कथा : यु आर द ग्रेट

खेमराज पोखरेल
१४ पुष २०८० ७:२९

बिहे पार्टी। पार्टी प्यालेस। डिजे बजिरहेको छ। मान्छे ओहोर दोहोर उत्तिकै छन्। राम्रा लुगा लगाएका छन्। राखेका लुगा झिकेर तन्काएरै भए पनि लगाएका छन्।

आङ खोलिएका चपला सुन्दरीहरु ओहोर दोहोर गरिरहे छन्। मानौँ फेसन सो हो। लट्ठ परेका छन्। नाचिरहे छन्। हरियो सारीको सेटमा बेहुलाकी आमा छिन्। धमाधममा छिन्। मान्छे आउँछन् उनलाई नमस्कार गर्छन्। उनी केन्द्रबिन्दुमा छिन्।

बिहे पार्टी सानदार चलिरहेको छ। रमाइलो छ। म निम्तालु। साथीभाइसँग पार्टी प्यालेसको एउटा कुनोमा बसेको छु। स्न्याक्स आइरहेको छ। गइरहेको छ। आलुको एउटा टुक्रा लिन्छु। खाऊँ नखाऊँ भएको छु। घरी खाएको छु। घरी हेरेको मात्र छु। किनकि आज म हर्षित पनि छु। दुःखी पनि छु। आज मेरो धौले कान्छोको छोरोको बिहे हो।
०००००००

धौले कान्छो। ऊ मेरो बालसखा हो। उसले र मैले जीवनका बाल्यकाल सँगै बिताएका थियौँ। ऊ मगर हो। म बाहुन। ऊ टुहुरो थियो। गर्भे टुहुरो। आमा पनि बाल्यकालमै गुमाएको टुहुरो। ऊ कहिलेकाहीँ सम्झन्थ्यो होला आमाबाबुलाई।

तर उसले कहिल्यै बाबुआमा सम्झेको मलाई थाहा भएन। सायद सम्झन पनि चिन्नुपर्छ क्यार। देखिनु पर्छ क्यार। झझल्को भए पनि चाहिन्छ क्यार। निरपेक्ष र अमूर्त त के सम्झाइ पनि हुन्छ होला र? एउटा अन्धकारभित्र के सम्झनु र? उसका आमाबाको तस्बिर पनि थिएन। तस्बिरको जमाना नै थिएन।

ऊ हुक्र्यो ठुली आमाकोमा। म आमाबाका साथ हुर्केँ। हजुरबा र हजुरआमाका वात्सल्यमा बढेँ। उसको र मेरो यत्ति कुरा फरक थियो। बाँकी हाम्रा समान थिए । स्कुल सँगै थियो। गाईबाख्रा हेर्नु सँगै थियो। कट्टु खोलेर नुहाउनु सँगै थियो। लाप्पा याने कुस्ती खेल्नु सँगै थियो। आर्थिक स्थिति पनि उस्तै थियो।

बिहानभरि गाईवस्तुलाई घाँस काट्यो। दिउँसो स्कुल गयो। स्कुलबाट आयो भैँसी फुकायो। काममा हामीसँगै हुन्थ्यौँ। बाँकी भाग्य आफ्ना आफ्ना थिए। घर अलग अलग थियो। सुताइ अलग अलग थियो। कहिले म उता पनि खान्थेँ। ऊ यता पनि खान्थ्यो। यसको हिसाब किताब थिएन।

हामी दुवैको कुनै उच्छ्वास थिएन। कुनै योजना थिएन। कुनै ‘एम्बिसन’ थिएन। केही थिएन। किन पढ्ने पनि थाहा थिएन। बस हरफनमौला जिन्दगी थियो। छुट्टीको दिनको हामीलाई व्यग्र प्रतीक्षा हुन्थ्यो। किनकि हामीलाई मन पर्ने क्षण भनेको गाईबाख्रालाई चारकोसे झाडीको निकुरी जंगलतिर धपायो, पूर्ण नांगाे भयो र दहमा नुहायो।

एउटा अर्को कुरा पनि फरक थियो। ऊ स्कुलबाट आएर मान्छेले रक्सी खाएका जुठा भाँडा माझ्थ्यो। उसको घरमा घरचुहा रक्सी पारिन्थ्यो । मान्छे आउँथे र नुन खोर्सानीसँग मुख बिगारेर घुट्क्याउँथे। आम्दानीको दह्रो साधन थियो त्यो। मैले भने घरमा आएर पुस्तक पढ्नु पथ्र्यो। बुबा उपदेश मञ्जरी कन्ठस्थ्य वाचन गर्नुहुन्थ्यो।

हजुरबा भानुभक्तीय रामायण पढ्नु हुन्थ्यो। म पुस्तक पढ्न बाध्य थिएँ। नपढे पनि पुस्तक फिँजाएरै बस्नु पथ्र्यो। यो क्षण मेरा लागि ‘टिडियस‘ थियो। झर्को लाग्दो थियो।
गाउँभरिका मान्छे उसलाई धौले भनेर चिन्थे, धौले कान्छो भनेर चिन्थे।

किनकि ऊ एकदम बलियो, मोटो र अग्लो थियो। लाग्दथ्यो उसले फेला पारेमा बाघ मार्ने छ। लाग्दथ्यो उसले आफ्नो बलले सारा संसारमा प्रभुत्व जमाउन सक्थ्यो। उसको ज्यानअनुसार ऊ धौले नै थियो।

म पिलन्धरे थिएँ पातलो सुइँठे। अनि काँतर। कसैले हका¥यो भने म रोइहाल्थेँ। आँसु मेरो आँखाकै डिलमै हुन्थ्यो, रोइ हाल्थेँ। बुबाले ‘पढिस्?’ भनी सोद्धा पनि म रोइ हाल्थेँ। त्यसैले मलाई गाउँलेहरु पिन्चे भनी चिन्दथे। हामी दुवैको नाम हामीलाई नै थाहा नभए झैँ लाग्दथ्यो। कहिलेकाहीँ कक्षाकोठामा ‘जगतप्रसाद’ भनेर सरले बोलाउँदा म झसङ हुन्थेँ। लाग्दथ्यो म त जगतप्रसाद पो हुँ त।

०००००००

हामी कक्षा दसमा पढ्थ्यौँ। पहिलेजस्तो टेबुलकुर्सी सबै पास भइएन कक्षा दसमा। ऊ फेल भयो, म पास भएँ। तर हाम्रो साथ छुटेको थिएन। गाईसँगै, भैँसीसँगै जिन्दगीसँगै, कर्मसँगै। फरक के भने म पढ्न गएर यो काम गर्थेँ। ऊ अब पूर्णकालीन घरायसी गोठालो थियो, म अल्पकालीन।

शनिबारको दिन थियो। म पनि गोठालो थिएँ। निकुरी जङ्गलमा स्यौला ओछ्याएर बसेको थियो ऊ। बुधनियाँका काखमा पल्टेको थियो। ऊ उसको केशराशि सुम्सुम्याउँदै थिई। कुरा गरिरहेका थिए। बुधनियाँ याने मधेसी मूलकी गरिब परिवारकी टुहुरी केटी। पल्लो गाउँबाट गाई चराउन निकुरीकै जङ्गलमा आउँथी। सधैँ आउँथी। काली थिई तर धौलेलाई अप्सरा लाग्थी।

ऊ भन्थ्योः ‘काली होस् वा गोरी यसले के फरक पर्छ र, हेर्न पिन्चे, ऊ कति सर्लक्क परेकी छे, कस्ती मायालु छे, कस्ती हिस्सी परेकी छे, हाँस्दा अनुहारका खोपिल्टा हेर् त, उसका पनि मेराजस्तै बाबुआमा छैनन्’

मैले धौलेलाई जिस्क्याएँः ‘ए धौले, भ्याइस् कि क्या हो?’

ऊ विह्वल देखियो। सधैँ फ्याट्ट जवाफ दिने आज ऊ चुपचाप बस्यो। निकुरी खोलाको निलो पानीको दहतिर हे¥यो । पानी उसैगरी बगेको थियो। जङ्गलतिर हे¥यो। जंगल सुसाइ रहेको थियो। उसले मतिर हेर्‍यो, पिच्च थुक्यो र भन्योः ‘थुइक्क पिन्चे, बाहुन भएर पनि तेरो बुद्धि?, एकछिन् सम्झी त ऊ एकल टुहुरी भए पनि कसैकी छोरी हो, कसैकी बहिनी हो’

