उल्झनै उल्झनमा जकडिएको राजनीति
दिशाहीन राजनीतिले जन्माएका जटिलताहरूले देशलाई कता पुर्याउँदै छ? आज सर्बत्र यस विषयमा बहस भैरहेको छ। बौद्धिक बर्गदेखि साधारण परिश्रम गरेर गरिखाने बर्ग, चियापसल, पत्रिका विक्रि स्थल, सार्बजनिक स्थल, यातायातका साधनहरुमा, पसलहरुमा हुने जमघटमा राष्ट्यि चिन्ता चाँसोको विषयमा कुरा गरेको सुनिन्छ।
नेताहरुले बुझ्नै नचाहेको राष्ट्र, राष्ट्रियता र जनताको अवस्थाको बिषयमा कसले बुझिदिने? जनताको जीवनस्तर आजभन्दा २५-३० बर्ष अगाडि र अहिलेलाई तुलना गर्दा नेपालीहरुको जिवनस्तर एक सय बर्ष पछाडि धकेलिएको छ।
यसो भन्नेहरुको सङ्ख्या मजबुत रहेको पाइन्छ। यो भन्नका लागि मात्र जनताले भनेका होइनन्। जनताले ५ वर्षका लागि चुनेर पठाएका सांसदहरुले संसदमै उठाएका कुराहरु हुन्।
देशमा बढ्दै गएको अबैध धन्दाहरु र काण्डैकाण्डले राजनीति दुर्गन्धित बन्दै छ। तर सरकार र राजनैतिक दलहरुलाई यसले केही फरक पारेको छैन। उनीहरुको धन्दा झन मौलाएको देखिन्छ।
एउटा काण्ड देखा पर्छ, त्यो सेलाउन नपाउँदै अर्को काण्ड घटाइन्छ। कारवाही सुरु गरेको जस्तो गरिन्छ। फेरि राजनीतिक शक्तिको दवाव र प्रभावका आधारमा बचाइन्छ।
दण्ड, जरिवाना केवल जनतालाई झुक्याउने आधारमा मात्र गरिन्छ। यो दण्डहीनताको पराकाष्ठा हो। चेजयअरदेखि ललितानिवाससम्म, आफ्नै नागरिकलाई नक्कली भुटानी बनाएर नेपाली नागरिक बेचबिखन, कून्टलका कून्टल सुन, सरकारी प्रति जग्गा, खोलानाला, खर्बौको एनसेल काण्ड लगायतमा अर्बौंअर्बको भ्रष्टाचर भइरहेको छ। तर त्यस्तो बिषयले केवल एक हप्ता चर्चा पाउँछ।
अन्तमा सानो रकम औपचारिक्ता मात्र पुर्याएर धरौटीमा छाडिन्छ। त्यसपछि सेलाउदै, दवाईदै लगिन्छ। यस्तो छ, गणतन्त्रको सरकार र ठुला राजनैतिक दलहरुको मिलेमतो, भागबण्डा र साझेदारी।
त्यसैले बिना लगानीको व्यापार भएको छ राजनीति। देश यसरी बर्बाद बनाइँदै छ। नेपाल अन्तर्राष्ट्रिय तस्करहरुको सुरक्षित स्थल बन्दै गएको छ। सरकार उनैको समरक्षणका लागि मात्र बनेको हो कि भन्ने देखिन्छ। सरकार अभिभावक विहीन अवस्थामा वा भनौ जवाफदेही नै नभएको अवस्थामा देखिन्छ।
केही सांसदले संसदमा बोलेका छन् । तीनबटा डाक्टर अमरेश सिंह, सुनिल शर्मा र चन्द्र भण्डारीले बोलिरहेका छन्। ज्ञानेन्द्र शाही, धवल शमशेर पनि बोलिरहेका छन्। तर उनीहरूले उठाएका बिषय प्रति सरकार गम्भीर हुनै चाहँदैन।
सांसद डा. अमरेश कुमार सिंहले रोष्टमबाटै ‘प्रधानमन्त्री ज्यू देश यसरी लुटिदै गएको अबस्थालाई तपार्इं कति हेरर बस्न सक्नु हुन्छ? के यो देशलाई बेच्नै खोज्नु भनेको हो ’ ‘हो भने भन्नुहोस् कहिलेसम्म बेच्दै हुनुहुन्छ। कमसेकम संसद र सांसदहरुलाई पनि जानकारी होस्।’ के यो सानो कुरा हो?
गणतन्त्र, लोकतन्त्रका नाममा चलाइएको यो लुटतन्त्र जनताले कतिन्जेल सहेर बस्ने? अब त सरकार राजधानीका प्रमुख ठाउँहरुमा निशेध्याज्ञा जारिगरेर सीमित सुरक्षा घेराभित्र बसेर शासन चलाउन खोज्दै छ।
प्रधानमन्त्री प्रचण्डले एकताका हामी यहाँ छौं भनेर बसेर देखाएको स्थानलाई अहिले आफू प्रधानमन्त्री हुँदा निषेधित स्थल घोषणा गराएका छन्। यसलाई नै भनिन्छ कँही नभएको जात्रा हाँडिगाउँमा? सरकारले साच्चिकै गाइजात्रा नै देखाएको छ।
अहिले पर्यटन तथा संस्कृति मन्त्री सुदन किरातीले राष्ट्यिता, धर्म, संस्कृति माथि नराम्रोसँग प्रहार गरेका छन्। एउटा क्रिस्चियनहरुको कार्यक्रममा उनले अनावश्यक रुपमा क्रिस्चियन धर्मलाई नमान्ने, गाली गर्नेहरू राष्ट्रवादी हुन सक्दैनन् भनेका छन्।
क्रिस्चियनको विरोध गर्नु संबिधान माथिको प्रहार हो र ती संविधान विरोधी हुन्। त्यस्तालाई पक्रिएर जेलमा हाल्नु पर्छ सम्म भन्ने आँट गरेका छन्। सुदन किराती तपाईं नेपालको मन्त्री हो कि? क्रिस्चियनहरुको ! नेपालको सनातन हिन्दु धर्मलाई गाली गर्दै पराई धर्मको वकालत गर्ने अधिकार कसले दियो?
माओवादीहरुको जन्म, उनीहरुको पालनपोषण पश्चिमाहरुको लगानीमा भारतीय भूमिमा भएको हो? त्यँही हुर्काएर नेपल र नेपाली तथा यो देशको राजसंस्था सिध्याउने ठूलो रणनीतिका साथ चलाइएको योजना थियो भन्ने कुरा नेपालीहरुले नबुझेका थिएनन्।
त्यसलाई आज माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले मन्त्री किरातीमार्फत प्रष्ट्याइ दिए। उक्त कुरा मन्त्री किरातीले मात्र बोल्न सक्ने हुन सक्दैन। उनलाई प्रधानमन्त्री जाने कार्यक्रममा प्रधानमन्त्रीले पठाउनु भएको भन्ने कुरा मन्त्रीकै मुखबाट सुनियो।
कतै प्रधानमन्त्री आफूले बोल्न नमिलेर मन्त्रीको मुखबाट बोल्न लगाइएको त हैन? या एनसेल काण्डको ध्यान अन्यत्र मोड्नको लागि हो? माओवादी पश्चिमा मिसन सफल गराउन भारतमार्फत प्रयोग गरिएको एउटा जमात थियो। पछि पार्टीकाे रुपमा देखापरेर आज देशको संबेदनशील अङ्गहरु माथि प्रहार गर्दैछन्।
त्यसैले यो मन्त्रीको राजीनामा मात्र हैन, प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्छ। तर आजसम्म किन मौन? यसैबाट प्रष्ट हुन्छ । प्रधानमन्त्रीको मुखपत्र जस्तै किरातीले बोलेका रहेछन् भन्ने।
गणतन्त्रको संबिधानले धर्मनिरपेक्ष भन्दैमा नेपालीहरुको रगतको कण-कणमा भएको सनातन हिन्दुधर्म कसैले हटाउन सक्दैन र यो देशको मुल धर्म हो। यसैले अन्य धर्महरुको पनि समान अधिकारको रक्षा गर्छ। गरिरहेको पनि हो। तर अहिले किराँतीले नै तथानाम भनेर धार्मिक सहिष्णुता भएको मुलुकमा धार्मिक युद्ध गराउन भड्काइ रहेको जस्तो देखियो।
नेपाल बिश्वको एकमात्र हिन्दू राष्ट्र हो। अदृश्य रुपमा फैलाइँदै गएको क्रिस्चियानिटीलाई माओबादीहरुबाट स्थापित गर्न खोजिँदै छ। यसैको डिजाइनमा राजसंस्था सिध्यायो। राजसंस्था नसकिकन हिन्दु धर्ममाथि प्रहार गर्न नसकिने र हिन्दु धर्ममा त्यो शक्ति भएकोले आज “ ॐ“ र “ श्री“ शब्द हटाउनु पर्छ भन्ने पश्चिमा मिसन चलाइएको छ।
योजनाबद्ध ढंगले यो सुन्दर देशमाथि गिद्दे नजर लगाउनेहरुको इसारामा कम्युनिस्टहरुको तानाशाही चरित्रले काम गर्दै छ। नेपाली कांग्रेस पनि जानी नजानी आफ्नै पार्टीभित्रका बिदेशी तत्वहरुबाट सञ्चालित ब्यक्तिहरुको चङ्गुलमा फसेर धर्म निरपेक्षताको पक्षपोषण गर्न लाग्दा देश आज ठूलो सङ्कटमा पुग्दैछ।
Facebook Comment