२३९ यात्रुसहित चीन जाँदै गर्दा अमेरिकाले मिसाइल हानेको भनिएको १० वर्षदेखि बेपत्ता विमान भेटिँदै
काठमाडौं । सन् २०१४ मा बेपत्ता भएको मलेसिया एयरलाइन्सको उडान एमएच ३७० को रहस्य केही दिनमै खुल्न सक्नेछ । अहिले नै विमानको खोजी सुरु गरिए केही दिनमै विमान फेला पार्न सकिने विज्ञहरुको विश्वास छ ।
वास्तवमा, यही सेप्टेम्बरमा अनुसन्धान पछि एयरोस्पेस विशेषज्ञ जीन-लुक मार्चान्ड र पाइलट प्याट्रिक ब्लीले नयाँ क्षेत्रको बारेमा जानकारी दिएका थिए जहाँ विमान हराएको हुन सक्ने सम्भावना छ।
बेलायतको रोयल एरोनोटिकल सोसाइटीका दुवै विज्ञहरूले यस क्षेत्रमा गरिने अनुसन्धान १० दिनभित्र पूरा गर्न सकिने दाबी गरेका छन् । मार्चान्डले भने– यो काम छिट्टै गर्न सकिन्छ । विमानको भग्नावशेष नभेटेसम्म यसलाई के भयो भन्ने कसैलाई थाहा छैन।
दुवै विज्ञले अष्ट्रेलियन यातायात प्राधिकरण, मलेसिया सरकार र ओशन इन्फिनिटी नामक कम्पनीलाई खोजी सुरु गर्न अपिल गरेका छन् । विज्ञ मार्चान्डले भने– मलेसियाली विमानको यो एकतर्फी यात्रा अनुभवी पाइलटले गरेको हुनुपर्छ ।
उनले भने – जसले विमान अपहरण गर्यो त्यो निकै अनुभवी थियो । उसले पूर्ण योजना बनाएर कार्यान्वयन गरेको थियो । विमानको केबिनमा दबाब डटाइयो, ताकि त्यहाँ धेरै भग्नावशेष नहोस् र यो फेला पार्न नसकियोस्।
विज्ञहरूले यो पूरै घटना गराउनेलाई विमानको खोजी अभियान सञ्चालन भएमा उडानको निर्धारित रुटमा मात्रै हुने कुरा थाहा भएको बताए । यसका लागि विमानको ट्रान्सपोन्डर बन्द गरी निर्धारित रुटबाट हटाएर यू–टर्न लिइएको हुनुपर्छ । यस अवधिमा सम्भवतः उडान अटो पाइलट मोडमा थिएन।
केही दिनअघि अस्ट्रेलियाका एक जना माछा मार्ने ओलिभरले एमएच ३७० बेपत्ता भएको ६ महिनापछि आफूले विमानको पखेटा फेला पारेको दाबी गरेका थिए । सिड्नी मर्निङ हेराल्डसँग कुरा गर्दा माछा मार्नेले भनेका थिए– यो एउटा ठूलो विमानको पखेटा थियो । मैले यसलाई नभेटेको भए हुन्थ्यो, तर त्यो मेरो अगाडि थियो। यो धेरै भारी थियो र यसको कारण हामीले माछा मार्ने जाल च्यातियो ।
मलेशियन एयरलाइन्सको उडान एमएच ३७० क्वालालम्पुरबाट बेइजिङको लागि मार्च ८, २०१४ मा उडान भरेको ३८ मिनेट पछि बेपत्ता भयो । चिनियाँ मिडिया साउथ चाइना मर्निङ पोस्टका अनुसार जहाजमा २३९ यात्रु सवार थिए। उडान भरेको ३८ मिनेटपछि राडारबाट गायब भएको थियो ।
विमानको खोजीमा २६ देशका १८ जहाज, १९ विमान र ६ हेलिकप्टर खटिएका थिए । महिनौंको खोजी अपरेसनपछि सन् २०१७ मा यो अपरेसन आधिकारिक रूपमा बन्द गरिएको थियो। तर, २०१९ मा अमेरिकी कम्पनी ओशन इन्फिनिटीले फेरि खोज अभियान सुरु गर्ने घोषणा गरेको थियो ।
विश्वभरका रेडियो फ्रिक्वेन्सी डिस्टर्बन्स ट्र्याक गरेर विमानको अन्तिम बाटो पत्ता लगाएको विज्ञहरुको विश्वास छ । समुन्द्रमाथिको विमानको बाटोमा अचम्मको ढाँचा भेटियो । यो तब हुन्छ जब पाइलटले जानाजानी विमानको इन्जिन बन्द गर्छ।
बाटो सीधा थियो, त्यसैले पाइलट जाहरी अहमद शाहले यसलाई अटो-पाइलट मोडमा राखेको हुन सक्छ। सो क्रममा विमानसँगको सम्पर्क आफैँ टुटेको नभई टुटाइएको पनि दाबी गरिएको थियो । उडान नम्बर एमएच ३७० क्वालालम्पुरबाट १२.४१ बजे उडेको थियो । ठ्याक्कै ३८ मिनेटपछि विमानको ट्रान्सपोन्डर बिग्रियो ।
एटीसीले एउटै ट्रान्सपोन्डरमार्फत विमान र त्यसको बाटोलाई जमिनबाट नियन्त्रण गर्छ। विमानको ट्रान्सपोन्डर अफ गर्ने जो कोहीलाई थाहा थियो कि ट्रान्सपोन्डर बन्द हुने बित्तिकै विमान राडारको नजरबाट गायब हुनेछ।
३ वर्षअघि एक किताबमा यो विमान अमेरिकाले मिसाइल हानेर खसालिएको दाबी गरिएको थियो । यो विमानले बोकेर चीन लैजाँदै गरेका विद्युतीय उपकरणहरु जफत गर्ने प्रयासमा विफल भएपछि अमेरिकी वायु सेनाले यो विमानमा मिसाइल आक्रमण गरेको पुस्तकमा दावी गरिएको छ ।
खोज पत्रकार फ्लोरेन्ट डे चाङ्गेले आफ्नो नयाँ पुस्तकमा अमेरिकी सेनाले सिग्नल जाम गर्ने प्रविधिको प्रयोग गरेर यो विमानमार्फत गइरहेको कन्साइनमेन्ट नियन्त्रणमा लिने प्रयास गर्दा दुर्घटना भएको दावी गरेकी थिइन् ।
द सनमा प्रकाशित रिपोर्टअनुसार चाङ्गेले आफ्नो नयाँ पुस्तक ‘द डिस्एपियरिङ एक्टः द इम्पोसिबल केस अफ एमएच ३७०’ मा आफूले इतिहासकै सबैभन्दा ठूलो उड्डयन रहस्यमाथि ७ वर्षसम्म गरेको अनुसन्धानपछि आफूले स्थापित गरेका थ्योरीहरु विस्तृत रुपमा लेखेकी छिन् ।
डि चाङगेले यो घटनालाई बिडम्बनापूर्ण भन्दै आधिकारिक घटनाहरु छलमा आधारित भएको भनेकी छिन् । यो बोइङ ७७७ विमान पूर्वनिर्धारित रुपमा क्वालालम्पुरबाट बेइजिङको लागि उडेपछि एक घण्टाभित्रै नाटकीय परिवर्तन भएर विमान हिन्द महासागरमा दुर्घटना भएको देखिन्छ ।
डि चाङगेले भने निष्कर्षलाई डाइभर्सन अपरेशन भनेकी छिन् जसलाई पछिल्लो समयमा सबैभन्दा ठूलो गल्ती लुकाउने प्रयासको संज्ञा पनि दिएकी छिन् ।
४ सय पेजको पुस्तकमा फ्रान्सकी यी पत्रकारले अमेरिकी वायु सेनाले यो विमानलाई नियन्त्रणमा लिन खोजेको बताएकी छिन् ।
अमेरिकी वायुसेनाले यो विमानलाई ट्रयाकिङ टेक्नोलोजी प्रयोग गरेर राडारमा नदेखिने बनाएको र यसैले विनाशकारी परिणाम ल्याएको बताएकी छिन् ।
डि चाङगेका अनुसार एमएच ३७० ले विद्युतीय उपकरणको शिपमेन्ट बोकेर चीन जाँदै थियो र यसलाई अमेरिकाले स्वीकृत गरेको थिएन ।
पुस्तकमा उनले अमेरिकी सेनाले यो विमानलाई रिरुट गर्ने प्रयास गर्दा विफल भएपछि मिसाइल हानेर उडाइदिएको र अहिलेसम्म यो विषयलाई ढाकछोप गर्ने प्रयास गरिरहेको दावी गरेकी छिन् ।
उनका अनुसार शिपमेन्टमा २.५ टन ‘कमजोर दस्तावेजीकरण गरिएका मोटोरोला विद्युतीय उपकरण’ थिए । यिनीहरुले ठिकसँग सुरक्षा मापदण्ड पूरा गरेका थिएनन् र यिनीहरु अमेरिकाका थिए ।
डि चाङगेका अनुसार सम्भवतः यो विमानको म्याग्नेटिक फिल्ड ब्लक गरेर यसलाई राडारबाट गायब पार्नको लागि २ वटा अमेरिकी एयरबर्न अर्ली वार्निङ विमानहरु यसको तल र माथि उडेका थिए ।
डि चाङगेले लेखेकी छिन् ‘विमानलाई मिसाइल हान्नु ठूलो गल्ती हुन सक्छ तर विमान र यसको विशेष कार्गोलाई चीनको हातमा जानबाट रोक्ने अन्तिम प्रयास पनि थियो ।’ डि चाङगेले यो विषयमा मार्च २०१४ देखि खोजी सुरु गरेकी थिइन् ।
मलेसियन एयरलाइन्सको विमान एमएच ३७० २०१४ को मार्च ८ देखि बेपत्ता छ । यो विमान अन्तिम पटक दक्षिण चीन सागरमाथि राडारमा देखिएपछि बेपत्ता छ ।
यो विमान हिन्द महासागरमा दुर्घटना भएको अनुमान गरिएको छ । यसमा २२७ यात्रु र १२ जना चालकदलका सदस्य गरी कूल २३९ जना थिए । यी यात्रुमध्ये १५३ जना चिनियाँ नागरिक थिए ।
Facebook Comment