ऐतिहासिक पात्र पृथ्वीनारायण शाहलाई सम्झँदा
नेपालको इतिहासका सर्वाधिक चर्चित पात्र राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको उपलक्ष्यमा इतिहासलाई सम्मान गर्दै तिनै पात्रलाई श्रद्धासुमन अभिव्यक्त गर्ने रहर चल्दा यो आलेख तयार भएको हो।
नेपालको इतिहासकै सम्भवत कान्छो राज्य गोर्खाका राजा पृथ्वीनारायण शाहले विजय अभियान सञ्चालन गर्दै काठमाडौँ उपत्यकालगायत पूर्वका सेन राज्यहरूलाई समावेश गरी विशाल गोर्खा राज्य बनाउने अभियानबाट कालान्तरमा नव नेपाल निर्माण भयो, जुन आजको नेपाल हो। यस अर्थमा हेर्दा विशाल राज्यको अधिपति हुने पृथ्वीनारायण शाहको महत्त्वाकांक्षाबाट गोर्खा राज्य विस्तृत हुने क्रम पछि गएर एकीकरण हुन पुग्यो।
पृथ्वीनारायण शाहका विषयमा तत्कालीन समयदेखि हालसम्म पनि विभिन्न विद्वान्हरूले कलम चलाइरहेका छन्। वंशावली र पृथ्वीनारायण शाहका समकालीन कवि तथा जेसेप्पी जस्ता इसाई पादरीहरूले उनका जीवनी र कार्यमा प्रशंसा, गुणगान र केही कमीकमजोरीका पक्षमा लेखिएका सामग्रीहरू बग्रेल्ती छन्।
यसैगरी अंग्रेज कूटनीतिज्ञ विलियम कर्क प्याट्रिक तथा हड्सन लगायत धेरैले उनको समयमा भएका कार्यहरूको लेखाजोखा गरेका छन्। पृथ्वीनारायण शाहका विषयमा सोधखोज गरी सूर्यविक्रम ज्ञवलीले विसं १९९२ सालमा नै एक गतिलो ग्रन्थ प्रकाशन गरेका थिए।
उक्त ग्रन्थ नै पृथ्वीनारायण शाहको इतिहास लेखन विधामा भएको पहिलो प्रयास भने पनि हुन्छ। यसैगरी बाबुराम आचार्य, नयराज पन्त र यिनै गुरुबाट दीक्षित धनवज्र वज्राचार्य, महेशराज पन्त, दिनेशराज पन्त, ज्ञानमणि नेपालबाट पनि पृथ्वीनारायणका विषयमा धेरै सामग्री सूचना प्रकाशन गरी सोधखोज गर्ने कार्य भयो।
एल एस बराल (ईश्वर बराल), लुडबिग एफ स्टिलर, तुलसीराम वैद्य आदिले पृथ्वीनारायण शाह र तत्कालीन समयका सन्दर्भमा विद्यावारिधि नै गरे। यसैगरी २०१० देखि हालसम्म नै पृथ्वीनारायण शाहलाई केन्द्र बनाएर अनेकौँ अनुसन्धान भएका छन् र हुँदै पनि छन्। यसै क्रममा पछिल्लो कढीका रूपमा राजकुमार दिक्पालको पृथ्वीनारायण शाहको आलोचनात्मक इतिहास प्रकाशन भएको छ । उक्त कृतिको अध्ययन गर्ने अवसर भने मिलेको छैन।
विसं २००७ देखि २०४६ सम्म पहिलो, ०४६ देखि ०६२-६३ सम्म दोस्रो तथा ०६२-६३ पश्चात् तेस्रो गरी तीन कालखण्डमा पृथ्वीनारायण शाह विषयमा लेखिएका कृतिमा तीन धार पाइन्छन्। यी तिनै कालखण्डमा देखा परेका ग्रन्थमा तत्कालीन राजनीतिको प्रत्यक्ष र परोक्ष प्रभाव देख्न सकिन्छ।
पृथ्वीनारायण शाहको जीवनकालमा घटेका सबै घटना अवश्यमेव सुपाच्य थिएनन्। हुनसक्ने कुरा पनि थिएन। जयन्त राना, नगरकोटी, कीर्तिपुर र भक्तपुरका जनताप्रतिको व्यवहार निसन्देह सुपाच्य छँदै थिएन। त्यसै आधारमा मात्र पृथ्वीनारायण शाहको मूल्यांकन गर्न पनि किमार्थ सुहाउँदैन।जेसेप्पी र पृथ्वीन्द्र वर्णनोदय जस्ताले प्रवाह गरेको सूचना दुई विपरीत ध्रुवका छन्। यिनको पनि परीक्षण र सम्परीक्षण हुनै पर्छ। जेसेप्पीले कीर्तिपुरको घटना देखे तर अन्यत्र त्यसभन्दा सङ्गीन घटनाको किन चर्चा गरेनन् त? भन्ने प्रश्नको जवाफ पनि खोज्नै पर्ने हुन्छ।
इतिहास शिरोमणि बाबुराम आचार्यले श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी चार भागमा राजदरबारबाटै प्रकाशित भए। पृथ्वीनारायण शाहको जन्मदेखि मृत्युसम्मका महत्त्वपूर्ण घटनाहरू यी पुस्तकमा समेटिएका हुँदा ऐतिहासिक सामग्रीको भण्डार नै हो भन्दा पनि हुन्छ।
तर, पृथ्वीनारायण शाहको विषयमा गुणानुवर्णन आवश्यकताभन्दा बढी भएको छ। दिव्य उपदेशको विषयमा उनको अभिव्यक्तिलाई एउटा उदाहरणका रूपमा प्रस्तुत गरिन्छ। यो दस्तावेज विसं १९९० मा नै फेला परेपनि प्रकाशित हुन नसकेकोमा उनको भनाइ यस्तो रहेको थियो :
यो दिव्य उपदेश देखेर तत्कालीन व्यवस्थाको मुटु हल्लियो … इस्वी सम्बत् १९५१ मा पारिवारिक शासन टुटेपछि प्रकाशनको अधिकार मिल्दा दिव्य उपदेशका लगभग २५ हजारप्रति पुस्तिका नेपाल अधिराज्यमा फिजियो ।आज जुनसुकै साक्षर व्यक्ति पनि पृथ्वीनारायण शाहको त्यो अमृत वाणी ठान्छन् … (भाग ४, २०२४ पृष्ठ ५५७)
राणा शासकले यस दिव्योपदेशप्रति पूर्वाग्रह राख्नुपर्ने न कुनै विषयवस्तु नै थियो न त यस उपदेशलाई नेपालीले अमृतवाणी नै ठानेका थिए। विसं २०१७ सालपश्चात् शाह राजाहरूको अतिसयोक्तिपूर्वक गुणानुवर्णन गरिएका पुस्तकहरू देखा परे। यसको सूची लामै होला।
राजा र दरबारलाई प्रसन्न बनाउने हेतुले अरूको त के कुरा रणबहादुर, राजेन्द्रविक्रम र सुरेन्द्रविक्रमका अवाञ्चित कर्मलाई पनि ढाकछोप गर्ने उत्साह देखाए। पृथ्वीनारायण शाहको त कुरै भएन। उनको देन र गुण छँदै थियो। छँदै छ पनि।
विसं २००९ सालदेखि पुस २७ गते पृथ्वीजयन्ती विशेष समारोहका साथ मनाउन थालिएको हो। विसं २०१७ देखि २०४६ सालसम्म त पृथ्वीनारायण शाहलाई देवत्वकरण नै गरियो। पृथ्वीनारायण शाहका गाथा र तथ्यलाई इतिहासकै अंग्ग बनाइयो।
दिव्य उपदेशलाई गायत्री मन्त्रकै रूप दिइयो। यसै जयन्तीमार्फत पञ्चायतलाई सुदृढ बनाउने अनेकौँ प्रपञ्च रचिए। विसं २०४६ देखि २०६२ सालसम्म पृथ्वीनारायण शाहका विषयमा वस्तुनिष्ठ मूल्यांकनका प्रयास भए। उनका गुण र दोष केलाउन थालियो। देवत्वकरण गर्ने शृङ्खला बन्द भयो।
यसै कारण २०४६ पश्चात् लेखिएका पुस्तकमा भने राजा, राजतन्त्र, दरबार जस्ता विषयमा प्रशंसा खर्चिएका त्यति पुस्तक आएनन्। केही वस्तुनिष्ठ विश्लेषण गर्ने परिपाटी सुरु भयो। विसं २०६२-६३ को आन्दोलन र राजतन्त्र समाप्तिपछि भने राजाहरूका विषयमा गालीगलौजका स्वरहरू बुलन्द हुँदै आए।
हिजो गुम्सिएर र निसास्सिएर बोल्न नसकेका अथवा चाटुकारका भयले अथवा अन्य विविध कारणले प्रकाशमा आउन नसकेका घटना एवम् विचार बाहिर आउन थाले। जुन स्वाभाविक पनि हो। समय सापेक्ष मूल्यांकन सोही समयमा लेखिएका कृतिमा हुन सक्दैन भन्ने स्थापित दर्शन हो।
त्यसैले इतिहास निरन्तर लेखिनुपर्ने र चलायमान विधा हो। विचार मन्थन हुँदै जाँदा, अनुसन्धान गर्दै जाँदा कतिपय नवीन धारणाहरू पनि आउने छज्, जसबाट ज्ञानको क्षितिज फराकिलो हुन जान्छ।
वर्तमान सन्दर्भमा विकसित मानव अधिकारवादी सिद्धान्त, सम र समतावादी आग्रह, आदिवासी जनजातिको अवधारणा र वसुदैव कुटुम्बकम्को आदर्शबाट हिजोको समय हेरिनु हुँदैन। आजको आँखामा हिजो हेरिनुहुन्न। हिजो हेर्दा हिजोकै नजर लगाउनु पर्दछ।
पृथ्वी जयन्तीलाई एकतादिवस मानिएको, पौष २७ गतेको बिदा काटिएको तथा २०७९ देखि फेरि थपिएको देखिन्छ। यसरी बिदा काट्ने र थप्ने दुवै कार्य राजनीतिबाट प्रेरित भएका हुन्। पृथ्वीनारायण शाहको सालिक भत्काइए र फेरि ठड्याइए। यसमा पनि राजनीति भयो।
इतिहासलाई राजनीतिक स्वार्थले हेरिँदा, इतिहासको मर्मविपरीत धर्म र राजनीतिलाई जोड्दा तथा हिजोको घटनालाई आजको सन्दर्भमा हेर्दा आज धर्म तथा जातिका नाममा संघर्ष पैदा हुने स्थिति आएको छ।
यस्तो स्थिति आउनुमा इतिहासको मर्मलाई प्रहार गरी राजनीतिक स्वार्थ पूरा गर्ने जमात उत्तरदायी छन्। हिजो भएका द्वन्द्व संघर्ष मारकाटबाट मुलुकले के पायो? यो अहम् सवालको जवाफ खोज्ने बेला आएको छ।
पृथ्वीनारायण शाहको जीवनकालमा घटेका सबै घटना अवश्यमेव सुपाच्य थिएनन्। हुनसक्ने कुरा पनि थिएन। जयन्त राना, नगरकोटी, कीर्तिपुर र भक्तपुरका जनताप्रतिको व्यवहार निसन्देह सुपाच्य छँदै थिएन। त्यसै आधारमा मात्र पृथ्वीनारायण शाहको मूल्यांकन गर्न पनि किमार्थ सुहाउँदैन।
जेसेप्पी र पृथ्वीन्द्र वर्णनोदय जस्ताले प्रवाह गरेको सूचना दुई विपरीत ध्रुवका छन्। यिनको पनि परीक्षण र सम्परीक्षण हुनै पर्छ। जेसेप्पीले कीर्तिपुरको घटना देखे तर अन्यत्र त्यसभन्दा सङ्गीन घटनाको किन चर्चा गरेनन् त? भन्ने प्रश्नको जवाफ पनि खोज्नै पर्ने हुन्छ।
पृथ्वीनारायण शाहको कार्य र योगदानका विषयमा विभिन्न विचार तथा अवधारणा आएका छन्। यस्ता विषयमा निरन्तर अध्ययन अनुसन्धान हुँदै जानु बान्छनीय पनि छ। नेपालमा इतिहास र इतिहासका स्रोतलाई एउटै डालोमा हालिने हुँदा यदाकदा दुविधा उत्पन्न हुन जान्छ।
धेरै कालसम्म वंशावली तथा तत्कालीन समयमा शासकलाई रिझाउने उद्देश्यले लेखिएका काव्य र अन्य साहित्यिक ग्रन्थलाई इतिहास भन्ने र बुझ्ने गरियो। इतिहास लेखन विधामा पनि तत्कालीन राजनीतिको प्रभाव परेको हुन्छ। र पर्छ नै।
त्यसैले होला तत्कालीन समयमा लेखिएका पुस्तक र शासकीय प्रभावले इतिहास लेखन विधामा प्रत्यक्ष वा परोक्ष रूपमा आग्रह नै गरेका हुन्छन्। नेपालको इतिहास लेखन विधामा पनि राजनीतिले ठूलो चलखेल गरेको पाइन्छ।
शासन तथा शासकको अवसानपछि भने ठिक उल्टो पूर्वाग्रहपूर्वक नकारात्मक प्रभाव पार्ने प्रकारले लेखिएको पाइन्छ। यी विपरीत ध्रुवमा इतिहास लेखिँदा सबै भने सुपाच्य हुन नसकेको यथार्थलाई स्वीकार गर्नै पर्छ।
त्यसैले इतिहास लेखन कार्यले निरन्तरता पाउँदै जाँदा, नयाँ सामग्री सूचना प्रकाश हुँदै जाँदा, समयको निश्चित र वस्तुनिष्ठ मूल्यांकन हुन सक्छ। कुनै पनि घटनाको विश्लेषणमा फरक फरक मत आउँछन् र आउनुपर्दछ। तर, घटना भने यथार्थमा आधारित भएकै हुनुपर्छ। त्यसैले होला इतिहासलाई विज्ञान र कला दुवैको सममिश्रण हो भन्ने गरिन्छ।
पृथ्वीनारायण शाहको अभियान र व्यक्तित्वले धेरै सन्देश प्रवाह गरेको छ। मुलुकमा राजा र प्रजा एक हुँदा उत्साहजनक सफलता पाउन सकिन्छ भन्ने तथ्यलाई गोरखाले प्रमाणित गरेको छ।
चौबिसीमा कान्छो राज्य गोर्खाले स्रोतसाधनको अभाव हुँदाहुँदै पनि तत्कालीन काठमाडौं उपत्यकाका समृद्ध मल्ल राजाहरूलाई पराजित गर्न सक्यो। वैभवशाली र समृद्ध उपत्यका शासकहरूबीच समन्वय र मेलमिलाप नहुँदा तथा राज्यभित्रै पनि षड्यन्त्रकारी राजनीति मौलाएको हुँदा पतन हुन पुग्यो।
राज्य विभाजनबाट मुलुक कमजोर हुन्छ भन्ने कुरा सेन र उपत्यकाका मल्ल राज्यहरूको स्थिति बुझेर नै उनले आफ्ना भाइहरूलाई विजित प्रदेशको राजा बनाएनन्। पृथ्वीनारायण शाहका भाइमध्ये केही विजित राज्यको राजा हुन नपाउँदा रिसाएका थिए। नेपालको इतिहास हेर्ने हो भने मुलुकमा मेलमिलापको राजनीति नहुँदा संगीन र दीर्घकालीन असर पर्ने घटना घटेका दृष्टान्त पाइन्छ।
सन् १७९२ को नेपाल-चीन सन्धि, सन् १७९२ तथा १८०१ मा कम्पनी सरकारसँग भएको सन्धि, सन् १८१६ को सुगौली सन्धि तथा सन् १९५० को गणतन्त्र भारतसँगको सन्धि हुनुमा मुलुकको आन्तरिक राजनीतिले प्रभाव पारेको थियो।
आन्तरिक राजनीतिको खिचातानीबाट हाल मुलुक अस्तव्यस्त हुन पुगेको सन्दर्भ हेर्दा पृथ्वीनारायण शाहलाई धारे हात लगाउने किन? उनले गरेका कार्यको समय सन्दर्भ र परिणाम नबुझी अवमूल्यन किन हुँदै छ ? यसको जरो कता छ? यस्ता कुरामा नेपालीले ध्यान दिनै पर्ने बेला आएको छ ।
नत्र विगतका तीता घटनालाई मात्र महत्त्व दिँदा कहिल्यै मिठो नहुने हेक्का राख्नै पर्छ। हिजोलाई गाली गर्नेले गरेको राम्रो कार्य भोलि देखिन्छ। नत्र भूतलाई मात्र दोष दिने कार्य गर्दा त्यही भूतले सताउँछ भन्ने हेक्का पनि राख्नै पर्छ।
नव नेपाल निर्माण गर्ने क्रममा पृथ्वीनारायण शाहको योगदान कदर गर्नै पर्ने हुन्छ। उनले चलाएको विजय अभियानबाट कालान्तरमा नेपाल एक सफल राष्ट्रका रूपमा देखा पर्यो। निसन्देह नव नेपाल निर्माण गर्न र यस क्षेत्रलाई अंग्रेजको प्रभावबाट पृथक् राख्न उनले राष्ट्रिय एकीकरण अभियान सञ्चालन गरेका थिएनन्।
एउटा विशाल साम्राज्यको शासक हुने उनको महत्वाकांक्षाबाट प्रेरित थियो, उनको अभियान। पृथ्वीनारायणले उठान गरेको विजय अभियानलाई निरन्तरता दिँदै जाँदा वर्तमान नेपालको भूगोल बन्यो। यस अर्थमा पृथ्वीनारायण शाहलाई नव नेपालका निर्माता भन्न कन्जुस्याइँ गर्नुहुन्न। पृथ्वीनारायण शाह राष्ट्रनिर्माता नै हुन्। अतः राष्ट्रनिर्माताप्रति हार्दिक श्रद्धासुमन। अस्तु।
Facebook Comment