इजरायल हमास युद्धले पढाएको पाठ

कपिल लोहनी
१४ पुष २०८० ८:०६

गत ७ अक्टोबर २०२३ का दिन अप्रत्याशित रूपमा हमासका लडाकुहरू इजरायली भूमिमा पसेर अन्धाधुन्द गोली बर्साउँदै सयौँ मानिसको विभत्स हत्याका साथ त्यति नै संख्याका इजरायली, पश्चिमा र अन्य मुलुकका कामदार र विद्यार्थीलाई अपहरण गरेर आफूसँग लिएर जान सफल हुन्छन्।

त्यतिबेला विश्वकै सहानुभूति इजरायल र त्यहाँका जनता प्रति जागृत भएर आउँछ। तर छिटै नै इजरायलले बदलाको भावनालाई प्रवल बनाएर हमासको आक्रमणको बदला प्यालेस्टाइनी जनता र तिनका संरचनाहरू माथि बमबर्षा र दमन गर्दै जाँदा भने विस्तारै पुरै विश्व इजरायलको नग्न नाच देखेर छक्क परिरहेको छ।

इजरायल र हमासको युद्धको शुरुमा भारतले इजरायलको समर्थन गरेको भए तापनि पछि इजरायलले प्यालेस्टाइनीहरूको निर्मम हत्या गर्न थालेपछि भने भारत केही सशंकित हुँदै गएको छ।

दोस्रो विश्वयुद्धताका जर्मन नाजीहरूद्वारा ग्यास च्याम्बरमा कोचेर र आगलागी गराएर ठूलो संख्यामा यहुदीहरू मारिएका थिए।

त्यो विभत्स घटनाबाट विश्वयुद्धको अन्तताकासम्ममा बचेर भाग्न सफल भएका यहुदीहरू उनिहरूको उद्गम स्थल भनिएको मध्यपुर्वमा अवस्थित हालको इजरायल भएको ठाउँमा अमेरिकी र पश्चिमा एलिड फौजको सहारामा बसोबास गराइन्छन् भने बाँकी यहुदी अमेरिका र युरोपका विभिन्न मुलुकहरूमा गएर बस्दछन्।

त्यही बेलादेखि त्यहाँ इजरायली र प्यालेस्टाइनीहरूको काटमार शुरु हुन थाल्दछ। इजरायल जान नसकेकाहरू त्यतिबेला अमेरिका र युरोपमा गएर बसोबास गर्न थाले।

कुनैबेला नाजी फौजको बर्बरताको कारण लाखौँको संख्यामा मारिएका र आफ्नो बासस्थान छोडेर भाग्न बााध्य भएका यहुदीहरूले आफ्नै मेहनतले आजको अवस्थामा पुग्न सफल भएका भए तापनि हाल आएर उनीहरू आफैं आधुनिक यमराज भएर मानव जातिलाई त्रसित तुल्याउँदै हिँडेको देखेर इतिहासबाट मान्छेले सिक्छ भन्ने कुरा पनि सधैँ साँचो हुँदैन रहेछ भन्ने कुरा सावित हुन्छ।

पश्चिमा क्रिस्चियनहरू भन्दा पुरानो इतिहास बोकेका यहुदीहरूका पुर्खा हिब्रुहरू ५,७७७ वर्ष पहिले देखिका हुन् भने जुडाइजम् यानी यहुदी धर्म मान्ने मानिसहरूको संख्या विश्वको कुल जनसंख्याको ०.२ प्रतिशत मात्र हुन आउँछ, यानी सबैभन्दा अल्पसंख्यक धर्मावलम्बी। इजरायल र संयुक्त राज्य अमेरिकामा मात्र ९० प्रतिशत यानी १ करोड २० लाख यहुदीहरू बसोवास गर्दछन्।

मारवाडी र चिनियाँ जस्तै यहुदी जाति पनि व्यापारमा विश्व प्रसिद्ध छन्। त्यति मात्र नभई विश्वका अल्पसंख्यक यहुदीहरू विज्ञान तथा प्रविधि र ज्ञान, अर्थशास्त्र, नेतृत्व, विचार, सुजनशीलता, कला, साहित्य, सिनेमा, संगीत र अन्य धेरै विधामा अन्य जातीहरू भन्दा निकै अगाडि नै देखिन्छन्।

नोवेल पुरस्कारकै कुरा गर्दा हालसम्म घोषणा भएका करिव ८५० नोवेल पुरस्कारमध्ये करिव १९५ वटा पुरस्कार यानी करिव २० प्रतिशत यहुदीहरूले नै हात पारेका छन्।

विद्वान व्यक्तित्वहरू जस्तै महान् दार्शनिक तथा कम्युनिज्मका प्रवद्र्धक कार्ल माक्र्स, रुसी क्रान्तिकारी नेता लिओन् ट्रट्स्की, नाजी कन्सन्ट्रेशन क्याम्पमा मारिएकी तथा आफ्नो डायरीमा लेखेका तथ्यबाट विश्व विख्यात बनेकी एनी फ्राङ्क, आधुनिक युगका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन, अमेरिकी पुर्व र हालका विदेश सचिव हेन्री किसिन्जर र एन्टोनी ब्लिङ्केन, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, सिने तथा संगीतकर्मीहरू स्टिफन स्पियलवर्ग, वुडी एलेन, ह्यारिसन फोर्ड, पल न्युम्यान, बार्बरा स्ट्राइसेन्ड, बब डिलान, बिल्ली जोएल, पउला अब्दुल, नील डायमण्ड, आर्ट गार्फङ्कल, फेसन डिजाइनरहरू क्याल्भिन क्लेइन, राल्फ लउरेन, लिभाई स्ट्रस, माइक्रोसफ्टका पुर्व सीईओ स्टिभ बाल्मर, सामाजिक सञ्जाल फेसबुकका जन्मदाता मार्क जुकरबर्ग आदि निकै धैरै व्यक्तित्वहरू यहुदी नै हुन्।

एशियाका अधिकांश मुलुकले इजरायललाई मान्यता नदिएको तथा भारत, चीन वा दक्षिण तथा दक्षिण पुर्वी एशियाका कुनै पनि मुलुकमा समेत दूतावास नखुलेको समयमा इजरायलको दूतावास काठमाडौँमा खुलेको थियो।

संयुक्त राष्ट्रसंघले सन् १९४७ मा बेलायतको अधिनमा रहेको हालको इजरायल र प्यालेस्टाइन रहेको भूमिलाई यहुदी र प्यालेस्टाइनीहरू बीच भाग लगाउन खोज्दा भारतले विरोध जनाएको थियो तर पछि भारतले त्यहाँ यहुदी र प्यालेस्टाइनी दुवै जातिको एउटा धर्मनिरपेक्ष मुलुक बनाउने प्रस्ताव समेत राख्यो।

इजरायलको स्थापना पश्चात भारतले यो नयाँ मुलुकलाई मान्यता दिए तापनि यहाँ आफ्नो राजदूतसहितको दूतावास चाहिँ सन् १९९२ यानी ४४ वर्षपछि मात्र शुरु गरेको हो।

वि.सं. २०१७ साल वैशाख १८ गते तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको प्रयासमा नेपालले इजरायललाई मान्यता दिएर दुई देश बीच दौत्य सम्बन्ध कायम भएको हो। पछि नेपालका प्रधानमन्त्री बीपी कोइरालाले सन् १९६० मा, राजा महेन्द्रले सन् १९६३ मा र युवराज वीरेन्द्रले सन् १९६८ मा इजरायलको भ्रमण गरे।

पछिल्लो समयमा पनि नेपालका अर्का प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सभामुख दमननाथ ढुंगानाले इजरायलको भ्रमण गरेका थिए भने त्यहाँका प्रख्यात विदेश मन्त्री मोसे दायानले सन् १९७९ मा नेपालको भ्रमण गरेका थिए। सन् २०१२ मा दौत्य सम्बन्ध स्थापना भएको ५० वर्षको उपलक्ष्यमा दुवै मुलुकले हुलाक टिकट पनि प्रकाशन गरे।

यसरी कठीन परिस्थितिमा नेपालको मान्यता पाएको मुलुक इजरायलले आज नेपालीहरू पनि दर्जनौँको संख्यामा हमासको हमलामा परेका तथा कैयन्को ज्यान जानुका साथै एक जना अझै हमासको कब्जामा रहँदा पनि नेपालले यो विषयमा खासै मद्दत पाएको देखिएन।

नेपाल सरकारले आफ्नै प्रयासले करिव अढाई सय जना अलपत्र परेका विद्यार्थी तथा कामदारलाई अन्य मुलुकले भन्दा पहिला नै विमान पठाएर उद्धार गर्न सक्नु एक ठूलो उपलब्धि भएको थियो, तर एउटा सानो र गरिव मुलुकको त्यस्तो प्रयासको पनि कुनै अन्तर्राष्ट्रिय समाचार मेडिया वा मुलुकले सह्राहना गरेको देखिएन भने नेपाली बन्दीलाई छिटो छुटाउन पनि इजरायल लगायत कुनै मुलुक वा मेडियाले बोलेको सुनिएन। आजको विश्वको विडम्बना भनेकै आफ्नो स्वार्थ गाँसएका मुलुकको अक्षम्य गल्तीमा पनि साथ दिने र स्वार्थ नगाँसिएकाको कदर नगर्नु हो।

यसो भन्दैमा इजरायलसँग नेपालको आज पनि रामो सम्बन्ध नभएको भने होइन। इजरायलमा नेपालबाट खासगरी कृषि क्षेत्रमा र वृद्धवृद्धाहरूको हेरचाह गर्न जाने कामदारहरू तथा त्यहाँ अध्ययनको निम्ति जाने विद्यार्थीको संख्या पनि ह्वात्तै बढेको छ। खासगरी कृषि शिक्षाका तालीम तथा छात्रवृत्ति पनि इजरायलले उपलब्ध गराउँदै आएको छ।

पानीको चरम अभाव भएको सुख्खा जमीनमा थोपा थोपा पानीले पनि कति सिँचाई गर्न सकिन्छ भन्ने प्रविधि नेपालीले मात्र नभई पुरै विश्वले इजरायलबाट नै सिकेका हुन्। त्यस्तै आर्टिफिसियल इन्टेलिजेन्समा इजरायलले मारेको फड्कोबाट भारतले समेत फाइदा लिएको छ। २०७२ सालको महाभूकम्पमा पनि इजरायलले उद्धार र मानवीय सहायताका क्षेत्रमा ठूलै योगदान गरेको थियो।

अमेरिकाका उच्चकोटीका प्रशासक, राजनैतिक नेता, कुटनीतिज्ञ, वैज्ञानिक, उद्योगी, व्यापारी तथा अन्य धेरै क्षेत्रका विज्ञहरू यहुदी मूलका नै छन् र उनका आफ्ना जाती, आफन्त र नातेदारले नै इजरायललाई आजको समृद्ध स्थितिमा पुर्‍याएका छन्।

त्यसैले पनि अमेरिकालाई इजरायल आफ्नै राज्य जस्तै भएको भान हुन्छ। युरोपका पनि धेरै मुलुकमा यहुदीहरूको यस्तै उच्च मान रहेको छ। तर यसो भयो भन्दैमा इजरायल जस्तो चरम दुखबाट उठेर विशाल संघर्ष पश्चात आज यो वैभवमा पुगेको राष्ट्रले छिमेकीसँग झगडा गर्ने मात्र होइन कि उसलाई निमिट्यान्न नै पार्न खोज्नु एक प्रकारले ज्यादै दुखद कुरा हो।

न त एक सानो मुलुक भएर इजरायलले पुरै मध्यपूर्वका राष्ट्रहरूसँग सम्बन्ध बिगारेर आफू अमेरिका जस्तै विश्व शक्ति नै हुँ जस्तो व्यवहार गर्न सुहाउँछ, न नै युक्रेनले युरोप र अमेरिकाको आडमा रसिया जस्तो विशाल छिमेकी मुलुकसँग जोरी खोज्न सुहाउँछ, भलै हमास वा रुस हालको स्थितिका दोषी पक्षहरू किन नहुन्।

हालको इजरायल-हमास युद्धमा गत ७ अक्टोबर यता करिव २१,५०० प्यालेस्टाइनी जनताको ज्यान गइसकेको छ। त्यस्तै क्रिसमसको सेरोफेरोमा मात्रै पनि करिव १५० प्यालेस्टाइनीहरू हताहत भएका थिए। यो युद्धमा मर्ने तथा घायल हुनेमा बच्चा र महिलाको संख्या अधिक छ।

मर्ने त मरि हाले, तर यस्तो विषम् परिस्थितिमा पनि बाच्न सफल भएका अनाथ तथा निरपराध प्यालेस्टाइनी बालबालिकाहरू हुर्केर ठूला भएपछि इजरायलको घोर विरोध र विनासमा लाग्दैनन् भनेर कसरी आशा गर्ने होला।

यसरी इजरायलले आफ्नो शक्ति र धनको दुरुपयोग गरेर आज गरेको अत्याचार र नरसंहारले भोलिका आफ्नै पिँढीको लागि दुर्दिन निम्त्याउने विदेशी जनशक्तिको निर्माण गर्दैछ। नेपाली थेगो अनुसार आफ्नै खुट्टामा आफैं बन्चरो हाने जस्तो।

इजरायली अन्धाधुन्ध बमबारीले प्यालेस्टाइनीका आवास मात्र नभई अस्पताल, उद्योगधन्दा, सडक तथा पूर्वाधार र बजार तथा शिक्षा र व्यावसायिक क्षेत्र पनि तहस नहस भएका छन् तर हमासका लडाकुको भने अत्तोपत्तो छैन।

नाकमा झिँगा बस्यो भनेर नाकै काटेझैं हमासको रिसमा मानवता माथिको इजरायलको एकोहोरो हमला, खेलबाड र बमबारीले सन् १९४५ अघिको जर्मन सेनाको उनै यहुदीहरू माथिको निर्मम दमनलाई आज उनीहरूले बिर्सेको र आफूले पनि शत्रुको सफायामा सोही तरिका अपनाउन पुगेको देखिन्छ।

त्यतिबेला जर्मन विरुद्ध एक भएका पश्चिमा एलिड फोर्स जस्तै आजका कैयन् युरोपीय मुलुक भने इजरायलको दमनको पक्षमा मौन समर्थनका साथ उभिएका छन् भने अमेरिकाले खुलै रूपमा समर्थन गरेको देखिन्छ।

विश्वको आँखा इजरायल-हमास युद्धतिरै मोडिएको कारण युक्रेन र जेलेन्स्की भने ओझेलमा पर्दै गएका छन्। यो काक्ताली मात्र हो या युक्रेन समस्याबाट बिस्तारै उम्कने नियोजित चाल हो, बुझ्न बाँकी नै छ। यसो भइरहेमा जेलेज्स्कीलाई आफ्नै मुलुकका जनताको मन जिति रहन पनि धाउधाउ पर्न सक्छ।

केही दशक अघिसम्म इजरायलको विरोधमा र प्यालेस्टाइनी जनताको पक्षमा वकालत गर्ने गरेका अरव राष्ट्र पनि आज मौन नै देखिन्छन्। इजरायलको यो वर्वर हमलाको विरोधमा इजिप्ट केही हदसम्म असन्तुष्ट भएको देखिन्छ भने टर्की यो मामलामा इजरायल र पश्चिमा शक्ति दुवैको विरोधी भएर निस्किएको छ।

शुरुमा मध्यस्तता समेत गर्न तयार भएको टर्की आज युद्धरत इजरायलसँग वाकयुद्धमा उत्रेको छ। टर्कीका राष्ट्रपति तयीप एर्डोगानले त इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हिटलरकै संज्ञा दिएर उनी हिटलरभन्दा फरक नभएको बताएका छन् तथा इजरायललाई गलत काममा सघाएकोमा अमेरिका र युरोपेली मुलुकसँग पनि रुष्ट भएका छन्।

हुन पनि हालको द्वन्द्वको फाइदा उठाएर इजरायलले पुरै गाजाबाट बीसौँ लाख प्यालेस्टाइनीहरूलाई हटाएर यो भूभाग आफ्नो अधिनमा राख्न खोजेको भान हुन्छ। भूगर्भशास्त्री तथा संयुक्त राष्ट्रसंघ अन्तर्गतको अङ्क्टाडको हालैको एक प्रतिवेदन अनुसार गाजा र यसका समुद्री तट मुनी प्राकृतिक ग्याँस १२२ ट्रिलियन क्युबिक फिट र पेट्रोलियम पदार्थ १.७ अर्ब ब्यारल जतिको ठूलो भण्डार फेला परेको छ रे।

प्यालेस्टाइनी जनताको जीवनस्तर उकास्न यो एउटा ठूलो बरदान सावित हुने भए तापनि हालसम्म इजरायलले यसको अध्ययन र अनुसन्धानमा समेत पनि उसलाई रोक लगाएको छ। तर इजरायल आफूले भने यसको उपभोग समेत गर्न थालिसकेको छ रे।

आज आएर हमास आक्रमणको बहानामा यो पुरै क्षेत्र आफ्नो बनाउन लागि परेको इजरायललाई कहीँ रूसबाट ग्यास र पेट्राोलियम पदार्थ आयात गर्न नसकेका पश्चिमा मुलुकहरूको पनि न्यानो ढाप त परेको छैन? अनि अमेरिकी नेभीको विशाल बेडा सो क्षेत्रको सुरक्षा गर्न भनी घुमिरहेको कारण पनि त्यही होकी ? एउटा लाटो घोत्ल्याइँ मात्र।

इजरायलको जन्म हुँदादेखि नै अरवको भूभाग खोसेर यो राष्ट्रको निर्माण गरिएकोमा प्यालेस्टानीहरू मात्र नभई अधिकांश अरब मुलुक रुष्ट भएका थिए र कैयन् पटक युद्ध नै भएको थियो।

हाल आएर इजरायलले पनि छिमेकीहरूसँग असल सम्बन्ध बनाउने नीति लिएर अघि बढेको र अरब राष्ट्रहरू समेत निकै हदसम्म लचकदार भएको बेलामा इरान वा कुनै समूहको आडमा हमास भन्ने समूहले अप्रत्याशित आक्रमण गर्‍यो भन्दैमा इजरायलले यस्तो ताण्डव नृत्य प्रदर्शन गर्न हुँदैन थियो।

उसले त सौम्य भएर यो संकटको समाधान गर्ने बाटो पो निकाल्नु पर्ने थियो। अझै पनि समय सकिइ सकेको छैन। अब आउने दिनमा इजरायलले युद्ध विरामको घोषणा गरेर आफ्नो मुलुकका र प्यालेस्टाइनका जनतालाई राहत पुग्ने कार्यमा समय र साधन खर्चेर एक उदाहरण पेश गर्न सके अझै पनि उ यो क्षेत्रको नायकमा नै गनिने छ, होइन भने उ इतिहासमा एक विध्वङ्शक खलनायकको रूपमा चित्रित हुने निश्चित छ। त्यसैले नायक वा खलनायक बन्ने रोजाई उसैसँग छ आज।

-लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *