चीनले ६० वर्षपछि फेरि परमाणु परीक्षण गर्ने !
काठमाडौं । केही स्याटेलाइट तस्बिरहरू बाहिर आएपछि चीनले फेरि आणविक हतियार परिक्षण गर्न लागेको शंका गरिएको छ। चीनको सिनजियाङमा अवस्थित लोप नूर आणविक परीक्षण सुविधामा गतिविधिहरू भइरहेको देखिन्छ। तस्बिरहरूबाट चीनले छिट्टै परमाणु परीक्षण गर्ने योजना बनाइरहेको अनुमान गरिएको छ ।
न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार चीनले आफ्नो द्रुत गतिमा बढ्दो क्षेप्यास्त्र शक्ति बढाउन केही ब्यालेस्टिक, ड्रोन र जहाजबाट प्रक्षेपण गरिने आणविक हतियारहरू बनाइरहेको छ। यो प्रतिवेदन पेन्टागनका लागि पहिले काम गर्ने गुप्तचर विशेषज्ञ डा. रेनी बेब्यार्जले दिएको प्रमाणमा आधारित छ।
लोप नूरको स्याटेलाइट तस्विरको अध्ययनमा उनले धेरै वर्षपछि त्यहाँ भएका गतिविधिको प्रमाण दिएका छन् । चीनले आफ्नो पहिलो परमाणु परीक्षण अक्टोबर १६, १९६४ मा गरेको थियो।
चीनले यो रिपोर्टलाई ठाडै अस्वीकार गर्दै यसलाई आधारहीन भनेको छ । चीनको आणविक परीक्षणको खबर बाहिर आएको यो पहिलो पटक भने होइन । अप्रिल २०२० मा पनि, अमेरिकी विदेश मन्त्रालयको एक प्रतिवेदनमा चीनले गोप्य तल्लो तहको भूमिगत आणविक परीक्षण विस्फोट गराएको हुनसक्ने बताएको थियो।
त्यसबेला चीनले आणविक परीक्षण र हतियार नियन्त्रणमा प्रतिबन्ध लगाउने सन्धि प्रतिबद्धताहरू सक्रिय रूपमा पूरा गर्न प्रतिबद्ध रहेको बताएको थियो। चीनको विदेश मन्त्रालयले अमेरिकाको झुटो आरोपलाई खण्डन गर्न लायक नभएको बताएको थियो ।
सन् २०१७ सम्म यहाँ केही भवन रहेको पनि प्रतिवेदनले दाबी गरेको छ । जसलाई अहिले अत्याधुनिक भवनमा परिणत गरिएको छ । यसको नयाँ संरचनामा माटोको थुप्रो र बिजुली नियन्त्रण गर्ने बन्करहरू पनि समावेश छन् जसले यसलाई विस्फोटक पदार्थबाट जोगाउनेछ। साथै गहिरो इनार खन्नको लागि तयारी भइरहेको छ ।
एक दशकअघि चीनसँग ५० ब्यालेस्टिक मिसाइलहरू थिए । तर मोन्टेरीमा रहेको मिडलबरी इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडीजको प्रतिवेदनअनुसार उसले सन् २०२८ सम्ममा कम्तीमा ५०७ आणविक-सक्षम लन्चरहरू सहित १,००० भन्दा बढी ब्यालिस्टिक मिसाइल लन्चरहरू उत्पादन गर्ने छ ।
अहिले अमेरिका र चीनबीचको द्विपक्षीय सम्बन्ध संवेदनशील अवधिमा छ । राष्ट्रपति जो बाइडेनले बढ्दो विवादास्पद सम्बन्धलाई समाधान गर्न प्रयास गरिरहेको बताएका छन्। उनले गत महिना चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि भेट गरेका थिए ।
Facebook Comment