राप्रपाका नेताहरुसँगको भेटमा पूर्वराजाले भने- मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो
काठमाडौं। एक सातादेखि भैरहवामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले भेटेका छन्।
राप्रपा अध्यक्ष लिङ्देन सहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवल शमशेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंह आज भैरहवा पुगेर पूर्वराजासँग भेटवार्ता गरेका हुन्।
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले भेटपछि पूर्वराजाको भनाइ उद्धृत गर्दै फेसबुकमा लेखेका छन्, ‘हामी सबैले धेरै देख्यौ /बुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु। मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरो लागि बराबर छन्।’
पछिल्लो राजनीतिक अवस्था र नागरिक अयिभयन्ता दुर्गा प्रसाईंको घोषित आन्दोलनमा राप्रपाको भूमिका विषयमा छलफल गर्न राप्रपाको टोली पूर्वराजा भेट्न पुगेको बताइएको छ ।
पूर्वराजा शाहले नेपालको पश्चिम क्षेत्रका धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सक्रियता बढाउँदै भैरहवामा बसिरहेको बेला राप्रपा अध्यक्षसहितको टोली उनलाई भेट्न गएको हो।
पुस ८ गते भैरहवा पुगेका पूर्वराजा अहिले मध्यपश्चिम केन्द्रित विभिन्न कार्यक्रममा सहभागीता जनाइरहेका छन्। उनी अहिले भैरहवाको पाँच तारे होटेल सिद्धार्थमा बसेका छन् ।
भैरहवामा रहेका पूर्वराजा शाहले बुटवलको जीतगढी किल्ला र निलकण्ठ धाम, देवदहको पाकरी बृक्ष, नारायणपुर दर्बहवा, शिव मन्दिरलगायतका स्थानको भ्रमण गरिसकेका छन्।
शनिबार उनले कपिलबस्तुको शिवराज नगरपालिका-३ मा पृथ्बीनारायण शाहको शालिक अनावरण गरेका थिए ।
बिहीबार पूर्वराजा शाहलाई रुपन्देहीमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।
Facebook Comment