अप्राकृतिक यौन सम्बन्धको आरोपमा आफ्नै श्रीमानलाई ९ वर्ष जेल सजाय !
काठमाडौं । छत्तीसगढको दुर्ग जिल्लाको फास्ट ट्र्याक अदालतले श्रीमतीसँग अप्राकृतिक यौनसम्बन्ध राखेको आरोपमा श्रीमान्लाई ९ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
यसबाहेक श्रीमतीलाई कुटपिट गरेको आरोपमा ती श्रीमानले एक वर्ष कैद र एक हजार रुपैयाँ जरिवाना पनि तिर्नुपर्नेछ । भारतमा वैवाहिक बलात्कार र अप्राकृतिक यौन दुर्व्यवहारको बहस चलिरहेको बेला शनिबारको यो निर्णय आएको हो ।
सोमबार नै राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय न्यायिक संहितासहित तीनवटा विधेयकलाई आफ्नो स्वीकृति दिएकी छिन् । नयाँ भारतीय न्याय संहितामा, अप्राकृतिक यौन कार्यको धारा ३७७ खारेज गरिएको छ।
यहाँ दुर्ग अदालतको पछिल्लो फैसलापछि निमिश अग्रवाललाई जेल पठाइएको छ । श्रीमान् र पीडित दुवैका परिवार ठूला व्यवसायसँग जोडिएका छन् ।
यो निर्णयपछि पीडित महिलाले भनिन्, “मलाई सबै प्रकारले यातना दिइयो। मलाई मानसिक, शारीरिक, सामाजिक, आर्थिक रूपमा यातना दिइयो। म आशा गर्छु कि अप्राकृतिक यौनसम्पर्कको उजुरी गर्ने अन्य महिला लाज वा डरका कारण अगाडि नआउने अवस्था नहोस् । उनीहरू अगाडि आएर आफ्नो अधिकारका लागि आवाज उठाउनुपर्छ ।”
पीडित युवतीले भनिन्, “म महिलाहरूलाई भन्न चाहन्छु, तिम्रो मन वा शरीरमा चोट लागेको छ, आवाज उठाउनुपर्छ । समाज र कानुन अहिले धेरै सचेत भइसकेको छ ।”
यसैबीच, पीडितका वृद्ध बुबाले बीबीसीलाई भनेअनुसार उनी र उनको परिवारले विगत धेरै वर्षदेखि भोगेको यातना कसैले कल्पना पनि गर्न सक्दैन।
पीडितका बुबाले बीबीसीलाई भने, “अदालतले दिएको फैसलामा मैले के टिप्पणी गरुँ ? म यसलाई दण्ड वा न्याय पनि भन्दिनँ। म आफैं ७० वर्ष नाघेको छु। मेरी श्रीमती पक्षाघातग्रस्त भइसकेकी छन्। सम्पूर्ण परिवारले धेरै दुःख भोगेको छ। वर्षौंदेखि भोग्नुपरेको दुःखमा अदालतको यो फैसलालाई के भन्नू र !”
पीडितका वकिल नीरज चौबेका अनुसार यस मुद्दामा पीडितकी सासु र ससुरालाई पनि १० महिना कैद सजाय सुनाइएको छ । त्यसैगरी अदालतले पीडितकी नन्दलाई ६ महिना कैद सजाय सुनाएको छ ।
यो मुद्दा पीडितलाई यातना दिएको आरोपसँग पनि जोडिएको छ ।
अदालतमा परेको मुद्दाका अनुसार दुर्ग व्यवसायी निमिष अग्रवालले सन् २००७ जनवरी १६ मा दुर्ग व्यापारीकी छोरीसँग विवाह गरेका थिए ।
इन्गेजमेन्टपछि निमिश र उनका बुवाले आर्थिक अभाव भएको भन्दै पीडितसँग पैसा माग्न थालेको आरोप छ । विवाहपछि यो चलन झनै बढ्यो ।
विवाहपछि बुबाले विभिन्न अवसरमा ३ करोड ५ लाख रुपैयाँ दिएको पीडित महिलाको दाबी छ ।
तर निमिष र उनको परिवार १० करोड रुपैयाँ र बीएमडब्ल्यू कारको मागमा अडिग रहे। त्यसपछि पीडितमाथि कुटपिट सुरु भयो । निमिष अग्रवालका बुवा, आमा र बहिनी पनि झगडामा संलग्न थिए ।
सन् २०११ मा उनी गर्भवती भइन् र जाँचपछि गर्भमा रहेको बच्चा छोरी भएको खुलासा भएपछि उनका श्रीमान र परिवारका सदस्यले गर्भपतन गराउन सल्लाह दिएको पीडित महिलाको आरोप छ । तर पीडितले मानिनन् ।
पीडित महिलाका अनुसार छोरी जन्मिएपछि आफूलाई कुटपिट गर्ने अर्को बहाना मिल्यो ।
आरोपका अनुसार यसपछि श्रीमानले पीडितलाई दुव्र्यवहार गर्न अप्राकृतिक यौनसम्पर्क गर्न थाले । यस क्रममा श्रीमानले पोर्न फिल्म हेर्ने र पीडितसँग त्यस्ता भिडियो पनि बनाएको पीडित महिलाले बताइन् ।
सन् २०१६ को मे महिनामा पीडितले अन्ततः श्रीमान, सासु, ससुरा र नन्दविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरी र अदालतको कारबाही बाहेक सामाजिक भेलामा पनि समस्या समाधान गर्ने प्रयास भएको थियो । तर त्यस्ता सबै प्रयास असफल भए ।
तर, निमिश अग्रवाल र उनका परिवारका वकिलहरूले पीडितका सबै आरोप ससुरालाई दुव्र्यवहार गर्ने उद्देश्यले मनगढन्ते भएको र त्यसमा कुनै सत्यता नभएको तर्क गरेका थिए । तर अदालतले पीडितको आरोपमा सहमति जनायो ।
स्थानीय अदालतपछि यो मुद्दा उच्च अदालत र सर्वोच्चमा पुग्यो । अन्ततः शनिबार दुर्गको फास्ट ट्रयाक अदालतले साक्षी र प्रमाणका आधारमा फैसला सुनाएको हो ।
अदालतले आफ्नो फैसलामा अपराधको प्रकृतिलाई ध्यानमा राख्दै निमिश अग्रवाललाई भारतीय दण्ड संहिता १८६० को धारा ३७७ अन्तर्गत नौ वर्षको सश्रम कारावासको सजाय सुनाइएको बताएको छ । साथै अदालतले उनलाई १० हजार जरिवाना समेत गरेको छ ।
Facebook Comment