सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन : रक्षामन्त्री खड्का

डिसी नेपाल
२७ पुष २०८० १३:००

कैलाली। उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगरेको दाबी गरेका छन्।

शुक्रबार कांग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले सरकारले असाध्यै राम्रो काम नगरेको भए पनि मध्यमस्तरको काम भने गरिरहेको उल्लेख गरे।

“हामीले जनताका लागि कति राम्रो काम गर्न सकेका छौँ, त्यो जनताका बीच छलफल हुनेनै छ”, उनले भने, “वर्तमान सरकारले निकै राम्रो काम गरेको छ पनि भन्दिन । तर सरकारले मध्यमस्तरमा रही काम गरेको छ । जनताको शिर झुकाउने गरी कुनै पनि काम गरेको छैन।”

उपसभापति खड्काले आर्थिक स्रोतको अपर्याप्तताका कारणले विकास निर्माणका काम सुस्त भएको बताए। पर्याप्त बजेट नहुँदा चाहेर पनि विकास निर्माणका काम अपेक्षाअनुसार हुन नसकेको उनकाे भनाइ छ । यद्यपि भएको स्रोतको सदुपयोग गर्दै केही प्रयास भने भइरहेको उनले बताए।

जनता र सेवाग्राहीसँग जोडिएका विषयमा हुने झन्झट, अप्ठ्यारोपन, ढिलासुस्तीले परेको नकारात्मकता हटाउन सरकारले काम गरिरहेको उपसभापति खड्काको भनाइ छ । उनले सरकार सुशासनको अभियानमा रहेको समेत उल्लेख गरे।

उपसभापति खड्काले मुलुकको शिक्षा, जलस्रोत, स्वास्थ्यलगायतका क्षेत्रमा भएका विकास कांग्रेसको नेतृत्वमा भएको भन्दै यसबीच भएका कमीकमजोरी सुधार गर्दै जाने पनि उल्लेख गरे । उनले सबैभन्दा पहिले आफूभित्र भएको कमजोरी सुधार गर्दै पार्टीमा भएका कमजोरी हटाउँदै लैजानुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *