अफगानिस्तानमा पैसाको अभाव, खर्च जोगाउन एकैपटक ५० जोडीको बिवाह
काठमाडौं । आफ्नो विवाह धेरै धूमधामका साथ होस् भन्ने हरेक मानिसको चाहना हुन्छ । तर आर्थिक संकट झेलिरहेका अफगानिस्तानका आम जनताले यो अवसर पाएका छैनन् ।
अगस्ट २०२१ मा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानको अर्थतन्त्र नराम्रो अवस्थामा छ। विवाहमा लाग्ने खर्च कम गर्न अफगान जनताले सामूहिक विवाह गर्ने गरेका छन् । अहिले अफगानिस्तानमा यो चलन बनिसकेको छ ।
अफगानिस्तानको राजधानी काबुलमा सोमबार सामुहिक विवाह समारोहमा ५० जोडीले विवाह गरेका छन् । सामूहिक विवाह समारोह धेरै जसो सादा राखिएको थियो। किनभने तालिबान सरकारले विवाह समारोहमा नृत्य र संगीतलाई गैर इस्लामिक भन्दै प्रतिबन्ध लगाएको छ ।
काबुल एयरपोर्ट नजिकैको एक विवाह हलमा आयोजित यो सामूहिक विवाह समारोहमा बेहुलीबाहेक एउटै पनि महिलाको उपस्थिति थिएन । नवविवाहित जोडी बोकेका गाडीलाई हरियो रिबन र प्लाष्टिकको गुलाफले सजाइएको थियो ।
सोही सामूहिक विवाहमा विवाह गरेका १८ वर्षीया रुहुल्लइ रेजाईले विवाहको खर्च आफू एक्लैले धान्न नसक्ने बताए । परम्परागत रुपमा विवाह गर्न कम्तीमा २ लाखदेखि २ लाख ५५ हजार अफगानी रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । उनले भने – ‘तर हामी विवाह १० हजारदेखि १५ हजार अफगानी रुपैयाँमा होस् भन्ने चाहन्छौं।’
अफगानिस्तानको घोर प्रान्तका बासिन्दा रुहुल्लई रेजाइ हजारा अल्पसंख्यक समुदायका हुन् र उनले दैनिक ३५० अफगानी रुपैयाँ मात्र कमाउँछन्। रुहुल्लइ भन्छन्, ‘मैले मेरो बिहेमा ३०० देखि ४०० जनामध्ये ३५ जनालाई मात्रै बोलाएको छु ।
यस सामूहिक विवाहको आयोजना गर्ने सेल्याब फाउन्डेसनले प्रत्येक नवविवाहित जोडीलाई १६ सय अमेरिकी डलर उपहार दिएको छ । यो संसारको सबैभन्दा गरीब देशहरू मध्ये एक अफगानिस्तानका जनताको लागि ठूलो रकम हो ।
यसका साथै सबै जोडीलाई विवाहको किट पनि दिइएको छ । जसमा टूथपेस्ट, स्याम्पु, मोइस्चराइजर, गलैंचा, कम्बल र केही घरायसी उपकरणहरू छन्। सोमबार भएको यो सामूहिक विवाहका लागि ६ सय जोडीले आवेदन दिएका थिए । तर ५० जोडी मात्रै आउन पाए । यसरी अफगानिस्तानमा सामूहिक विवाहको लामो लाइन छ।
Facebook Comment