आतंकवादी आक्रमणमा आफ्ना १२ सैनिक मारिएपछि इराक–सिरियामा टर्कीको हवाई आक्रमण
काठमाडौं । पछिल्ला दुई दिनमा उत्तरी इराकमा सैन्य लक्ष्यलाई लक्षित गरी भएको छुट्टाछुट्टै आक्रमणमा कम्तीमा १२ टर्कीश सैनिकको मृत्यु भएको छ। टर्कीको रक्षा मन्त्रालयले यो जानकारी दिएको हो ।
टर्कीले दशकौंदेखि इराकी मिलिशिया संगठन कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) विरुद्ध युद्ध गरिरहेको छ। यसले विगत २५ वर्षमा उत्तरी इराकमा दर्जनौं सैन्य चौकीहरू निर्माण र सञ्चालन गरेको छ।
टर्की र यसका धेरै पश्चिमी सहयोगीहरूले कुर्दिस्तान वर्कर्स पार्टीलाई आतंकवादी संगठन घोषणा गरेका छन्। यो संगठन टर्की र युरोपका धेरै देशको कालोसूचीमा परेको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले उत्तरी इराक र सिरियामा रहेका आतंककारीहरू विरुद्ध बदला लिन आह्वान गरेका छन् । यसपछि टर्की वायुसेनाले आइतबार इराक र सिरियाका धेरै क्षेत्रमा बमबारी गरेको थियो ।
एर्दोगानले भने, ‘हाम्रा सैनिकहरूको रगत खेर गएको छैन। पृथकतावादी खलनायकहरू उनीहरूले बगाएको रगतको लागि जवाफदेही हुनेछन्। हामी अन्तिम आतंकवादी समाप्त नभएसम्म रोकिने छैनौं। हामी आतंकवादको जरामाथि आक्रमण गर्ने हाम्रो रणनीतिमा दृढ छौं। आतंककारीहरुको उन्मूलन नभएसम्म जवाफी कारबाही जारी रहनेछ।’
अंकाराले सुरुमा शनिबार विद्रोहीसँगको भिडन्तमा मारिएका ६ सैनिकको मृत्यु भएको जानकारी दिएको थियो । अंकाराले पछि उत्तरी इराकमा अर्को आक्रमणमा छ जना सैनिक मारिएको जानकारी दिएको थियो । टर्कीले यो आक्रमणको लागि पीकेकेलाई दोष दिएको छ।
टर्कीका अधिकारीहरूले भने ‘हाम्रो प्रतिकारात्मक सैन्य कारबाही जारी छ, जसमा हवाई आक्रमणहरू पनि समावेश छन्।’ टर्कीका सञ्चारमाध्यमका अनुसार हकुर्क र जाप नजिकै पीकेकेको स्थानलाई लक्षित गरी हवाई आक्रमण गरिएको हो।
टर्कीको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा उसको सेनाले पीकेके स्थानहरूमा आक्रमण गरेको छ र कम्तिमा १६ पीकेके लडाकू मारिएको बताएको छ।
अक्टोबरमा, एर्दोगानले इराक र सिरियामा आतंकवादी लक्ष्यहरूमा आक्रमण जारी राख्ने वाचा गरेका थिए। पीकेकेले अक्टोबर १ मा अंकारामा भएको आत्मघाती आक्रमणको जिम्मेवारी लिएको थियो जसमा दुई प्रहरी अधिकारी घाइते भएका थिए।
टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघले आतंकवादी समूह घोषित गरेको पीकेकेले सन् १९८४ मा टर्की राज्यविरुद्ध हतियार उठायो। टर्कीले छिमेकी इराकमा पीकेके लडाकूहरूलाई लक्षित गरी नियमित रूपमा हवाई आक्रमण गर्छ।
टर्की वायुसेनाले गत शनिबार उत्तरी इराक र सिरियामा हवाई आक्रमण गरी प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का २९ वटा स्थान ध्वस्त पारेको थियो।
Facebook Comment