नेपाललाई ट्रान्जिट बनाएर कोकिन तस्करी, गन्तव्य दिल्ली
काठमाडौं। नेपाललाई ट्रान्जिट बनाएर तस्करी हुने अधिकांश कोकिनको गन्तव्य भारतको दिल्ली नै रहेको प्रहरी अनुसन्धानबाट देखिएको छ। लागुऔषध नियन्त्रण व्यूरोले गरेको अनुसन्धान अनुसार तस्करीमा अधिकांश भारतीय नागरिक नै प्रयोग भएका र नेपालको बाटो हुँदै नयाँ दिल्ली गन्तब्य देखिएको प्रहरीले जनाएको छ।
व्यूरोका अनुसार तस्करीमा खासगरी भारतको पूर्वोत्तर मिजोरमका नागरिक प्रयोग भएको देखिएका हुन्। यो विषयमा सरसरती अध्ययन अनुसन्धान गर्दा भारतमा ठूलो बजार रहेको र गरिबीका कारण तस्करीमा पनि मानिस बढी देखिएका छन्’, व्यूराका प्रवक्ता एसपी चक्रराज जोशीले भने।
लागुऔषध नियन्त्रण ब्युरोले पछिल्ला १० वर्षमा चलाएको २४ अप्रेसनमा ६५.७३६ किलो कोकिन बरामद गर्दा २९ अभियुक्त पनि पक्राउ परेका थिए। बरामद कोकिनमध्ये १८.३२ किलो दिल्ली लाने योजना रहेको खुलेको थियो।
जुन कुल बरामद परिमाणको २७.८६९ प्रतिशत थियो। त्यस्तै, १३.३६२ कोकिनको हङकङ लगिने योजनाको थियो। यो कुल बरामद परिमाणको २०.३२६ प्रतिशत हो। बाँकी ३४.०९ किलो कोकिन भने नेपाल, थाइल्यान्ड, इटाली, पाकिस्तानलगायत देशमा तस्करी गर्ने योजनाअन्तर्गत खुलेको व्यूरोले जनाएको छ।
‘नेपाललाई ट्रान्जिट बनाएर तस्करी हुने अधिकांश कोकिनको गन्तव्य भारतको दिल्ली नै रहेको देखिन्छ। तस्करीमा अधिकांश भारतीय नागरिक नै प्रयोग भएका छन’, एसपी जोशीले भने।
पछिल्लोपटक गत ४ मंसिरमा भारत मिजोरमकी ३२ वर्षीय किम्रो संगी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १.९७३ किलो कोकिनसहित पक्राउ परेकी थिइन्। उनले सुटकेसभित्र ‘फल्सबटम’ बनाई इथोपियाबाट कतार हुँदै कोकिन नेपाल ल्याएकी थिइन्, जुन भारतको नयाँदिल्ली लैजाने योजना थियो।
काठमाडौं झरेकै दिन उनी जहाजमार्फत भुटान जाँदै थिइन्। र, त्यहाँबाट दिल्ली उड्ने योजना थियो। कोकिन दिल्ली पुर्याएबापत किम्रोलाई तस्कर समूहले तीन लाख २० हजार दिने भएपनि उनी कोकिन लिएर दिल्ली जान तयार भएकी थिइन्।
भारत उत्तरप्रदेश अलिग्रहका ५१ वर्षीय रवीन्द्रकुमार परसरलाई गत ५ वैशाखमा प्रहरीले १.८० किलो कोकिनसहित ठमेलबाट पक्राउ गर्यो। सो कोकिन उनलाई केन्याली नागरिक ६३ वर्षीय पिलिसिला वान्जा दिरुतीले जहाजमा काठमाडौं ल्याएर दिएकी थिइन्।
सो कोकिन उनले दिल्ली लैजान खोजेका थिए। भारत मिजोरमकै ४५ वर्षीय बहलाल्लावमीलाई पनि प्रहरीले गत १४ चैतमा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्यो। उनीबाट २.८८७ किलो कोकिन पनि बरामद गर्यो।
कतारबाट इन्डिगो एयरलाइन्समा काठमाडौं झरेकी उनले उक्त कोकिन दिल्ली नै लैजान लागेकी थिइन्। चारवटा लेडिज ब्यागको ‘फल्सबटम’भित्र लुकाई ल्याइएकी थिइन्। गत १४ चैतमा प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलबाटै पाँच किलो कोकिनसहित २९ वर्षीया इस्टर लाल्हलिम्पुईलाई पक्राउ गर्यो।
ठमेलबाट पक्राउ परेकी उनी पनि भारत मिजोरमकै थिइन्। बरामद कोकिन उनले पनि दिल्ली नै लैजान लागेकी थिइन्। त्यस्तै प्रहरीले २.९६६ किलो कोकिन तस्करी घटनामा ९ भदौ ०७९ मा विश्वभाषा क्याम्पसमा अध्ययनरत तान्जेनियाली २६ वर्षीया गट्र्युड लियोनार्द किमोरलाई पक्राउ गर्यो।
सिन्धुली खुर्कोटबाट पक्राउ परेकी उनी कोकिन भारतको दिल्ली नै लैजाने तयारीमा थिइन्। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार २०२२ फेब्रुअरीमा क्याम्पस भर्ना भएकी उनी स्टुडेन्ट भिसामा दुई वर्षदेखि नेपाल बस्दै आएकी थिइन्।
क्षेत्रपाटीमा प्रतिमहिना २० हजार रुपैयाँ फ्ल्याट भाडामा लिई बस्दै आएकी उनी २०१९ मा टुरिस्ट भिसामा पहिलोपटक नेपाल आएकी थिइन्। प्रहरीका अनुसार यसरी भारत लैजान लागेको कोकिन बोक्ने पनि अधिकांश भारतीय नागरिक नै रहेका छन्।
Facebook Comment