ऊ भावुक पो भयो। उसले बुधनियाँलाई साँच्चै माया गर्दो रहेछ। मैले थाहा पाएँ।

एक कान दुई कान गर्दै गाउँमा उसको बुधनियाँसँगको हेलमेल चैतको हुरीजस्तै फैलियो। मैले धौले कान्छोलाई भनेँः ‘हेर् धौले, तैँले बुधनियाँलाई ल्याउन सक्तैनस्। त्यो केटी मधिसे हो, तँ मगर’

ऊ निःसहाय देखियो। मैले घरबाट चोरेर ल्याएको पचास रूपियाँँ दिँदै भनेँः ‘उसलाई लिएर भाग्, यति भए मेची पुल कट्न पुग्छ, मुग्लान भासिई’।

आजै भाग्ने दिन थियो। तर ऊ आइन। गोठालो नै आइन। उसको ठाउँमा एउटा लर्दु आयो। धौले कान्छो निराश थियो। मैले नै लर्दुलाई सोधेँ ‘ए बेचना कका, बुधनियाँ कते गेले से आहाँ चरवा एलिए?’ (ए बेचना काका, बुधनियाँ कहाँ गई र तपाईँ गोठालो आउनु भयो ?)

उसले भन्योः ‘ए, बुधनियाँ, ऊ त चैल गेल ममिहारी, ओकरा सादी छे ओते मोतीहारीमे’ (ए, बुधनियाँ, ऊ त गई मामाघर, उसको बिहे छ मोतहारीमा)
धौले कान्छो भुईँमा टुक्रूक्क बस्यो। खुइय ग¥यो र फेरि परपरसम्म हेर्‍यो। उसकी बुधनियाँ कहीँ कतै थिइन।

०००००००

मैले पार्टीमा एक सुरूप स्कच खाएँ, फेरि खाएँ र फेरि खाएँ। धौले कान्छोकी श्रीमती याने भाउजू मनजिक आइन् र भनिन्ः ‘ए बाबु, ठिक छ नि? एक्लै छु, कसले खायो, कसले खाएन, आँखा पुर्‍याउनै सकिएन त’

मैले जवाफ फर्काएँः ‘असाध्यै ठिक छ भाउजू, चिन्ता गर्नु पर्दैन’

म धौले कान्छोलाई फेरि सम्झन थालेँ। गोठाला लाग्दा लाग्दै उसका आफन्तहरुले एस्पी साहेबकोमा घरायसी काम गर्ने कामको चाँजोपाँजो मिलाइ दिएका थिए। अब ऊ पनि जागिरे भयो। ऊबाट जंगल, निकुरी खोला हराइ सकेको थियो। उसको जीवनमा आमूल परिवर्तन भएको थियो। अब ऊ एस्पी साहेबको भाषा बोल्न थालेको थियो। गरिस्यो, भनिस्यो आदि।

म भने एस.एल.सी पास गरेर उच्च शिक्षा पढ्न सहर पठाइएँ। मबाट पनि, मेरो जीवनबाट पनि निकुरी खोला हराइसकेको थियो।

चार वर्ष एस्पी साहेबको फ्रि सेवा गरेपछि ऊ कन्सटेबलमा भर्ना गरियो। अब भने ऊ साँच्चै जागिरे भयो। म एम.ए. पढ्न काठमाडौँ हानिएँ। ऊ पुलिसको जागिरको दौरान भासियो। धेरै वर्षपछि ऊसँग भेट भयो।

म कलेज पढ्दा ऊ मलाई ‘तिमी’ भनी सम्बोधन गर्न थालेको थियो र अहिले म सरकारी जागिर खान थालेपछि उसले मलाई तपाईँ भन्न थालेको थियो। म भने ‘तँ’बाट तिमीसम्म उक्लेको थिएँ। मैले पनि उसलाई धौले कान्छो भन्न सकिनँ। बिलकुलै सकिनँ। मलाई अहिले लागिरहेको छः ‘के धौले कान्छो र पिन्चेको सम्बन्ध सदाको लागि मर्‍यो?’

नागरिकता बनाउँदा उसलाई बलबहादुर बनाइएछ। बलबहादुर पुलामी। ऊ हबल्दार भए छ। म सरकारी प्रथम श्रेणीको जागिरे छु। मसँग भेट भयो। कुरै कुरामा मैले उसलाई भनेको थिएँः ‘तिम्रो डि.आइ.जी. साहेबकी बुढी हामीसँगै काम गर्छिन्’

यसो भनि रहँदा सायद म उसलाई आफ्नो बडप्पन देखाउन चाहन्थेँ र भन्न चाहन्थँे म ठुलो मान्छे भएको छु। खासमा डि.आइ.जी. साहेबकी श्रीमती अर्को अफिसमा काम गर्थिन्। सामान्य बोक्रे चिनजान मात्र थियो।

उसले मलाई भनेको थियोः ‘मेरो असइमा बढुवा हुने बेला भएको छ। तर सोर्स नभै हुन्न, हुँदै हुन्न। एकपल्ट डि.आइ.जी. साहेबलाई भन्न लाइ दिनु न’

म स्वालत्त भएँ। भन्न सक्तिनँ पनि कसरी भन्नु? अघि जो धाक लगाएको थिएँ। भन्छु पनि कसरी भन्नु, एकछिन् सोचेँ र भनेँः ‘हुन्छ म पक्का भन्छु’। उसको नाम, नम्बर टिपेँ र कुलेलम ठोकेँ। दिन त्यसै बित्यो। एक महिनापछि उसको फोन आयो। ऊ असइ भएछ।

यस्तो कृतज्ञता व्यक्त गर्‍यो कि त्यहाँ सायद ऊ भनिरहेको थियोः ‘हाम्रा पनि ठाउँमा मान्छे छन्’। ऊ सायद आफ्ना साथीहरुसँग धक्कु लगाउँदै थियो होलाः ‘म पनि कम्ताको सोर्सवाला हुँ र’। तर मैले भन्न भ्याएकै थिइनँ। ऊ असइ भइ हाल्यो।

०००००००

म पार्टीबाट हिँडेकै छुइनँ। किनकि आज मेरो धौले कान्छोको छोरोको बिहे हो। एउटा ड्रमस्टिक चपाएँ र एक घुड्को स्कच घाँटीभित्र छिराएँ। आज मलाई असाध्यै मात्तिन मन लागेको छ। मसँगै बसेका मान्छे पनि मात्तिएका छन् र भन्दै छन्ः ‘बलबहादुर आज भएको भए …..’। म सम्झिरहेको छु धौले कान्छालाई।

धौले कान्छोले यी भाउजूलाई जागिरको क्रममा पाल्पा पोस्टिङ भएको बेला ल्याएको थियो। राम्री पहेँली मगर्नी।

सबै भन्थेः ‘क्या राम्री मगर्नी ल्यायो हौ धौले कान्छाले’। नभन्दै धौले कान्छो कालो पोल्दा पोल्दै उम्केजस्तो, कहाँ भाउजू अप्सराजस्ती। भगवान्ले पनि फुर्सदमा बनाएजस्ती। एउटा छोरो जन्मी हाल्यो। त्यही छोरो जन्मेको महिना दिनभित्रै ऊ हबल्दार भएको थियो। बढुवा भएको थियो।

उसले छोरातिर हेरेर आफ्नो भविष्य उज्ज्वल देख्यो होला। उसले तराईको कबिलासी भन्ने सानो बजारको बिच बजारमै घर किन्यो। भाउजूले रक्सी दोकान थापिन्। भाउजूलाई कबिलासीमै छोडेर जागिरका क्रममा यता उता सरूवा भइरह्यो। एकदिन उसले भनेथ्योः ‘यो छोरो त फस्ट हुन थाल्यो, केही गर्छ होला’। उसले छोरालाई पढाउन भरमग्दुर प्रयास गर्‍यो।

छोरो हुर्कँदै गयो। ऊ जीवनसँग चलिरहेको थियो। जीवनका काल्पनिक उच्छ्वासमा रमाइ रहेको थियो। ऊ असइबाट रिटायर भयो। घर फक्र्यो र जीवन यापन गर्न थाल्यो। एकदिन उसले आफ्नी श्रीमतीलाई भनेथ्योः ‘कान्छी, यो घर बेचौँ र काठमाडौँ जाऔँ’।

श्रीमतीले भनेकी थिइन्ः ‘यहाँ सबै कुरा सेट छ। आम्दानी छ। व्यापार राम्रै छ। छोराछोरी पढिरहेका छन्। बित्थाँमा गएर दुःख पाइन्छ। यी छोराछोरी पढून्, अलि खुट्टा टेकियोस्, अनि जाओँला’

उसले मन नलागी नलागी भनेको थियोः ‘कान्छी म त के गरुँ र यहाँ? बेरोजगार पो भएँ त?’

श्रीमतीले भनेकी थिइन्ः ‘भूतपूर्व प्रहरीलाई गार्डमा राख्छ नि, जागिर खोज्नुस् न’

त्यसपछि ऊ सधैँ उदास उदास देखिन्थ्यो। सायद उसलाई लागिरहेको हुन सक्छ कि उसकी स्वास्नी उसलाई टाढा पठाउन चाहन्थी। ऊ आएपछि दोकान सायद कम चलेको थियो।

कबिलासी बजारमा हाट लागेको थियो। मान्छे टनाटन थिए। धौले कान्छो बजार भर्न गएको थियो। मोटरसाइकलबाट मुख छोपेर आएका दुई जनामध्ये पछाडिकाले धौले कान्छोलाई गोली ठोक्यो र भाग्यो। सास जानुअघि उसले आफ्नी श्रीमतीलाई भनेको थियोः ‘छोरालाई पढाउनू’। ऊ त्यसपछि लास भयो। उसको बलियो अग्राखजस्तो धौले शरीर एकाएक गल्र्याम्म ढालेको ठुलो रुखको गिँडजस्तो भयो।

म उसलाई सम्झिरहेको छु। किन उसको हत्यारा पत्ता लागेन ? अहिलेसम्म नलाग्नुको रहस्य के? किन? किन?? किन ???

गाउँबाट प्रतिक्रियाहरु आउन थालेका थिएः

‘त्यो बेस्सेले नाठो लगाएर धौले कान्छोलाई मारी’

‘खोइ पुलिस हुँदा के गरेको थियो कुन्नि, माओवादीले पो मा¥यो भन्छन् त’

‘पुलिसको हाकिम नै सल्केको थियो रे। उसैले मार्न लगाएको रे। अनि अपराधी के पत्तो लाग्छ त’

‘मधेसे नेता नै पल्केको थियो रे। इन्डियाबाट मार्ने मान्छे ल्याएको रे’

‘तस्करले पो मारेका रे’

जेभए पनि उसको हत्यारा खोजी भएन। फेला परेन। पर्दै परेन। म कोसँग प्रश्न गरुँ कि मेरो धौले कान्छोलाई कसले मा¥यो?

कहिलेकाहीँ गाउँको घर जाँदा यी कुराहरु सुन्दा सुन्दा म आजित भएको थिएँ। म भाउजूलाई नै भेट्न कबिलासी गएको थिएँ। रात बस्तै गएको थिएँ। साँझमा मान्छे टनाटन थिए। घरको ओसारीभरि गुन्द्री ओछ्याइएको थियो। गुन्द्रीभरि घरचुहा खाने मान्छेहरु थिए। कोही निख्लै खाइरहेका थिए। कोही नुन खोर्सानीसँग। भाउजूलाई फुर्सद नै थिएन।

‘ए रामावतार भैया, के थपूँ ?’ भाउजू भन्दै थिइन्।

‘हे, हम्रा भैया नै कह’ (मलाई दाइ नभन्नू)

‘के भनूँ त?, देवर?’ भाउजूले उसको नाक चिमोटी दिइन्। उसले जोस्सिएर घुट्क्यायो। भाउजूले कच्याककुचुक परेका नोटलाई आफ्नो ब्लाउजभित्र हात छिराएर स्तनका चेपमा राखिन्।

साँझ आठ बजेतिर जँड्याहाहरु आआफ्ना घरतर्फ लागे। मलाई भाउजूको चालामाला देखेर राम्रो लागेन। मैले खुइय गरेँः ‘उफ्, धौले कान्छा, धन्न बाँचिनस्, तैँले यो दिन देख्न परेन’

‘भाउजू खोइ छोराछोरी?’ मैले सहजसँग कुराको सुरूवात गरेँ।

‘आ बाबु, छोराछोरी यहाँ छैनन् नि, ठुलो क्लासमा पुगे, काठमाडौँमै दिदीको घरमा बसेर पढ्छन्। मसँग त यही फुलनियाँ छे। काम पनि सघाउँछे, साथी पनि भएकी छे’

मैले फुलनियाँलाई हेरेँ। एघार वर्ष जतिकी होली। म बुज्रुक मनमा सोचेँः ‘खोइ यसको बाल अधिकार, शिक्षाको अधिकार?’

खाना खाइ सकेपछि भाउजू मनजिक आइन् र बल्ल क्षेमकुशल सोध्न भ्याइन्।

‘भाउजू यसरी आफ्ना कोही नभएका ठाउँमा रक्सीकै दोकान चलाउँदा अप्ठ्यारो हुन्न?’

भाउजू एकतमासकी भइन्। अनुहार अलिकति क्रोधिलो बन्यो। तर नम्र भइन् र भनिन्ः

‘हुन्छ नि बाबु, हुन त। कोही छैनन् मेरा। यी घरपट्टिकाहरु बेस्से भन्छन् मलाई, रन्डी भन्छन् मलाई। इज्जत फाली भन्छन् मलाई। लोग्ने मार्न लगाई पनि भन्छन्। तपाईँलाई थाहै होला, तपाईँले सुन्नु भएकै होला’

भाउजू एकछिन् मौन बसिन्। करेसामा जोडिएका केराको झ्याङबाट शीतका थोपा तप्पतप्प झरेको आवाज सुनिन्थ्यो। एकछिन्को मौनतापछि भाउजू फेरि बोल्न थालिन्ः

‘ऊ मलाई असाध्यै माया गथ्र्यो। पुलिस भएर पनि कहिल्यै ठुलो स्वरले मलाई बोलाएन। ऊ मेरो मायामा सम्मोहित थियो। मैले उसको अँगालोमा आफ्नो जीवन देखेकी थिएँ। आफूले पढिएन, पढ्न पाइएन तर छोराछोरीलाई इन्जिनियर बनाउनुपर्छ भन्थ्यो। मैले अहिलेसम्म उसको नामको सतीत्व डगाएकी छैन। सारा समाज मलाई बेस्से भन्छ भने तपाईँ पत्याउनुस् वा नपत्याउनुस् मलाई के फरक पर्छ र?’

उनका गालाभरि आँसु झरेका थिए। सप्कोले पुछिन्। फुलनियाँले कालो चिया पकाएर ल्याई। राति कालो चिया खाने बानी रहेछ। मैले पनि खाएँ। उनी फेरि बोल्न थालिन्ः

‘म के गरुँ?, म माइतमा गएर लम्पसार परुँ? अपहेलना खपेर रोइरोइ जीवन गुजारा गरुँ? वा घरतिर जाऊँ? म बेसहाराको को छ घरमा? के त्यो प्याङ्खर बारीले मलाई पाल्छ? मेरा छोराछोरी पढाउँछ?। अनि मसँग के उपाय थियो? अहिले मलाई अनाहकमा बेस्से भन्ने समाजले मेरो गर्जो टारि दिन्थे?, अहिले मैले आपूmले जे जानेको थिएँ, त्यही गरेर खाएकी छु। मैले कसैको खाएको छैन। बरू गाउँमा खोज्नुभयो भने मेरै खाएका छन्। खाऊन्। मेरो अगाडि शिर निहु¥याएर त हिँड्छन्। ए बाबु, भन्नुस् त, महलमा बसेर वेश्यावृत्ति गर्नेलाई किन वेश्या भन्न सक्तैन यो समाज र मजस्तै निरीह खोज्दै हिँड्छ?’
०००००

‘ए बाबु, राति अबेर भयो। हेर्नुस्, पार्टी सकिसक्यो। हेर, धेरै पिउनु भएछ। यसरी पिउन हुन्न, खराब गर्छ’ भाउजूले मेरो पाखुरामा समाएकी थिइन्। मेरा खुट्टा लरबर गर्दै थिए। मैले भाउजूको काँधमा एउटा हात राखेको थिएँ। मैले लरबरिएको स्वरमा भनेँः ‘भाउजू यु आर द ग्रेट, आज मेरो धौले कान्छोको इन्जिनियर छोराको बिहे’ म फेरि लरबरिएकै तर ठुलो स्वरले बोल्दै थिएँः ‘ए धौले मुलङ्खरे, तैँले बाँच्नु पर्थ्याे ’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *