‘प्रभु’ पो रहेछ

व्यथा छ थुप्रो मुटुमा धसेको
आँसु बर्गा अबिरल बसेको

खुत्रुक्क फोटो मनमा खसेको
कहिल्यै नरोक्ने मन यो बगेको

शरीर चिन्ता मनमा बढेको
व्यथा यो चर्को तनमा अडेको

म रोक्छु भन्दा किन बढ्छ फेरि
म छेक्छु भन्दा किन लुक्छ फेरि

अदृश्य शक्तिको पूँज रहेछ
म भित्रको ‘म’ त आगो रहेछ

पानी म खोज्छु यसलाई सिच्न
रहेछ यसमै यसलाई निभ्न

शरीर पोल्ने मन नै रहेछ
शरीर गल्ने मन नै रहेछ

हिंसा र हत्या तनमै रहेछ
फेरि बिबेक बुद्धि मनमै रहेछ

व्यथा र चिन्ता यसमै रहेछ
म भित्रको ‘म’ मा प्रभु पो रहेछ

खाली रहेछ मनको बिरासत
म भित्रमा त प्रभुनै रहेछ

व्यथा पलायो मनको मतिमा
व्यथा बिलायो मनकै गतिमा

म देख्छु सारा सब झल्लमल्ल
रोइ कराई सब अल्लमल्ल

कथा छ सुल्टो व्यथा छ उल्टो
को सुत्छ कोल्टो को फेर्छ कोल्टो

निदाउने छ मनभित्र अर्को
देखिन्न सारा मनभित्र केही

व्यथा छ एउटै मनभित्र त्यही
कहाँ छ कुन्नि मनको उज्यालो
कथा व्यथा भो मनको दियाला




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *