महिलाको आँसुको गन्धले पुरुषहरूको रिस शान्त हुन्छ !
काठमाडौं । महिलाले कुनै पनि झगडामा आँसुलाई हतियारको रुपमा प्रयोग गर्ने गरेको धेरैले बताएका छन् । यो फरक बहसको विषय हो तर यो पनि सत्य हो कि प्रायजसो दम्पतीमा झगडा हुँदा महिलाहरु रुन्छन र पुरै झगडा समाप्त हुन्छ ।
भनिन्छ नारीको आँसुको अगाडि पुरुष कमजोर हुन्छ तर यो सत्य होइन । बरु, यी आँसुहरू वास्तवमा एक हतियार हुन् जसको बारेमा पुरुष र महिला दुवैलाई थाहा छैन।
हालैको अध्ययनमा जे खुलासा भएको छ त्यो अचम्मको छ। पीएलओएस बायोलोजीमा बिहीबार प्रकाशित एक अध्ययनको निष्कर्ष अनुसार महिलाको आँसुको गन्धले पुरुषको आक्रामकता कम गर्छ।
इजरायलको वेइजम्यान इन्स्टिच्युट अफ साइन्सद्वारा गरिएको अनुसन्धानले पत्ता लगाए अनुसार मानव आँसुमा एक रासायनिक संकेत हुन्छ जसले आक्रामकतासँग सम्बन्धित मस्तिष्कका दुई भागको गतिविधिलाई कम गर्छ।
यस कार्यको नेतृत्व गर्ने पीएचडी विद्यार्थी शनि एग्रोनले एक विज्ञप्तिमा भने ‘जब अनुसन्धानकर्ताहरूले अध्ययनको लागि स्वयंसेवकहरू खोज्न थाले, धेरैजसो महिलाहरू अगाडि आए किनभने तिनीहरूको लागि रुनु सामाजिक रूपमा स्वीकार्य छ।’
वेइजम्यान इन्स्टिच्युटका अनुसार अघिल्लो अध्ययनहरूले पोथी मुसाको आँसुले भाले मुसासँगको लडाइलाई कम गर्छ र भाले मुसाले अन्य आक्रामक मुसाको आक्रमणबाट बच्न आफ्नै आँसु बगाउँछ भन्ने देखाएको थियो । वैज्ञानिकहरूले भनेअनुसार अन्य अनुसन्धानले पनि आँसुको गन्धले टेस्टोस्टेरोन कम गर्छ भनेर देखाएको छ।
एग्रोनले न्युजवीकलाई भने ‘अघिल्लो नतिजाले आँसुको गन्धपछि पुरुषहरूमा टेस्टोस्टेरोनको स्तर घटेको देखाएको छ जसले आँसुले आक्रामकता कम गर्ने सुझाव दिन्छ। मुसा पछि हामीले आँसुले मानिसमा समान प्रभाव पार्छ भन्ने अनुमान गरेका थियौं। प्रयोगशालामा यसको प्रभाव देखेर हामी छक्क पर्यौं। पुरुषमा बदला लिने चाहना ४३.७ प्रतिशतले घट्यो ।’
अधययनमा पुरुषहरूलाई कम्प्युटर गेम खेल्न दिइयो जुन अन्य आक्रामक अध्ययनमा प्रयोग गरिन्थ्यो । जसमा खेलाडीहरूले पैसा जम्मा गरे । अर्को खेलाडीले उनीहरूबाट पैसा चोर्ने प्रयास गरे। खेलाडीहरूले बदला लिन र विपक्षीको पैसा चोर्न सक्थे ।
यस खेलमा महिलाको आँसुको गन्ध आएपछि पुरुषमा बदला लिने इच्छा ४३.७ प्रतिशतले घटेको अध्ययनले देखाएको छ । यी नतिजाहरू मुसाहरू समावेश गरिएका अध्ययनहरूको नतिजासँग मिल्दोजुल्दो छन् । वैज्ञानिकहरूले आँसुको गन्ध पाएपछि मस्तिष्कको आक्रामकतासँग सम्बन्धित क्षेत्रहरू – प्रिफ्रन्टल कोर्टेक्स र एन्टेरियर इन्सुला – कम सक्रिय भएको देखे।
लिभरपुल जोन मूर्स युनिभर्सिटीकी मनोवैज्ञानिक डा मिन्ना लियोन्सले गार्डियनलाई यो खोज उल्लेखनीय भएको तर यसलाई पूर्णतया सही मान्न नहुने बताइन् । उनले वास्तविक जीवनमा कुरा फरक हुनसक्ने बताइन् ।
Facebook Comment