पाकिस्तानको निर्वाचन आयोगको दर्ता दलको सूचीमा इमरानको पार्टीको नाम छैन

डिसी नेपाल
९ पुष २०८० १४:४१

काठमाडौं । पाकिस्तानमा आम निर्वाचन हुँदैछ र जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई अर्को ठूलो झट्का लागेको छ । निर्वाचन आयोगले इमरान खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) लाई दर्ता दलहरूको सूचीबाट बाहिर राखेको छ।

यसअघि निर्वाचन आयोगले पीटीआईको चुनाव चिन्ह ‘क्रिकेट ब्याट’ खोसेको थियो । दुई ठूला कारबाही पछि पीटीआई अब नेतृत्वविहीन छ। आधिकारिक रूपमा पीटीआई अब इमरानको रहेन।

यसअघि ईसीपीले इमरान खानलाई पाँच वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको थियो । तर, अदालतले निर्वाचन आयोगको आदेश खारेज गरेको छ । यस्तो अवस्थामा इमरानले चुनाव लड्न पाउने कि नपाउने भन्ने प्रश्न उठिरहेको छ ।

पाकिस्तानमा फेब्रुअरी ८ मा चुनाव हुँदैछ । उम्मेदवारी दिने अन्तिम मिति सकिएको छ । पीटीआईका संस्थापक इमरान खानले पञ्जाब प्रान्तस्थित आफ्नो गृह क्षेत्र मियाँवालीबाट उम्मेदवारी दर्ता गराएका छन् । अब उम्मेदवारीको छानबिनपछि इमरानले चुनाव लड्ने कि नपाउने भन्ने टुंगो लाग्नेछ ।

इमरान अहिले जेलमा छन् । गत अगस्ट ५ मा अदालतले इमरानलाई तोशाखाना भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । उच्च अदालतको फैसलालाई इमरानले सर्वोच्च अदालतमा चुनौती दिएका थिए । सुनुवाइपछि सर्वोच्चले इमरानलाई जमानत दियो तर अन्य दुई मुद्दामा पक्राउ परेकाले उनी बाहिर निस्कन सकेनन् ।

उम्मेदवारी दर्ताको मिति सकिएपछि अब डिसेम्बर २४ देखि ३० सम्म उम्मेदवारीको छानबिन हुनेछ । यसैबीच, पाकिस्तानको निर्वाचन आयोगले जारी गरेको दर्ता दलहरूको सूचीमा इमरान खानको पार्टी पीटीआईको नाम छैन।

अद्यावधिक सूचीमा १७५ दलको नाम छ । यी सबै दल दर्ता भएका राजनीतिक दलका रूपमा आम निर्वाचनमा सहभागी हुन पाउनेछन् । तर, पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले दर्ता भएको राजनीतिक दलको सूचीमा स्थान पाउन सकेको छैन ।

निर्वाचन आयोगको अद्यावधिक सूची सार्वजनिक भएपछि पाकिस्तानको राजनीतिक सर्कलमा विभिन्न बहसले गति लिएको छ । पाकिस्तानको निर्वाचन आयोगको नयाँ सूचीपछि पीटीआई अब नेतृत्वविहीन पार्टी चलिरहेको छ । निर्वाचन आयोगले पीटीआईलाई नेतृत्वविहीन राजनीतिक दलको संज्ञा दिएको छ ।

यसअघि पाकिस्तानको निर्वाचन आयोगले पीटीआईको आन्तरिक निर्वाचनलाई पूर्ण रूपमा अस्वीकार गर्दै चुनाव चिन्ह खोस्ने निर्णय गरेको थियो। आन्तरिक निर्वाचनबाट आयोग सन्तुष्ट छैन ।

शुक्रबार पाकिस्तानको निर्वाचन आयोगको पाँच सदस्यीय प्यानलले पीटीआईले आफ्नो पार्टीको विधानअनुसार चुनाव गराउन असफल भएको जनाएको थियो। यस्तो अवस्थामा पार्टीले ‘क्रिकेट ा्याट’लाई आफ्नो चुनाव चिन्ह कायम राख्न सक्दैन ।

पार्टीको आन्तरिक निर्वाचन अवैध घोषित भएपछि इमरानको स्थानमा पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका गौहर अली खानले पनि पार्टी अध्यक्ष पदबाट वञ्चित भएका छन् ।

अहिले इमरान खानको पार्टीसँग कानुनी विकल्प रहेको विज्ञहरू बताउँछन् । यसका लागि पीटीआईले नयाँ रणनीति बनाउनुपर्छ । पीटीआईले निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिन वा स्वतन्त्र उम्मेदवार खडा गर्न सक्छ।

यसबाहेक, पीटीआईले अन्य कुनै दलसँग पनि गठबन्धन गर्न सक्छ, ताकि यसका उम्मेदवारहरूले चुनावमा त्यो पार्टीको चुनाव चिन्ह प्रयोग गर्न सकून्। यसबारे छिट्टै निर्णय लिनुपर्छ । यो तस्वीर डिसेम्बर ३० सम्म पूर्ण रूपमा स्पष्ट हुनेछ। किनकी मनोनयन छानबिनको अन्तिम मिति ३० डिसेम्बर हो । त्यसपछि जनवरीमा चुनाव चिन्ह वितरण हुनेछ ।

पाकिस्तानको संसद ९ अगस्ट २०२३ मा मध्यरातमा विघटन भएको थियो। पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शाहबाज सरिफको सल्लाहमा मध्यरातमा यसलाई विघटन गरेका थिए।

योसँगै शाहबाज सरिफको सरकारको कार्यकाल पनि समाप्त भएको थियो । संसद विघटनसम्बन्धी जारी सूचनामा संविधानको धारा ५८ बमोजिम राष्ट्रिय सभा विघटन गरिएको उल्लेख छ । संसदको पाँचवर्षे कार्यकाल अगस्ट १२ मा औपचारिक रुपमा सकिँदै थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *