दुर्गा प्रसाईँको अभियान : भए अन्त नभए लखन थापाको जन्त

प्राडा तीर्थप्रसाद मिश्र
१२ पुष २०८० १०:२४

पूर्वप्रधानमन्त्रीहरू खड्गप्रसाद ओली र पुष्पकमल दाहालसँग काँसको थालमा मार्सी चामलको भातसहितका परिकारको सहभोजन गरेका दुर्गा प्रसाईँ सामाजिक सञ्जालमा भाइरल भए।

सामाजिक सञ्जालमा उक्त छवि देखा परेपछि दुर्गा प्रसाईँप्रतिको चासो जनमानसमा बढ्न थालेका यिनै प्रसाईँले अन्य कतिपय स्थापित वामपन्थी नेताहरूलाई पछाडि पार्दै नेपाल कम्युनिस्ट पार्टीका एक सबल हस्ती हुन पुगे। पार्टीको भन्दा पनि ओलीको एक्का भए तर कालन्तरमा ओलीसँगको ३३ को स्थिति परिवर्तन भई ३६ हुन पुगे।

यी दुई किन जोडिए? किन छुट्टिए, किन पानी बाराबारको स्थिति पैदा भयो? अनेकौँ अनुमान हुन सक्ला। त्यसको विश्लेषण भविष्यमा हुँदै पनि जाला। ओलीजीसँग मोह भङ्ग भएपछि राजा ज्ञानेन्द्रको समर्थक भई कट्टर राजावादी हुने कित्ता समाते। हाल दुई तीन महिनादेखि दुर्गा प्रसाईँ सर्वाधिक चर्चित पात्र बनेका छन्।

उनी ‘टक अफ दि हाउस’ होइन ‘टक अफ दि मिसन’ नै भए। तथापि दुर्गा प्रसाईँको नालीबेली पर्गेल्ने उद्देश्य यस लेखको हुँदै होइन। त्यसैले त्यतापट्टि नलागौँ। उनले चलाएको आन्दोलनबाट सरकार र राजनैतिक पार्टी कताकता आत्तिए जस्ता भएका छन्।

जनताले पनि उनको चर्तिकला हेर्दै छन्। उनीसँग केही भीड पछाडि लागेको जस्तो पनि देखियो। हाल विकसित यही राजनीतिक घटनालाई ऐतिहासिक दृष्टिले हेर्ने प्रयोजनले यो आलेख तयार पारिएको हो।

भए अन्त नभए लखन थापाको जन्त, यो नेपाली जनजिब्रोमा लोकप्रिय उखान हो। यसको आफ्नै ऐतिहासिकता, मर्म र महत्त्व छ। आफूले सोचेअनुसारको वा भनेअनुसारको भएन भने अथवा सम्बन्धित समाज र सरकारबाट उपेक्षित हुनु प¥यो भने आक्रोशवश विभिन्न प्रसंग वा मुद्दामा असन्तुष्ट जमात हिँड्ने बाटो भनेकै लखन थापाको जन्त नै हो।

माओवादीको सिद्धान्तप्रतिको आकर्षणबाट मात्र जनता त्यसतर्फ लागेका थिएनन्। आआफ्ना दृश्य अदृश्य स्वार्थ पूरा हुने मनसायबाट र असन्तुष्टिको निकास नहुँदा पनि ठूलो जमात त्यस दिशामा प्रवाहित भएको थियो। अर्कोतिर काकतालीले मात्र राजगद्दीमा पुगेका ज्ञानेन्द्रको महत्त्वाकांक्षा जाग्यो।महेन्द्रपथको पुनरावृत्ति गरे। राजाको यस कार्यले सबै राजनीतिक पार्टी एक भए। यसमा अदृश्य शक्तिको पनि मौन समर्थन रह्यो। पुनः सबैको असन्तुष्टि बजाउँदै ०६२-६३ को अर्को आन्दोलनले सफलता पायो। यस आन्दोलनपछि त भूकम्पभन्दा पराकम्प खतरा हुन्छ भन्ने देखायो।

अर्थात् विभिन्न कारणबाट चिढिएकाहरूको भारी बिसाउने थलो लखन थापाको जन्त हो। हुन त यस उखानलाई अन्य अवसर पाए ठिकै छ नत्र भने विरोधी समूहमा समाहित हुने मनोभावनाको सन्दर्भमा अथ्र्याउन पनि सकिन्छ।

जे होस्, यो उखानको अर्थ विश्लेषण गर्ने आआफ्नै धारणा र अभिमत हुन सक्लान् तर यहाँ शत्रुको शत्रु मित्र अर्थात् विविध कारणबाट रुष्ट समूहलाई एकत्रित गरी लक्ष्य प्राप्त गर्ने रणनीतिका रूपमा लखन थापाको जन्तलाई लिइएको छ।

प्रायः जनबोलीमा लोकप्रिय हुन पुगेको उखान हो, भए अन्त नभए लखन थापाको जन्त । यस उक्तिले नेपालको विद्रोह, ऐतिहासिकता, मानसिकता र सत्यता सबै प्रदर्शन गरेको छ। नेपालका प्रथम सहिद भन्ने गरिएका लखन थापाले जंगबहादुर विरुद्ध धावा बोले। मनकामना देवीको आदेश भन्दै आफैं बादसाह भएको घोषणा गर्दै हिँडे।

जंगबहादुर र स्थानीय शासकबाट पीडित अवसरको खोजीमा रहेका व्यक्तिहरू लखन थापाको पछि लागे। तत्कालीन राजनीतिबाट रुष्ट गाउँका ठूलाबडा भनाउँदाबाट पीडित र अपहेलित जमात पनि लखन थापासँग मिसिए। लखन थापाप्रतिको आस्था समर्पणभन्दा पनि विविध कारणबाट तत्कालीन शासकसित आक्रोशितहरू उनीप्रति आकर्षित भएका हुन्।

संक्षेपमा भन्ने हो भने विरोधी जमात अर्थात् अन्यत्र कदरसम्मान नपाएका तर महत्त्वाकांक्षी व्यक्तिहरू लखन थापासँग सरिक हुन पुगे जंगबहादुरले लखन थापा र उनका अनुयायीलाई निर्ममतापूर्वक दमन गरे। दण्ड दिए। काँक्रो चोरलाई मुड्के सास्ती हुनुपर्नेमा क्रुर यातना दिए।

तर, लखन थापाको आन्दोलनले भविष्यको इतिहासलाई गहिरो छाप छाडेर गयो। तत्कालीन समय, समाज र शासकबाट उपेक्षित वर्गले आक्रोश पोख्ने साझा स्थलका रूपमा यसलाई लिन थाले। संगठन, पार्टीभित्र गुटउपगुट सङ्गठित हुन थाले।

आन्दोलनका केही मौलिक कारण बन्न पुगे। यिनै कारण लामो समयदेखि सञ्चय हुँदै जाँदा आन्दोलनको पृष्ठभूमि तयार भइसकेको स्थितिमा कुनै एक संगीन घटना तत्कालीन कारण बन्न जान्छ। नेपालको प्रत्येक आन्दोलनको इतिहासले यसै भन्छ।

सम्बत् २००७ सालको आन्दोलनको पृष्ठभूमि हेर्दा राणा शासनबाट दण्डित, क्रोधित र अपहेलित व्यक्तिहरूकै बाहुल्यमा विभिन्न संघ संगठन तथा पार्टी खुलेका थिए। तिनीहरूको भित्री उद्देश्य जनतालाई सुखसुविधा तथा अमनचयन दिई समृद्ध नेपाल बनाउने थिएन।

जनतालाई अधिकार दिन कम्मर कसेका थिएनन्। केवल एकमात्र उद्देश्य राणाहरूसँग बदला लिई आफ्नो हैसियत देखाउनु थियो। कोइराला, आचार्य, भट्टराई, ‘सी’ क्लासका राणाहरू तथा शासकबाट दण्डित भई हिन्दुस्तान पसेका सबै एक हुनु शत्रुका शत्रु मित्र भन्ने अवधारणामा आधारित थियो।

जनताको आक्रोशलाई भजाउने कार्य मात्र पार्टीहरूले गरेका थिए। विसं २००७ सालको आन्दोलन सफल हुन राणाविरोधीहरू एकजुट भई बदला लिने भावनाबाट प्रेरित हुनेहरूकै बाहुल्य थियो। राणाविरोधी आन्दोलनमा केही राष्ट्रभक्तहरू स्वतः स्फुर्त रूपमा होमिएका पनि थिए।

यस पंक्तिमा शुक्रराज, धर्मभक्त लगायतका चार सहिदहरू पर्दछन्। भए अन्त नत्र लखन थापाको जन्त प्रवृत्ति २००७ सालको आन्दोलन सफल हुन निकै हदसम्म सहयोगी रह्यो। एकतन्त्रीय राणा शासन खतम गरुन्जेल सबै सरोकारवाला एक भए तापनि आन्दोलन सफल भएपछि उनीहरूको पूर्ववत् एकता कायम हुन सकेन।

विक्रम सम्बत् २०१७ सालमा महेन्द्रलाई साथ दिनेहरूमा लखन थापाकै जन्त जाने महत्त्वकांक्षीहरूको जमात थियो। कतिपय राष्ट्रिय मामिलामा एकमत हुनैपर्ने राष्ट्रिय आवश्यकता देखिएको समयमा पनि सम्भाव्य सुझबुझ र समन्वय देखिएन। खिचडी पाक्दै जाँदा १७ साल पौष १ गते आउन मलजल पुग्यो।

सम्बत् २००७ सालपछि नेपालमा देखिएको अर्को सशक्त सशस्त्र क्रान्ति २०४६ को आन्दोलन थियो। उक्त आन्दोलनमा सबै राजनीतिक पार्टी पञ्चायतबाट पीडित अपहेलित कदर हुन नसकेका असन्तुष्ट जमातहरू शनैः शनैः देखिन थालेका थिए। यो असन्तुष्टि क्रमश विस्तार हुँदै गयो।

उता पञ्चायतवादीहरूले व्यवस्थावादी बनाउन साम, दाम, दण्ड र भेदको नीति लियो। यसबाट नसमेटिएका समेट्न नसकेका असक्षम र समाजमा राम्रो छवि हुन नसकेकाको बोलवाला हुँदा समाजका सबै वर्ग विशेषत चेतन समूह एकजुट हुन गयो। तीस वर्षसम्म एकत्रित भएको जनआक्रोशको ज्वालामुखी तातिँदै थियो।

यस पृष्ठभूमिमा पञ्चायतइतर सबै राजनीतिक पार्टी एक भई सशक्त आन्दोलन गर्दा २०४६ सालको आन्दोलनबाट पञ्चायती व्यवस्था धराशयी भई बहुदलीय व्यवस्था प्रादुर्भाव भयो। यो आन्दोलन सफल बनाउने श्रेय राजनीतिक पार्टीले लिएका छन् तर उनीहरू निमित्त मात्रै हुन्।

नेपालीहरूमा सञ्चित भएको आक्रोश, वितृष्णा तथा असन्तुष्टिको जनसागर उर्लदा आन्दोलन उपलब्धिमूलक हुन पुगेको हो। यसको उपलब्धि जगेर्ना गरी संस्थागत गर्नुपर्ने संक्रमणकालीन अवस्थामा कार्यगत एकता बिल्कुल भएको थिएन। राष्ट्रिय हितका साझा सवालमा मतैक्य हुन सकेन।

यसैकारण पार्टी पार्टी बीचमा त कता हो कता अन्तरपार्टी कलह पनि मौलायो। यस्तै क्रियाकलापबाट आजित जमात सिर्जना हुँदै विस्तारित हुँदै गयो उता शत्रुको शत्रु मित्र भन्ने उखान चरितार्थ मात्रै सत्ताबाहिर भएका राजनीतिक पार्टीले परोक्ष रूपमा माओवादीलाई पुठ दिए।

माओवादीको सिद्धान्तप्रतिको आकर्षणबाट मात्र जनता त्यसतर्फ लागेका थिएनन्। आआफ्ना दृश्य अदृश्य स्वार्थ पूरा हुने मनसायबाट र असन्तुष्टिको निकास नहुँदा पनि ठूलो जमात त्यस दिशामा प्रवाहित भएको थियो। अर्कोतिर काकतालीले मात्र राजगद्दीमा पुगेका ज्ञानेन्द्रको महत्त्वाकांक्षा जाग्यो।

महेन्द्रपथको पुनरावृत्ति गरे। राजाको यस कार्यले सबै राजनीतिक पार्टी एक भए। यसमा अदृश्य शक्तिको पनि मौन समर्थन रह्यो। पुनः सबैको असन्तुष्टि बजाउँदै ०६२-६३ को अर्को आन्दोलनले सफलता पायो। यस आन्दोलनपछि त भूकम्पभन्दा पराकम्प खतरा हुन्छ भन्ने देखायो।

राजतन्त्र नै समाप्त भई नेपाल गणतन्त्रात्मक मुलुक बन्न पुग्यो। राजतन्त्रको समाप्ति र धर्म निरपेक्षता हुनुपर्ने मुद्दामा ०६२–६३ को आन्दोलन अगाडि बढेको थिएन। राजा ज्ञानेन्द्रको महेन्द्रपथको विरोध नै आन्दोलनको मौलिक र तात्कालिक कारण भएको तथ्य बुझ्नै पर्दछ।

गणतन्त्र नेपालले जनअपेक्षा अनुसार कार्य गर्न सकेन। आन्दोलनको क्रममा सबै पार्टीहरूले जनतालाई हुन सक्ने नसक्ने आश्वासन बाँढे। उनीहरुले भविष्यमा पर्न जाने दीर्घकालीन असरलाई नजरअन्दाज गरे। आश्वासन तथा वाचा गर्दै गए। जसको कारणबाट पेन्दुराको बाकस खोल्दा भयावह स्थिति सिर्जना हुन गयो।

यस विषम परिस्थितिलाई सम्बोधन गर्न सबै हैसियत भएका राजनीतिक पार्टीहरू एकमत भएनन्। आफ्नै स्वार्थमा अल्झिए, रुमलिए एक दुई साना पार्टीले राष्ट्रिय सवालमा उठाएका मुद्दाहरू अरण्य रोदन हुन पुगे।

राजनीतिमा तुष्टीकरण नीति देखा पर्‍यो जसको कारण समाजमा सहिष्णुता कायम हुन जनताको महत्त्वाकांक्षा जगाइदिने तिनै राजनीतिक पार्टीको कारण भष्मासुरहरू देखा पर्न थाले जुन प्रवृत्तिलाई यथोचित निकास दिन नसक्दा असन्तुष्टि चुलिँदै गयो।

काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर स्थापित राजनीतिक पार्टीहरू जुट्ने फुट्ने टुट्ने र सत्ताप्राप्तिका लागि सदैव लिगलिगे दौडमा सरिक हुने प्रवृत्तिका कारण मुलुक आक्रान्त बन्दै गयो। यसै असन्तुष्टिको उपजबाटै केही राजनीतिक पार्टीहरू एकाएक चर्चामा आए।

जनताबाट स्याबासी पाउन थाले। यसै असन्तुष्ट जमात हाल दुर्गा प्रसाईँको आन्दोलनमा देखिएका हुन्। दुर्गा प्रसाईँको अर्जुन दृष्टि के हो? उनको अभियानको उद्देश्य नीति र कार्यक्रम के हुन् ? कसबाट सञ्चालित भएका हुन्?

सरकार एवं प्रतिपक्षले दुर्गा प्रसाईँलाई झन् धेरै चर्चित बनाए। नानीमैया प्रकरणको पुनरावृत्ति हो? नीति र कार्यबाट प्रभावित भई जनसमुदायले समर्थन गरेका हुन् वा असन्तुष्टि प्रकट गरेका हुन् यसको लेखाजोखा भविष्यले गर्ला तर असन्तुष्टिलाई भजाउने प्रयास दुर्गा प्रसाईँले गरेकै हुन् जसलाई मलजल सरकारले गरेकै हो। इतिहासबाट सरोकारवालाले पाठ नसिक्दा मुलुक नै यस्तै घटनाको बारम्बार साक्षी बन्न बाध्य हुनु परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *