केएमसीका आवासीय चिकित्सक दाहालको निलम्बन तत्काल फिर्ता लिन निर्देशन

डिसी नेपाल
२४ पुष २०८० १७:१६

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजद्वारा निलम्बित आवासीय चिकित्सक विशद दाहालको निलम्बन तत्काल फिर्ता लिन निर्देशन दिएका छन् ।

मंगलबार प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षा सचिव सुरेश अधिकारीले काठमाडौं विश्वविद्यालयका उपकुलपतिलाई एक पत्र मार्फत मन्त्री राईले निलम्बन तत्काल फिर्ता लिन निर्देशन दिएको जानकारी दिए ।

उनले सिधै कलेजलाई निर्देशन दिने व्यवस्था नरहेकाले काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को दफा १३ क अनुसार सहकुलपतिले विश्वविद्यालयमार्फत निर्देशन दिइएको बताए । काठमाडौं विश्वविद्यालयबाट स्वास्थ्य शिविर र स्थलगत अध्ययन सम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्रै विद्यार्थीलाई स्वास्थ्य शिविरमा खटाउन पनि निर्देशन दिइएको सचिव अधिकारीले बताए ।

काठमाडौं मेडिकल कलेजका सञ्चालकले आफूहरूलाई पाठ्यक्रममै नभएको स्वास्थ्य शिविरमा लैजाने गरेको भन्दै विरोध गरेपछि चिकित्सक दाहाललाई कलेजले निलम्बन गरेको थियो । दाहालको निलम्बन तत्काल स्थगन गर्न भन्दै यसअघि काठमाडौं विश्वविद्यालयले कलेजलाई पत्र पठाएपनि कलेजले उक्त निर्देशन पनि अवज्ञा गरेको पाइएपछि सहकुलपति समेत रहेको सचिव अधिकारीले बताए ।

त्यस्तै बैठकमा विभिन्न सरोकारवाला समूहसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *