एक्समा एउटा गलत पोस्टका कारण बिटक्वाइनको मूल्य एक्कासी बढ्यो

डिसी नेपाल
२५ पुष २०८० १६:००

काठमाडौं । अमेरिकी शेयर बजार नियामक सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) को एक्स खाताबाट मंगलबार एउटा ट्वीट गरिएपछि बिटक्वाइनको मूल्यमा उछाल आएको छ।

यो ट्वीटमा भनिएको छ ‘एसइसीले क्रिप्टोकरन्सीमा तथाकथित नयाँ एक्सचेन्ज ट्रेडेड फन्डलाई अनुमोदन गरेको छ।’ तर एसइसीले पछि उसको खाता ‘कम्प्रोमाइज्ड’ भएको भन्दै यो ट्वीट हटायो। एक्सले यो समस्या आफ्नो सिस्टम ह्याकिङका कारण नभएको बताएको छ ।

यो गलत पोस्टका कारण बिटक्वाइनको मूल्य ४६ हजार डलरबाट बढेर ४८ हजार डलर पुगेको छ । यो समाचार तयार पार्दासम्म फेरि ४६ हजार डलरको हाराहारीमा झरेको छ ।

अमेरिकी बजार नियामक एसईसीले यो हप्ता नयाँ ईटीएफमा आफ्नो निर्णय घोषणा गर्न सक्ने आशा गरिएको थियो। एसइसीको खाताबाट यो गलत ट्वीट मंगलबार वाशिंगटनको स्थानीय समय ४ बजेपछि पोस्ट गरिएको थियो।

यस ट्वीटका अनुसार, “नियामकले सबै दर्ता गरिएको राष्ट्रिय सेक्युरिटी एक्सचेन्जहरूमा बिटकोइन ईटीएफ सुरु गर्न अनुमोदन गरेको छ।” यो पोस्ट तुरुन्तै भाइरल भयो।

यद्यपि, एसईसीका अध्यक्ष ग्यारी जेन्सलरले केही समयपछि नै आफ्नो ‘एक्स’ खाताबाट एसईसीको खाता ह्याक भएको र गलत पोस्ट ट्वीट गरिएको जानकारी दिए।

एसइसीले स्पट बिटकोइन ईटीएफहरूको सूचीकरण र व्यापारलाई अनुमोदन गरेको छैन। एसईसीका प्रवक्ताले पनि बीबीसीलाई यही कुरा बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *