शंकालु प्रसादको हवाई यात्रा

कपिल लोहनी
३० मंसिर २०८० ८:००

हरेक कुरामा शंका गरेर चिन्तित भइरहने शंकालु प्रसाद केही दिनदेखि पुनः चिन्तामा डुबेको छ। यसपालीको चिन्ताको विषय काठमाडौँबाट विराटनगरसम्मको हवाई यात्रा।

एउटा काम विशेषले ऊ यो हप्ता विराटनगर नगई नहुने भएको छ। बस चढेर जाउँ भने लामो टिठ लाग्दो यात्रा र त्यस माथि कतै पनि गतिलो सडक छैनन् हाम्रो नेपालमा। अब हवाइजहाजमा जाउँ भने नेपालको हवाई सुरक्षा ज्यादै कमजोर भनेर अन्तर्राष्ट्रिय निकायले नै भनिरहेको अवस्था।

अनि हवाई दुर्घटना पनि त भइ नै रहेका छन् नी अन्य मुलुकमा भन्दा पनि बढी संख्यामा। यात्रा गर्न ऊ निकै रुचाउने मान्छे तर आवत जावत गर्न कुनै यातायातको साधन पनि गतिलो नभएको अवस्था। यही सोचमा ऊ विगत एक हप्तादेखि त्यसै त्यसै अन्यौलको भुमरीमा रुमल्लिइ रहेको छ।

केही दिन अघि आधा रातमा ऊ झसङ्ग भएर बिउँझियो। ऊ चढेको हवाइजहाज सिधै पानीमा गएर खसेको र ऊ पानीमा निसास्सिँदै पौडी खेलेर तालको किनारामा आइपुगेको सपना देखेको रहेछ। जाडोको मौसममा पनि पसिना पसिना भएर सुतिरहेको रहेछ।

उसलाई यस्ता नचाहिँदा शंकाका कारण उठ्ने तरङ्ग र चिन्ता बारेका कुरा ऊ कसैलाई पनि भन्दैन, सबैको हँस्सीको पात्र भइने आशंकाले। शंकै शंका। त्यसैले यस्तो बेला ऊ आफ्नो कोठामा रहेको शौचालयमा गएर त्यहाँ रहेको ऐनामा आफ्नै मुहारसँग कुरा गर्ने गर्दछ।

आफैं प्रश्न गर्छ र जवाफ पनि आफैं। मनमा लागेका सबै कुरा ओकलेर ऐनामा रहेको आफ्नै मुहारलाई सुनाउँछ, मानौँ कि त्यो ऐना बहादुर कुनै अति अनुभवी सल्लाहकार हो कि सरी।

आज पनि ऊ आधारातमा उठेर एकछिन टोलाए पछि बाथरुमको ऐना बहादुरको अगाडि उभिन्छ। ऐनाले पनि ‘के भो तँलाई? किन यति राति आइस्?’ भन्छ। निन्याउरो मुख लगाएर शंकालु प्रसादले आफू विराटनगर जानु पर्ने तर उडेर वा गुडेर जसरी जान पनि आफूलाई निकै डर लाग्ने कुरा बतायो।

उसको कुरा सुनेर ऐना बहादुरले हाँस्दै ‘उसो भए हिँडेर जा न त!’ भनेर उसलाई गिज्याउँछ। शंकालु प्रसाद पनि आफूलाई यस्तो तनाव भएको बेलामा झनै ऐनाले ठीक सल्लाह दिनुको सट्टा गिज्याएकोमा ठुस्स ठुस्किन्छ।

अनि ऐनाले उसलाई भन्छ, ‘संसारमा दिनमा लाखौँ, करोडौँ मानिसले विश्वभर हवाई यात्रा गर्दा यदाकथा सानाठूला कुनै विमान दुर्घटना भएर केही व्यक्ति मरे भन्दैमा तँ दिनहुँ हवाइजहाजले मान्छे खान्छ र यसपाली आफैंलाई पनि खान्छ भन्ने डरले किन ग्रस्त भएर बस्छस्? कदाचित करोडौँ यात्रुमा यसपाली तेरै माथि जाने पालो रहेछ भने पनि के गर्न सकिन्छ त? कति मानिस दुई तिन पटक विमान दुर्घटनामा परेर त बाँचेका छन्। फेरि चाँडै मर्दैमा र धेरै बाँच्दैमा के नै हुने वाला छ र? के थाहा, चाडै मरे नै राम्रो हुने हो कि! हामी यो अनौठोको लोकमा भुलभुलैयामा नै छौँ बुझिस्। अब खुरुक्क हवाइजहाजको टिकट किनेर जा, होइन भने मोटरबाटोको लामो यात्रा गरेर जा, यो भन्दा बढी म के भनुँ ! डरपोक कहीँ को’।

ऐना बहादुरको सल्लाहमा सहमति जनाउँदै शंकालु प्रसाद डरै डरले जम्मा भएको मुत्र त्याग गरेर आफ्नो न्यानो बिछौनामा सिरक ओढेर पल्टन्छ र एकैछिनमा निन्द्रादेवीको काखमा बसेर मिठो उडान भर्न थाल्छ। तर एकैछिनमा कालो बादल र आँधी बेहरी बीच ऊ सपनारूपी पुष्पक विमानबाट सिधै एउटा खोँचमा खस्न पुग्छ।

‘मरेँ मरेँ मरेँ’ भनेर उ उठ्छ। ए! भयानक सपनाबाट ठूलो मुक्ति मिलेको अनुभव। करिव एक वर्ष पहिले यसैगरी यतिको ढाडमा बसेर उडेका यात्रुलाई यतिले ठूलो छलाङ मारेर सिधै सेतीको खोँचमा हुलेको कुरा उसले बिर्सेको छैन। त्यो दिन त खुला आकाश, घमाइलो दिन र माछापुच्छे्र पनि प्रसन्न मुद्रामा देखिएको बेला।

कहिले खराब मौषमको कारण त कहिले खटारा विमान भएर वा अत्यधिक भार बोकाएको कारण दुर्घटना। तर धेरैजसो चालक र विमान कम्पनीको लापरवाही कै कारण। नयाँ अनुहारले मात्र होइन, विगत केही समयमा त अति अनुभवी चालकले पनि खै के कसरी हो दुर्घटना निम्त्याएका।

कसैले पहाड नै ताक्ने त कसैले खोँच। कसैले बहुलट्टीको भरमा धावनमार्गमा नै विमान पछार्ने त कसैले आफ्नी विमान चालक प्रेमिकाले अर्कैसँग मगनी गरी भनेर उसैको साथमा ‘सँगै मर्ने’ भन्दै बिचरा यात्रुहरूलाई समेत जन्त जान लागेको जसरी पहाडमा बजारेर माथि लाने।

अनि आकाशमा उडिरहेको जहाजको झ्याल नै खस्ने जस्ता लापरवाही। शंका प्रसाद सानो छँदा त एकचोटी राष्ट्रिय ध्वजावाहकको इमर्जेन्सी ढोका भएको सिटमा बसेर हिमालको तस्विर खिचिरहेको जापानी सो ढोका नै आफैं खुलेर खसेपछि आत्तिएर क्यामेरा पनि हावामा नै खसालेर जहाजमा नै बेहोस भएको थियो अरे। यो सब सम्झेर शंकालु प्रसादको हङ्सले ठाउँ छोडेको छोड्यै छ।

भोलिपल्ट बिहान उठेपछि कोठाको झ्यालबाट खुला आकास देखेर र राति ऐनाबहादुरले पनि उचित सल्लाह दिएकोले दंग परेको शंकालु प्रसादले अनलाइनबाट नै एकदिन पछिको सिद्धार्थ गौतमको हवाइजहाजको बिहानीको टिकट किन्दछ अनि मालमत्ता मिलाउन व्यस्त पनि हुन्छ। आकाशमा सिद्धार्थका जहाज देख्ने वित्तिकै आफू त्यसमा सवार भएको कल्पना गर्न थाल्छ र कहिले खुशी हुन्छ त कहिले अत्तालिन्छ।

उ सानो छँदा उसका पिताले हवाइजहाज चढेको, विभिन्न शहर र वस्तीका फोटा जहाजबाट नै खिचेका तथा जहाजभित्र घटेका विभिन्न खाले किस्साहरू सुनाएको कुरा निकै आनन्दित मुद्रामा सम्झन थाल्छ।

क्याप्टेन बबी शाहले हवाइजहाजको ककपिटको झ्यालबाट कुपण्डोलको घरको कौसीमा उभिएर आकाशमा हेरिरहेकी पत्नीलाई हात हल्लाएको, पाइलट किङले पहाडमा छुवाउँला छुवाउँला जस्तो गरेर डकोटा विमान उडाएर सबैको कपालको रौँ ठाडो पारिदिएको र एकचोटी त पहाडमा नै ठोकेर मरेको र नरप्रताप थापा चढेको विमान बतासे डाँडामा ठोक्किएर टुक्रा टुक्रा भएका सत्य कथाहरू पनि उ सम्झिन थाल्दछ।

बिराटनगर जाने दिन बिहान सबेरै उठेर नित्यकर्म पश्चात घरको पूजाकोठामा देवीदेवतालाई सम्झेर उ विमानस्थलतिर प्रस्थान गर्दछ। आकाश सफा र निकै रमाइलो दिन। विमानस्थलसँगै रहेको पशुपतिनाथको मन्दिरतिर हेर्दै आफ्नो यात्राको सफलताको कामना गरेर उ विमानस्थलको आन्तरिक टर्मिनल भित्र पस्छ।

उ जस्तै धेरै यात्रुहरू विभिन्न गन्तव्यमा जानको निम्ति विमानसेवाहरूका सम्बन्धित काउण्टरमा लामवद्ध भएर उभिइरहेका। उसले पनि सिद्धार्थ गौतमको बिराटनगर काउण्टरमा गएर सामान बुझाउँदै ‘झ्यालको सिट दिनुस् है’ भन्छ। अनि ङिचिक्क रुन्चे हाँसो हाँसेर बोर्डिङ पास हातमा समाउँदै सुरक्षा जाँच पास गरेर भित्र यात्रु प्रतिक्षालयमा गएर बस्छ। पहिले पहिलेको भन्दा ज्यादै आरामदायी।

मुफतको वाईफाईको आनन्द लिइरहेका। छिमेकी मुलुकका यात्रुहरू झोला भरीको केरा खाएर भोक मेटाइरहेका। शौचालय पनि सफासुग्घर। विदेशीले खाएको कफी र चकलेटको बासना आइरहेको। अर्कै दुनिया।

निर्धारित समयमा नै विमानतर्फ लग्ने काम पनि भयो। तर शंकालु प्रसाद सिटमा गएर बसेर विमान उड्नु भन्दा पहिले गर्ने प्रार्थना पनि सकेर तयारी अवस्थामा बस्दा पनि विमान उड्ने छाँटकाँट नै छैन।

विमानभित्र धेरैले मोवाइल फोनबाट आफ्ना घरका र गन्तव्यका मानिसहरूसँग कुरा गरिरहेको शंकालु प्रसादको कानमा गुञ्जिन थाल्दछ। त्यस्तै बेला एकजना परिचारिका आएर यात्रुहरूलाई बिराटनगर र त्यो क्षेत्रका अन्य विमानस्थलहरू मौसमको कारण बल्ल खुल्न थालेकोले विमानहरू पालै पालो उड्नु पर्ने भएकोले सो जहाज उड्न अझै आधा घण्टा भन्दा पनि बढी समय लाग्न सक्ने र त्यतिबेलासम्म जहाजमा नै बसिरहनु पर्ने कुरा बताइन्।

एकैछिनमा जहाजमा आक्रोशको कोलाहल शुरु भयो। ‘कहिल्यै समयमा उड्दैन, यस्तो हो भने हामीलाई विमानमा छिटो ल्याएर किन कोचेको?’ जस्ता प्रश्न गर्न थाले यात्रुहरूले भने सबैजसाले पुनः आफन्तलाई फोन गरेर ढिलो भएको जनाउ दिन थाले। विमान परिचारिका भने यात्रुहरूलाई थम्थम्याउनको निम्ति नआत्तिइकन पानी बाँड्नमा व्यस्त हुन थालिन्। उनी यस्तो परिस्थितिसँग जुध्न अभ्यस्त भइसकेकी देखिन्छिन्।

शंकालु प्रसादले पनि एक ग्लास पानी पियो अनि नाना थरीको शंका गर्न थाल्यो। उसको मोवाइल फोनको क्यामरा खोलेर आफ्नो मुहार हेर्दा ऐना बहादुरले उसलाई ‘फेरि शंका गर्न थालिस् होइन? जाडोमा कुहिरो लागेर तराइको विमानस्थल खुल्न समय लागिहाल्छ नि’ भन्यो।

शंकालु प्रसादले ऐना बहादुरलाई प्रतिप्रश्न गरिहाल्यो, ‘उसे हामीलाई हतार गरेर किन हवाइजहाजमा कोचेको त?’ ऐना बहादुरले मधुर मुस्कानका साथ जवाफमा भन्यो, ‘बिहानीको समयमा कति धेरै उडानहरू हुन्छन्, यसरी विमानस्थलहरू खुल्न केही समय लाग्ने भएपछि विमानस्थलको यात्रु कक्षमा यात्रुहरूको धान्नै नसक्ने भिड लाग्न थाल्छ।

त्यसैले बरु आधा-एक घण्टा उड्न तयार भएका विमानहरू भित्रै यात्रुहरूलाई राख्दा यात्रु प्रतिक्षालय होलो हुन्छ के। के गरोस् त हामी जस्तो गरीव देशको सानो विमानस्थलले?’। शंकालु प्रसादले जवाफ खस्न नपाउँदैमा अर्को प्रश्न राख्यो, ‘अनि उताका विमानस्थल खुले पछि एकै पटक दर्जर्नौँ विमान उडेर ओहोर दोहोर गर्दा बीच आकाशमा नै जुध्ने डर हुँदैन त? मलाई त एकदम डर लागिरहेको छ।’

ऐना बहादुरले ‘थुईँक्क मुला शंकालु डरछेरुवा! विमानस्थलको टावर र विमान कम्पनीहरूले समन्वय नै नगरी विमान उडाएका हुन्छन् त? दुई विमान बीचको तेर्सो र उँचाईको दुरी सुरक्षाको मापदण्ड मुताविक निर्धारण गरिएको हुन्छ भने आधुनिक सञ्चार र प्रविधिको प्रयोगले उडानलाई सुरक्षित पनि पारिएको हुन्छ । त्यसै बुझो न सुझो शङका गर्न थाल्छ मुला!’ भन्दै हप्काए पछि शंका प्रसाद अक्क न वक्क हुन पुग्यो।

उता एकजना बुढी आमाले आफन्तको फोनको जवाफमा ‘जहाज उड्न ढिलो भइरहेको छ। हामी जहाजभित्रै छौँ तर डाइबर नानी आइपुगेकै रहेनछ’ भनेर ठूल्ठूलो स्वरमा भनिन्। सबै गललल्ल हाँस्न थाले।

अर्को एकजना बुज्रुकले तत्काल कुरा थपिहाल्यो, ‘आमै, डाइबर त आइसकेको थियो तर जहाजको साँचै ल्याउन बिर्सेछ। घर गएको, जाममा परेको छ रे।’ फेरी हाँसोको फोहरा। यसपाली त विमान परिचारिकाले पनि हाँसो रोक्न सकिनन्।

आखिर आधा घण्टाको पर्खाइ पछि जहाज उड्यो। काठमाडौँको गुजुमुज्ज परेका घरैघर र गोकर्णको जङ्गल छिचोल्दै माथि माथि उड्न थाल्यो जहाज। केही बेर त शंकालु प्रसाद डरले विमानको सिट च्याप्प पक्रेर बसिरहेको थियो।

निकै आरामदायी उडान भरेर विमान बिराटनगर विमानस्थलमा अवतरण गर्‍यो। अब को पहिला विमानबाट उत्रने भनेर तँछाड मछाड हुने स्थिति आउन लाग्यो। परिचारिकाको हस्तक्षेप पश्चात भने सबैजना संयमित भएर आआफ्नो पालो पर्खेर उत्रन थाले।

‘ओहो गर्मी नै रहेछ यहाँ त, कहीँ डेङ्गुले पो भेट्ने हो कि।’ शंकालु प्रसादले मनमनै लख काट्न थाल्यो। सामान छुटाउने ठाउँमा कन्भेयर बेल्ट जडान गरेर छिटो छरितो रूपमा सामान हात परेको देखेर शंकालु प्रसाद खुशी भयो।

बिराटनगरको काम सोही दिन सकेर शंकालु प्रसाद भोलिपल्ट दिउँसोको उडानबाट काठमाडौँ फर्कने भयो। बिहानको आरामदायी उडानले दङ्ग परेको उसले आज कसैलाई वा कुनै कुरामा पनि शंका गरेन।

भोलिपल्ट बिहानको मन्दिर भ्रमण र हिँडाई तथा केही मिठाई खरिद पश्चात उ विमानस्थल तर्फ लाग्यो। पहिले भन्दा निकै व्यवस्थित बनेको बिराटनगरको विमानस्थलभित्र भएको क्याफेमा कफीको आनन्द लिएर केही बेर त्यहाँको रमिता पनि हेर्न भ्यायो उसले।

काठमाडौँ फर्कने उडान पनि डेढ घण्टा जति ढिलो। मोटरगाडीबाट ओहोर दोहोर गरौँ भने कतैको बाटो पनि गतिलो छैन र धुलैधुलो र खाल्टाखुल्टी तथा डरलाग्दा घुमाउरा मोड र भिरमा अति कम उमेरका उरण्ठ्यौला ठिटाहरूले गाडी दौडाउँदा घर पुग्ने आशा झनै मत्थर हुने र दिनभरको जटिल यात्रा पश्चात घर पुगेपछि पनि केही दिन शरीरका अंग अंग दुखेर बिरामी नै परिने। त्यसैले शंका प्रसाद आज कुनै शंका र चिन्ता बिना जे जसो हुन्छ, सबै बेहोरुँला भन्दै कुनै कुराको सुर्ता नलिई आनन्दले घर फर्किने मुडमा छ।

आखिर केही समयको पर्खाई पछि जहाज उड्यो पनि। हिमाल हेर्दै उ दङ्ग परिरहेको थियो। तर विमानको झ्याल त्यति सफा नभएकोले उसले खिचेका हिमालका फोटा धमिला आए। ठाउँ ठाउँमा ससाना शहर र बस्ती देखिए पनि उसले तिनलाई ठीकसँग ठम्याउन सकेन।

तर एक डेढ वर्ष जतिको अन्तरालमा विभिन्न पहाडका टुप्पामा भने टावर जस्ता आकृति देख्यो उसले। कुनै कुराको शंका नगरे पनि उसले मनै मनमा ओलीबाको पालामा शुरु गरिएका करोडौँ रुपैयाँमा बनेका तथाकथित विकासे भ्यू टावरहरू मध्येका नै हुन् कि यी पनि भन्ने कुरा गुन्यो।

आखिर ती टावर बने पनि के र नबने पनि के। जनताको पेटमा माड र आङमा कपडा तथा बस्ने पक्की घर र इलम गर्ने शिप र रकम पो त महत्वपूर्ण कुरा हो भन्ने कुरा उसको लाटो दिमागले पनि सोच्न थाल्यो।

अवतरण गर्ने विमानहरू लाम लागेर उत्रिरहेका छन् भन्ने चालकको सन्देश पछि काठमाडौँ उपत्यका बाहिरै तिन चक्कर खाएर विमान त्रिभुवन विमानस्थलमा उत्रियो।

विमानबाट उत्रेपछि शंका प्रसाद बिछट्टै खुशी भयो। बसमा चढेर सामान लिने ठाउँमा पुग्दा सञ्जिकालमा विभिन्न ठाउँबाट एउटै समय धेरै विमान आएकाले निकै भिड। केही समय अघिसम्म कन्भेयर बेल्ट नहुँदाको समयमा हुने भिड र चरम अव्यवस्थालाई चटक्कै बिर्सिएर केही स्वदेशी तथा विदेशमा बस्ने नेपाली यात्रुहरूले सरकारलाई गाली गरिरहेका। आखिर पहिले भन्दा निकै सुधार भएको कुरालाई त मान्नु पर्‍यो नि।

सामान हात नपरुञ्जेलसम्म त्यहीँ रहेको क्याफेबाट कफी तथा हल्का खाद्य पदार्थ पनि खान सकियो र शौचको निम्ति सफा शौचालय पनि बनेकै छ त्यहाँ। विदेशमा बस्ने केही नेपालीले हाम्रो विगत बुझेर र यहाँको गञ्जागोलमय जीवन व्यतित गरेर विदेशमा बसोबास गर्न गएको केही समय मात्र भएको भएता पनि आफू पुरै विदेशी भइसकेको अभिनय गर्दै आफ्नै मातृभूमिको खराब व्यवस्थापनलाई सत्तोसराप गरिरहेको देख्दा शंकालु प्रसादलाई निकै अचम्म लाग्यो।

नेपालले बाहिरी संसारसँग खुला भएको र विदेशी चालचलन र संस्कार सिक्न थालेको ७३ वर्ष मात्र भयो भने नेपालीहरू ठूलो संख्यामा विदेशमा गएर बसोवास गर्न थालेको पनि त्यस्तै ३-४ दशक मात्र भयो। कति छिटो उनिहरूमा विकसित राष्ट्रका नागरिक हौँ र यी आफ्नै दौँतरी नेपाली र यहाँका व्यवस्थापकीय निकाय पाखण्डी हुन् भन्ने दम्भ पलायो होला भन्ने उसलाई लाग्यो ।

वौद्धिक स्तरमा पनि पश्चिमा मुलुकका विद्वानहरू कै दाँजोमा पुगिसकेका भए त उनिहरूले घृणाले भन्दा पनि आफ्नो मातृभूमि नेपाललाई कसरी उँभो लगाउने भन्ने चिन्ताले आफ्नो तफृबाट पनि केही गर्थे होलान् भन्ने कुरा शंकालु प्रसादको मनमा उब्जन थाल्यो।

उसको ब्याग हात परेपछि शौचालयको ऐनामा उसले के मुख हेरेको मात्र थियो, ऐना बहादुरले ‘ज्यादा सोच्ने होइन, अब घर जा! विदेशमा बस्ने अवसर पाइस् भने तँ पनि कुन अर्कै ड्याङको मुला होस् र? तँ पनि बाङ्गिँदैनस् भन्ने ज्ञारेण्टी के? ल घर जा अब।’ भनेर हप्कायो। लुसुक्क परेर झोला गुडाउँदै उ बाहिरको साँझको चिसो स्याँठमा निस्कियो।

विमानस्थलबाट घर फर्केर केही बेर सुस्ताए पछि उ मुसुक्क सफलताको हाँसो हाँसेर बाथरुमको ऐनाको अगाडि उभिन्छ। ‘बुझिस्! तेरो सल्लाह मुताविक नै हवाइजहाजमा विराटनगर ओहोर दोहोर गरेँ अनि सही सलामत नै फर्केँ।’ ऐना बहादुरले पनि मुस्कुराउँदै भन्यो, ‘तँ सही सलामत आइस् भन्ने कुरा त मेरो अगाडि उभिएपछि नै थाहा पाइहालेँ नि लाटा! यसपाली डर र शंका चाहिँ त्यही हवाइजहाजमा नै छोडेर आइस् होला नि त!’ शंकालु प्रसादले पनि जवाफ दियो, ‘हो नी, अब त भोलि नै पोखराको लागि पनि उडुँ जस्तो लागेको छ हा हा !’ ‘ल ल उड्,। रमाइलो गर्। डर र शंकालाई सदाको निम्ति भगा!’ ऐनाले भन्यो।

बेलुकी यात्रा सफल भएको खुशीयालीमा शंका प्रसादले एकाध पेग ह्विस्की पिउँछु भनेको त हौसला बढ्दै गएर निकै धेरै पो पिएर सोफामा नै सुतेछ। आधा रातमा उठेर दुखेको टाउको समाउँदै उ फेरि ऐना बहादुरको सामुन्ने गएर ‘धेरै घिचेछु, टाउको दुखेर छुट्टी छ’ भन्छ। ऐना बहादुरले पनि ‘सानो सानो कुरामा शंका गर्ने, छिनमा आत्तिने, छिनमा मात्तिने र छिनमा पात्तिने तँ जस्ता मान्छेले कहिल्यै उन्नती गर्न सक्दैनन् जीवनमा लोदर!’ भन्छ।

यस्तो गाली सुनेर शंकालु प्रसादले ऐना बहादुरसँग अब आइन्दा कहिल्यै रक्सि नखाने प्रण गर्छ। उसको कुरा सुनेर ऐना बहादुरले ‘तेरा यस्ता सधैँको जस्तो धरमर कुरा सुनेर मेरो कान पाकिसक्यो। कुकुरले गुहु खान छोड्नु र तैँले कुकुरको मुत खान छोड्नु उस्तै उस्तै हो भैरे।

यस्ता कुरा मसँग नगर, गइ हाल् ’ भन्यो। ऐना बहादुरको यस्तो कुरा सुनेर शंका प्रसाद लाचार भएर लुरुक्क पर्दै खिसिक्क हाँसेर आफ्नो विछौनामा रहेको सिरक भित्र घुस्रिन्छ। न त उ शंका नै गर्न छोड्ने मान्छे हो, न नै उसले लाज पचाएर ऐना बहादुरको विशेषज्ञतापूर्ण सल्लाह लिन छोड्छ। यस्तै छ जीवनचर्या यी दुईको।

लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *