ओझेलमा म्याग्दीको भाले बास्ने ताल, अझै पनि बिहान-बिहानै कुखुराको भाले बास्ने विश्वास

डिसी नेपाल
४ पुष २०८० १४:४९

म्याग्दी। राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा समेत चर्चित म्याग्दीको भाले बास्ने ताल अहिले पुग्न र देख्न पनि गाह्रो भएको छ ।

लोकसेवा आयोगले लिने परीक्षा र सामान्य ज्ञानका पुस्तकमा सोधिने उक्त ताल कुन जिल्लामा पर्दछ ? भन्ने प्रश्नको उत्तर ‘म्याग्दी जिल्ला’ भनिए पनि म्याग्देलीहरूकै लागि भने यो ताल लोपोन्मुख सम्पदा हुन लागेको छ।

मालिका गाउँपालिका–६ को दुखुबेँसीमा पर्ने यो ताल तीन वर्षअघि दुखुखोलामा आएको बाढीले पुरिएर साँघुरिएको छ। जङ्गल विस्तारका कारण वरिपरिको क्षेत्रबाट देख्नै नसकिने र कठिन पहरोलाई छिचोलेर पुग्नै नसकिने ठाउँमा यो ताल खुम्चिएको छ। स्थानीयवासीमा यो तालमा अझै पनि बिहान–बिहानै कुखुराको भाले बास्छ भन्ने विश्वास छ।

मालिका गाउँपालिका–६ मा पर्ने दुखुबेँसी गाउँ र मङ्गला गाउँपालिका–२ मा पर्ने सहश्र्रधारा गाउँबाट यो ताल भएको क्षेत्रमा पुग्न सकिन्छ। घना जङ्गलको बीचमा दुखु लेकबाट दुखु झरना झरेकोे छ। झरनाको दायाँतर्फ पर्ने जङ्गलमा मालिका देवीको पुरानो मन्दिर छ।

यही दुखु झरनाले मङ्गला र मालिका गाउँपालिकालाई छुट्याएको छ । दायाँतर्फ मालिका र बायाँतर्फ मङ्गला गाउँपालिका पर्दछ । दुवैतिर घना जङ्गल छ। झरनाको पुछारमा ताल र तालको सिरानमा मन्दिर छ।

यही मन्दिरको वरिपरि बिहानको मिर्मिरेमा भाले बास्ने भएकाले दुई शताब्दीअघिदेखि यस तालको नाम नै ‘भाले बास्ने ताल’ रहेको मालिका गाउँपालिका–६ निवासी देवी पुनले बताए।

यो ताल नेपालको आकर्षक तालको सूचीमा समेत रहे पनि दुर्गमस्थल स्थानीय निकायको बेवास्ताका कारण ओझेलमा परेको छ । पछिल्लो समय त ताल भएकै ठाउँ वरिपरिको जङ्गलमा पुग्दासमेत देख्न कठिन हुन थालेको दुखुबेँसीका युवा प्रितम पुनले बताए।

“स्थानीय निकायले यो ताल संरक्षणमा ध्यान दिन नसके यो ताल लोप हुने अवस्थामा पुगेको उनको भनाइ थियो।

यो तालको सिरानमा रहेको मन्दिर वरिपरिको जङ्गली क्षेत्रमा बिहान उज्यालो नहुँदै कुखुराको भाले कहाँबाट आउँछ अनि उज्यालो भएपछि त्यो भाले कहाँ जान्छ भन्ने विषयमा कसैलाई जानकारी नभएको स्थानीय बासिन्दाले बताए।

ताल अवलोकन गर्न स्थानीयवासीको सहयोगमा रासस प्रतिनिधि ताल नजिकको जङ्गल र तालको सिरानमा रहेको मन्दिरमा पुग्दा स्पष्टसँग ताल देखिएन । ताल भएको ठाउँ (दुखु झरनाको पुछार) पहरामा जोखिम मोलेर मात्र पुग्न सकिने स्थानीयवासी तिजा पाइजाले बताए। जंगलको बीचमा जंगली जनावर प्रशस्तै थिए। मन्दिरमा बिहान भाले बास्ने समयमा पूजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ। ताल आसपासमा देवताको शक्ति रहेको धार्मिक विश्वास छ।

दुई शताब्दीअघिको दुखुगाउँका नौ भाइमध्ये एक भाइले भरिया लिएर ताल अवलोकन गर्न गएछन् । ताल नजिकै एउटा घर देखेर राति त्यही विश्राम गरेछन्। बिहान कुखराको भाले बासेकोे आवाजले उनीहरु ब्युँझिँदा दुवै जना ढुङ्गामा सुतेको अवस्थामा आफूलाई पाएछन्। आफ्नो भाकल र पूजाआजा गर्न गएका ती व्यक्ति र भरिया डरले भागेर गाउँमा आएर उक्त घटना सुनाएछन् । सोही घटनाका आधारमा तालको नामकरण गरिएको बताइन्छ। ती व्यक्ति तालबाट फर्किएपछि लामो समयसम्म बलि लिएर पूजा गर्ने गरेको भनाइसमेत थियो ।

बेनीबाट बेनी–दरवाङ सडकखण्डअन्तर्गत पर्ने सहश्र्रधारा, दुखुबेँसी, दरुङ गाउँबाट यो ताल पुग्न सकिन्छ। बेनीबाट करिब एक घण्टामा सवारीसाधनमार्फत सहश्र्रधारा पुगिन्छ । त्यहाँ केही समय आराम गरी स्थानीय युवाको पहलमा निर्मित बाटोबाट तालमाथिको जंगलसम्म पुग्न सकिन्छ। नियालो र घाँसको सहायतामा आवतजावत गर्नुपर्ने हुन्छ । दरवाङको दुखुबेँसी त्यहाँ पुग्ने छोटो दूरीको मार्ग रहेको स्थानीयवासी तिलु पुर्जाले बताए।

जंगलभित्र रहेका नियालोको सहारामा तालभन्दा माथि पर्ने जङ्गलसम्म पुगे पनि ताल भएको ठाउँमा भने जान सकिँदैन। केही साहसी व्यक्तिहरू नियालोलाई डोरी बनाएर तालसम्म पुग्छन् । पछिल्लो समय ग्रामीण क्षेत्रमा विस्तार भइरहेका सडकबाट बग्ने लेदोले तालको अस्तित्व संकटमा पारिदिएको छ ।

भाले बास्ने तालको संरक्षणका लागि गाउँपालिकाले पहल गरिरहेको वडाध्यक्ष पथबहादुर रोकाले बताए। उनका अनुसार खोलामा आएको बाढीले तालको धेरै भाग पुरिएकाले ताललाई टाढाबाट देख्न नसकिएकामा तालसम्म पुग्ने गोरेटो बाटो निर्माण गर्न वडाले पहल गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *