तीन दिन मात्रै बाँकी छँदा अर्जेन्टिनाका राष्ट्रपतिद्वारा ब्रिक्समा सामेल हुन अस्वीकार
काठमाडौं । अर्जेन्टिनाले आफू पूर्ण सदस्य बन्नुभन्दा केवल तीन दिनअघि ब्रिक्सको सदस्य बन्न अस्वीकार गरेको छ ।
देशका नयाँ राष्ट्रपति जेभियर माइलीले आफ्नो अघिल्लो सरकारको निर्णयलाई उल्टाउँदै अब ब्रिक्समा सामेल हुने योजना फिर्ता लिएका छन् ।
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका नेताहरुलाई लेखेको पत्रमा जेभियर माइलीले अघिल्लो सरकारले गरेका निर्णयहरु अब परिवर्तन हुँदै गएको बताएका छन् ।
अर्जेन्टिनालाई जनवरी १, २०२४ देखि पूर्ण सदस्यता दिइने ६ देशको बहुप्रतिक्षित सूचीमा समावेश गरिएको थियो।
अन्य पाँच देशहरू इजिप्ट, इरान, इथियोपिया, साउदी अरब र संयुक्त अरब इमिरेट्स हुन्। यसपछि ब्रिक्स सदस्य राष्ट्रहरूको कुल संख्या पाँचबाट बढेर १० पुग्ने थियो।
नोभेम्बरमा दक्षिणपन्थी अर्थशास्त्रका प्राध्यापक माइलीको जितपछि अर्जेन्टिनाको सोचमा यो परिवर्तन आएको हो । उनले डिसेम्बर १० मा आफ्नो पदभार ग्रहण गरे।
माइलीले वामपन्थी अल्बर्टो फर्नान्डेजलाई प्रतिस्थापन गरेका छन्, जसको सोच अहिलेको ब्रिक्स सदस्य देशहरूसँग मिल्दोजुल्दो थियो।
माइलीले आफ्नो देशको कमजोर अर्थतन्त्र सुधार गर्न कडा कदम चाल्ने वाचा गरे पनि चुनावमा उनले आश्चर्यजनक जित हासिल गरे।
ब्रिक्सका वर्तमान सदस्यहरूलाई पठाएको पत्रमा जेभियर माइलीले आफ्नो सरकारको परराष्ट्र नीति विगतको सरकारभन्दा धेरै हिसाबले फरक रहेको बताएका छन् ।
उनले अर्जेन्टिनालाई ब्रिक्सको पूर्ण सदस्य बन्न ‘उचित’ नठानेको तर यी देशहरूसँगको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको बताए।
Facebook Comment