पशुपति पुस्तक भण्डार : साझा चिन्तन चौतारी

बानेश्वर, काठमाडौंको मात्र होइन, नेपालकै सर्वाधिक चर्चित स्थान हो। बानेश्वरको भूगोल, इतिहास,र यसले नेपालको राजनीतिमा पुर्‍याएको योगदानलगायतका विषयमा वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बानेश्वरको सेरोफेरो नामक गतिलो ग्रन्थ नै प्रकाशन गरेका छन्।

यस बानेश्वर क्षेत्रअन्तर्गत पुरानो बानेश्वर चोकमा स्थित पशुपति पुस्तक भण्डारले बौद्धिक जगतमा लगाएको गुण तथा सबै वर्गका लागि साझा स्थल बन्न पुगेको स्मरण गर्दै यो आलेख तयार पारिएको हो।

विसं २००७ सालपछि नेपालमा हिन्दुस्थानबाट छापिएका समाचारपत्रहरू आउन थाले। नेपालमा समाचार र सूचनाका स्रोतका रूपमा हिन्दुस्तान टाइम्स, द टाइम्स अफ इन्डिया, द स्टेसम्यान, द हिन्दु जस्ता दैनिक पत्रिका र केही साप्ताहिक पत्रिका पनि आउँथे। ती पत्रपत्रिका नेपाल आइपुग्दा बासी भइसक्थे।

काठमाडांँ दिल्ली उडान प्रारम्भ भएपछि प्रायः एक दिनपछि सबै पत्रपत्रिका आइपुग्न थाले। नयाँसडकको सन्देश गृहमा बेलुका पत्रिका किन्नेहरूको घुइँचो लाग्थ्यो। नयाँसडकमा नेपालबाट प्रकाशन हुने साप्ताहिक, पाक्षिक र दैनिक समाचारपत्रहरू पनि राखिएका हुन्थे।

ती पत्रिका किनेर भन्दा पनि उभिएर पढ्नेहरूको संख्या धेरै हुन्थ्यो। पत्रपत्रिका पाइने हुनाले पनि नयाँसडक पिपलबोट काठमाडौंको केन्द्र भएको थियो। यस पिपलबोटको सेरोफेरोमा अनेकौं कृति तथा संस्मरणहरू लेखिएका छन्।

भैरव रिमालको शब्दमा पिपलबोट सानो नेपाल नै थियो (हिमाल खबर, ६ पुस २०७७)। प्रकाश गुरागाईंले जक्सन पिपलबोट नामक एक चर्चित कृति नै प्रकाशन गरेका छन्।

पाठक बढ्दै जाँदा डिल्लीबजारसहित अन्य एक दुई स्थानमा समेत भारतीय छापाहरू बिक्री हुन थाले। बानेश्वर निवासीका लागि नयाँसडकभन्दा डिल्लीबजार पायक पर्ने भयो। डिल्लीबजार चोक मिनी पिपलबोट हुन पुग्यो।

समाचारपत्रहरूको संख्या पनि बढ्दै गयो, पाठकको अखबार पढ्ने आदतमा पनि बढोत्तरी भयो भने काठमाडौंमा बसाइँसराइले तीव्रता लिँदा जनसंख्या वृद्धिसँगै समाचारपत्र पढ्ने र भेटघाटको थलो पनि हुने स्थानको खोजी हुन थाल्यो।

यही आवश्यकता पूरा गर्न सिन्धुपाल्चोकबाट काठमाडौंमा अवसर र अध्ययनप्रयोजनका लागि छिरेका चिरञ्जीवी शर्मा र चित्रप्रसाद शर्मा दुई दाजुभाईले पुरानो बानेश्वर चोक (सिनामंगल जाने बाटोतर्फ) मा सानो टहरोमा पुस्तक र पत्रिका पसल खोले, विसं २०३८ सालमा।

यो नै त्यस क्षेत्रको पहिलो पुस्तक तथा पत्रिका पसल थियो। सञ्चालक चिरञ्जीवी शर्मा वन विभागमा जागिरे थिए। उनले राष्ट्रपुकार पत्रिकाका दुःखका दिनमा साथ दिएका थिए। यस विषयमा कुरा पुरुषोत्तम दाहालले आफ्नो कृति मेरो पत्रकारितामा प्रकाश पारेका छन्।

सोही कारणबाट पनि पत्रपत्रिका पसल खोल्न उनलाई प्रेरणा मिलेको हो। त्यहाँ गोरखापत्र, नयाँ सन्देश, राष्ट्रपुकार तथा विमर्श लगायतका समसामयिक प्रकाशनहरू र भारतीय छापाहरू बिक्री गरिन्थ्यो साझापख। पछि स्कुल तथा कलेजका पाठ्यपुस्तक पनि बिक्री वितरण सुरु भयो।

बिस्तारै विभिन्न किसिमका पसलहरू खुल्ने क्रममा पनि तीव्रता आयो। पछि टहराका स्थानमा भव्य व्यावसायिक भवन निर्माण हुन थाले। सोही क्रममा पशुपति पुस्तक भण्डार पनि नयाँ। व्यावसायिक भवनमा सर्‍यो। त्यही भवनको यताउता गरी एकदुई ठाउँमा सर्दा सर्दै हाल भव्य पुस्तक पसल बन्न पुगेको छ।

अंग्रेजी, नेपाली, हिन्दी भाषाका विभिन्न पत्रपत्रिका तथा पुस्तकका साथै विद्यालय र विश्वविद्यालयका पाठ्यक्रम अनुसारका पुस्तकहरूका लागि त्यस क्षेत्रका मानिसहरूले अब नयाँसडक आउनुपर्दैन, बानेश्वरमा नै ती सेवा उपलब्ध छ।

पत्रपत्रिकाको बिक्री वितरण गर्ने उद्देश्यले स्थापित उक्त पुस्तक भण्डारमा अब त पत्रपत्रिका बिक्री गर्ने कार्य बन्द भइसकेको छ। हुन त सूचना र समाचार प्रवाह गर्ने अन्य सशक्त माध्यमहरू विकास हुँदा पनि छापा पत्रिका किन्नेको संख्यामा कमी आइसकेको छ। प्रकाशनको संख्या पनि सीमित हुन पुगेको छ। तथापि यो पुस्तक पसल नै बानेश्वर क्षेत्रका बुद्धिजीवीहरूको केन्द्रका रूपमा विकसित हुँदै आएको छ।

यो त भयो पशुपति पुस्तक भण्डारको राम कहानीपशुपति पुस्तक भण्डारले शनैः शनैः नयाँसडकको पिपलबोटको स्वरूप लिँयो र त्यस भेगका सबै खाले व्यक्तिहरूको संगमस्थल हुन पुग्यो । सुरुदेखि नै यो ठाउँ पञ्चायत विरोधी भावना प्रवाहित गर्ने महत्त्वपूर्ण केन्द्र बन्न पुग्यो।

सञ्चालक दाजुभाइ दुवै प्रजातन्त्रवादी भएका हुँदा पनि शिक्षित, बुद्धिजीवी, वकिल, प्राध्यापक, शिक्षक तथा पत्रकारहरू भेटघाटको थलोका रुपमा विकसित हुँदै गयो। विसं २०४२ सालपछि व्यवस्था विरोधीहरूको जमघट हुने स्थलका रुपमा परिचित हुँदा गुप्तचरहरू पनि सूचना संकलन गर्न त्यहाँ आइपुग्न थाले । यस्ता कति चिनिन्थे।

कति चिनिँदैन थिए पनि तर धेरैले खासै महत्त्व पनि दिँदैनथे। कालन्तरमा उनीहरूको पहिचान खुलेपछि भने मानिसहरू सतर्क हुन थाले। विसं २०४६ सालको आन्दोलनको समयमा त अन्य पत्रपत्रिकाभित्र राजनीतिक पार्टीका पर्चा राखी वितरण गर्न सुरु भयो। यो तरिका गजब साबित भयो। धेरैले सुईको नै पाएनन्।

आन्दोलनपछि मात्र यो रहस्य खुलेको थियो। नेपाली कांग्रेस समर्थकहरूका लागि त पशुपति पुस्तक भण्डार प्रमुख आश्रय स्थल नै बन्न पुग्यो। दाजुको सम्पर्क ठूला नेतासँग र भाइको सम्पर्क नेपाल विद्यार्थी संघसँग यी दुवैको रसायन बेजोड भयो। गोप्य रूपमा पर्चाहरू साइक्लोस्टाइल गरी वितरण पनि सोही पसलबाट भयो।

यस अर्थमा २०४६ सालको आन्दोलनको पूर्वसन्ध्यामा कर्फ्युको कठिन समयमा पनि दाजुभाइले गर्नु गरे तर आयआर्जन गर्ने अभिप्रायले होइन, निष्ठा र आस्थाले। अन्ततः यही निष्ठा र आस्थाले उनीहरूको ख्याति पनि आर्जन भयो। जुन यशकै कारण पशुपति पुस्तक भण्डार आजको भव्य स्थितिमा आइपुगेको छ। पछि भाइलाई पुस्तक पसलमा स्थापित गराई चिरञ्जीवी अर्को व्यवसायतिर लागे।

विक्रम सम्बत् २०४६ सालदेखि आजसम्म पशुपति पुस्तक भण्डार बानेश्वर र आसपास क्षेत्रका बुद्धिजीवी, राजनीतिज्ञ, समाजसेवी, प्राध्यापक, वकिल, पत्रकार, व्यवसायी, कर्मचारी, प्रहरी, बैंकर, जग्गा दलाल, ठेकेदार सबैको साझा चौतारी भएको छ। मुलुकको त के विश्वकै नवीनतम घटनाका समाचार त्यस ठाउँमा आइपुग्छन्।

देशमा के हुँदै छ भन्ने बुझ्नलाई त्यहाँ पुगे हुन्छ, सबै विवरण उपलब्ध हुन्छ। देशमा विशेष घटना भएको समयमा त्यहाँ उल्लेख्य उपस्थिति हुने गर्दछ। सबैको स्वागतार्थ र भलाकुसारी गर्न चित्रप्रसाद कुनै कन्जुसाई गर्दैनन्। कोही एक दुई दिनसम्म आएन भने उनी फोन गरिहाल्छन्।

निर्वाचनको भविष्यवाणी, उम्मेदवारहरूका सबल र निर्बल पक्ष, पार्टीको रणनीति, निर्वाचन जित्न गरिएका तिकडमबाजी, घात र अन्तर्घातमा लाग्ने मनुवाहरू जस्ता विषयमा खुलेर चर्चा हुन्छ। प्रायः सबै राजनीतिक पार्टीका कार्यकर्ता, शुभेच्छुक र केही तटस्थ व्यक्तिहरूको जमघट भइरहन्छ।

विभिन्न पार्टीका कार्यकर्ताबीच छलफल तथा वादविवाद सौहार्दपूर्ण वातावरणमा नै हुन्छ। त्यहाँको खबर बुझी अन्यत्र पुग्दा आफूलाई अब्बल विश्लेषक ठान्ने स्वनामधन्य व्यक्ति पनि त्यहाँ पाइन्छन्।

बानेश्वरको गरिमा पशुपति पुस्तकले वृद्धि गर्‍याे भने बानेश्वरले नै पुस्तक भण्डारको हैसियत वृद्धि गरी यसलाई स्थापित गरायो। तसर्थ यी दुवै एकअर्काप्रति कृतज्ञ हुनुपर्छ र छन् पनि।

पशुपति पुस्तक भण्डार भएको कुमारी कम्प्लेक्स त अब व्यापारिक केन्द्र समेत हुन पुगेको छ। घरजग्गा किनबेच गर्ने, सेयर खरिद बिक्री गर्ने, विदेश पठाउने एजेन्ट तथा ठेकदारहरू सबैको भेटघाट गर्ने र आफ्नो कार्य फत्ते गराउन पहल गर्ने थलो यही हुन पुगेको छ।

यो स्थल बेरोजगारको गफाडी चोक तथा रुद्रजल प्रेमीहरूको अखडाहरूको लागि मिलन केन्द्र पनि हुन पुगेको छ। बुद्धिजीवी वर्गको जमघट हुने स्थलबाट विस्तारित हुँदै हाल सबै खाले व्यक्ति वर्ग र पुस्ताको प्रिय स्थल बन्न पुगेको छ।

यस चौतारीका मानिसहरूमा एकआपसमा औधी प्रेम छ । सबैमा आआफ्ना राजनीतिक चेतना, हैसियत र सामर्थ्य हुँदाहुँदै पनि एकले अर्काको भावना र मान्यतालाई कदर गर्ने परिपाटी विकास भएको छ। आपतविपतमा एकले अर्कालाई सहयोग गर्ने सामूहिक भावनाको विकास हुँदै छ।

यस चोकमा नियमित आउनेहरूको वर्षमा एकपटक वनभोज आयोजना गरी आपसी मित्रता बढाउने संयन्त्रको पनि विकास भएको छ। यसले विभिन्न विचार, पेसा र वर्गका बीच कार्यगत एकता हुन सक्छ भन्ने तथ्यलाई साकार बनाएको छ।

यस चौतारीमा नियमित रूपमा आउने सरदार यदुनाथ खनाल, प्राडा दुर्गाप्रसाद भण्डारी, प्राडा राममान श्रेष्ठ, प्राडा मोहनविक्रम ज्ञवाली, डा पुरुषोत्तम सुवेदी, श्री दुर्गानाथ शर्मा तथा श्री प्रकाश केसी जस्ता सारथि गुमाउनुपर्दा समूहलाई दुःख लागेको छ। सेवानिवृत्त भएका र ज्येष्ठ नागरिकहरूको मिलन केन्द्रका रूपमा पशुपति पुस्तक भण्डार स्थापित होस्। यही शुभकामना!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *