इजरायलको आक्रमणमा इरानका शीर्ष सैन्य कमाण्डरको मृत्यु, युद्धमा अरु देश थपिने त्रास

डिसी नेपाल
११ पुष २०८० १२:४०

काठमाडौं । सिरियामा इजरायली आक्रमणमा परी एक वरिष्ठ इरानी कमाण्डर मारिएको इरानी मिडियामा दाबी गरिएको छ ।

इरानको समाचार एजेन्सी तस्निमले सैयद राजी मोसावी इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सका ‘अनुभवी सैन्य सल्लाहकार’ भएको बताएको छ।

इरानी राष्ट्रपति इब्राहिम रायसीले मोसावीको मृत्युमा शोक व्यक्त गर्दै इजरायलले यो अपराधको निश्चित मूल्य चुकाउनु पर्ने बताएका छन् ।

राईसीले भने , “यो कार्यले यस क्षेत्रमा यहूदी शासनको निराशा र कमजोरी देखाउँछ, जसको लागि यसले निश्चित रूपमा मूल्य चुकाउनुपर्नेछ।”

एजेन्सीले आफ्नो रिपोर्टमा मोसावीको उत्तरपूर्वी दमास्कसको सैयदा जैनाब क्षेत्रमा भएको आक्रमणमा मृत्यु भएको जनाएको छ ।

इजरायली सेनाले विगत केही वर्षदेखि सिरियामा सैन्य आक्रमण गर्दै आएको छ । इजरायलले इरानी लक्ष्यमा आक्रमण गरेको बताएको छ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायली सेनाले यी आक्रमणलाई तिब्र बनाएको छ ।

सिरियाली गृहयुद्धको शुरुवाती वर्षदेखि नै सिरियामा इरानी सेनाहरू उपस्थित छन्। यहाँ उनीहरूले राष्ट्रपति बसर-अल-असदको सरकारलाई समर्थन गर्छन्।

इरानले आफ्ना सयौं सैनिक गार्डहरूलाई ‘सल्लाहकार’का रूपमा इराक, अफगानिस्तान र पाकिस्तानमा धेरै शिया मिलिसियाहरूलाई तालिम दिन पठाउँदै आएको छ। लेबनानको चरमपन्थी संगठन हिजबुल्लाहले पनि सिरियामा इरानी कमाण्डरहरूसँग मिलेर काम गरिरहेको छ।

मोसावी सन् २०२० मा अमेरिकाले मारेका इरानी आर्मी कमाण्डर कासिम सुलेमानीको सहयोगी रहेको बताइएको छ ।

मोसावी सिरियामा इरानी सेनाका सबैभन्दा उच्च अधिकारीहरूमध्ये एक थिए। तस्निम एजेन्सीका अनुसार मोसावी इरान र सिरियाको सम्बन्धमा महत्वपूर्ण कडी थिए।

इरानको सेनाले यस हमलाको लागि इजरायललाई जिम्मेवार ठहराएको छ र ‘मूल्य चुकाउने’ धम्की दिएको छ।

यद्यपी इजरायली सेनाले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । इजरायलले अझै पनि सीमापार आक्रमणको बारेमा सार्वजनिक रूपमा कुरा गर्नबाट जोगिइरहेको छ।

यस महिनाको सुरुमा पनि इरानले इजरायलले सिरियामा आफ्ना दुई सैनिकको हत्या गरेको आरोप लगाएको थियो।

मोसावीको मृत्युपछि इरानको सेनाले सोमबार राति एक विज्ञप्ति जारी गरेको थियो ।

इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानले सामाजिक सञ्जाल एक्समा ट्वीट गर्दै मोसावीलाई श्रद्धाञ्जली अर्पण गर्दै अब इजरायलको काउन्टडाउन सुरु भएको पनि बताए।

मोसावीको सिरियामा लामो इतिहास रहेको र उनी इरानको कुड्स फोर्सका कमाण्डर कासिम सुलेमानीसँग पनि नजिक रहेको बताइएको छ ।

इरानको सरकारी टिभी च्यानलले मोसावीमाथि तीनवटा क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ । च्यानलले दमास्कसको सैयदा जैनाबमा भएको आक्रमणको तस्विर पनि प्रसारण गरेको थियो। तस्वीरमा मिसाइल प्रहारपछि धुवाँको मुस्लो देखिन्छ ।

सिरियाका लागि इरानका राजदूत हुसेन अकबरीले मोसावी दिउँसो २ बजेसम्म इरानी दूतावासस्थित आफ्नो कार्यालयमा उपस्थित रहेको बताए । यसपछि उनी आफ्नो घरतिर लागे ।

अकबरीका अनुसार दिउँसो ३ बजे मोसावीको घरमा मिसाइल आक्रमण भएको थियो र त्यो यति बलियो थियो कि मोसावीको शव घरबाहिर बगैंचामा खसेको थियो ।

इजरायलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन तर इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले आक्रमणको निन्दा गर्दै यस आक्रमणको जवाफमा सही समयमा र सही ठाउँमा कारबाही गर्ने आफ्नो देशसँग अधिकार रहेको बताए।

इरानको आधिकारिक समाचार एजेन्सी (इस्लामिक रिपब्लिक न्यूज एजेन्सी) ले तेहरान विश्वविद्यालय बाहिर विद्यार्थीहरूको एक समूहले विरोध प्रदर्शन गरिरहेको जनाएको छ।

यी प्रदर्शनकारीहरूले राजी मोसावीको मृत्युको बदला लिन माग गरेका छन्। तर, सिरियामा इरानको सशस्त्र बलका सदस्य मारिएको यो पहिलो पटक भने होइन।

विगतमा पनि सिरियामा उच्च कमाण्डरसहित इरानी सेनाका धेरै सदस्यको मृत्यु भइसकेको छ ।

३ जनवरी २०२० मा अमेरिकाले बगदाद एयरपोर्ट नजिकै ड्रोनद्वारा हवाई हमलामा इरानको अल-कुद्स फोर्स प्रमुख कासिम सुलेमानीलाई मारेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *