रुपन्देही प्रहरीद्वारा २३ वटा चोरीका मोटरसाइकलसहित ८ जना पक्राउ

डिसी नेपाल
१३ पुष २०८० १२:४१

बुटवल। अपराध नियन्त्रण गरी समाजमा शान्तिपूर्ण वातावरण सिर्जना गर्न भन्दै रुपन्देही प्रहरीले संचालन गरेको ‘क्लिन स्विप अप्रेशन’ अभियानबाट चोरी, लागुऔषध प्रयोग तथा ओसारपसारकर्ता र फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन्।

पुस १ गतेदेखि रुपन्देही प्रहरीले ‘क्लिन स्विप अप्रेशन’ सुरु गरेको थियो। बिहीबार जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले अभियान सुरु गरेको डेढ हप्तामै कयौं चोरीका मोटरसाइकल, त्यसमा संलग्न मानिस, फरार प्रतिवादी र लागुऔषध ओसारपसार र प्रयोगकर्तालाई नियन्त्रणमा लिएको जनाए।

एसपी बिकका अनुसार यो बीचमा चोरीका २३ वटा मोटरसाइकल पक्राउ गरिएको छ भने त्यसमा संलग्न ८ जना मानिस समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाहरुविरुद्ध चोरीसम्बन्धी ४ वटा मुद्दा अदालतमा दर्ता समेत भएका छन्। प्रहरीले रोयल इनफिल्ड-२, बजाज पल्सर १५० सिसीको १, हिरो स्पेलेन्डर प्लेस ६, बजाज पल्सर २२० सीसीको ३, यामाहा एफजेड १ गरी विभिन्न ब्राण्ड र मोडलका २३ मोटरसाइकल बरामद गरिएको जनाएको छ।

अभियानकै क्रममा प्रहरीले एउटै इन्जिन नम्बर भएका दुईवटा कार नियन्त्रणमा लिएर पनि अनुसन्धान सुरु गरेको छ।

प्रहरीले अभियानका क्रममा ४३ ग्राम २२० मिलिग्राम ब्राउन सुगर, ६ एम्पुल डाइजेजाम, ६८ एम्पुल फेनार्गन, ८ एम्पुल तालजेसिक, ५९ एम्पुल सेरिज्याक, आईपीपीएल ६० एम्पुल, प्रोक्सीको स्पास १६ क्याप्सुल बरामद गरेको छ।

उक्त लागूऔषध प्रयोग र ओसारपसारमा संलग्न ९ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ। लागुऔषधका ७ वटा मुद्दा जिल्ला अदालतमा दर्ता समेत गरिएको प्रहरी प्रवक्ता डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए।

यस्तै, प्रहरीले १ सय २ जना फरार प्रतिवादी तथा अदालतबाट सजाय तोकिएका व्यक्तिहरुलाई पक्राउ गरेको छ। पक्राउ परेका मानिसहरुलाई कारागार चलान गरिएको छ। उनीहरुबाट १९ वर्ष ११ महिना १७ दिन कैद भुक्तान र १२ लाख ८२ हजार ७११ रुपैयाँ जरिवान असुलउपर हुने प्रहरीले जनाएको छ।

प्रहरीले संचालन गरेको अभियानले अपराध नियन्त्रणसँगै शान्ति र समतामूलक समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *