क्रिकेट खेलिरहेका एक खेलाडीलाई अर्को खेलको बल आएर टाउकोमा लाग्दा मृत्यु
काठमाडौं । भारतको मुम्बईको माटुंगा इलाकामा क्रिकेट खेलका क्रममा ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनी जुन मैदानमा क्रिकेट खेल्दै थिए, त्यही मैदानमा एकैसाथ दुई खेल भइरहेका थिए । उनलाई उनी केलिरहेको खेलको नभइ अर्को खेलको बलले टाउकोमा लागेको थियो
दोस्रो खेलको बल उनको टाउकोमा लागेर उनी त्यहीँ ढलेका थिए । घाइतेलाई तत्कालै उपचारका लागि नजिकैको अस्पतालमा लगिएको थियो तर अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको थियो ।
जानकारी अनुसार सोमबार दिउँसो मुम्बईको माटुङ्गास्थित दडकर मैदानमा टी–२० खेल चलिरहेको थियो, उक्त मैदानमा एकैसाथ दुई खेल खेलाइँदै थियो, दुवै खेल एउटै प्रतियोगिताका थिए । यो खेल ५० वर्षभन्दा माथिकाले खेलिरहेका थिए । यी मध्ये एक खेलाडी ५२ वर्षीय जयेश सावला थिए ।
जयेश सावला नामका व्यक्तिलाई फिल्डिङ गर्ने क्रममा कन्चटमा क्रिकेट बलले लागेको बताइएको छ । मुम्बईमा प्रायः एउटै मैदानमा धेरै खेल खेलिन्छन् र कहिलेकाहीँ अन्य खेलका बलले खेलाडी घाइते हुने गर्छन् तर खेलको क्रममा बल लागेर कसैको मृत्यु भएको यो पहिलो पटक हो ।
माटुङ्गा प्रहरीका वरिष्ठ प्रहरी निरीक्षक दीपक चव्हाणका अनुसार यस विषयमा एडीआर दर्ता गरी अनुसन्धान भइरहेको छ । हाल कसैलाई सोधपुछ गरिएको छैन, तर आवश्यक परेमा सोधपुछ गर्न सकिन्छ। पोष्टमार्टमपछि जयेश सावलाको शव परिवारलाई जिम्मा लगाइएको छ । जयेश पेशाले व्यवसायी थिए ।
Facebook Comment